यी मन्त्रीको मन
के घनश्याम भुषाल र योगेश भट्टराईहरुले मन्त्री हुनासाथ पहिला आफैंले उठाउँदै आएको विधि र प्रक्रियाका कुरा बिर्सिएका हुन् ?
नेकपापंक्तिमा यस्तो प्रश्न उठिरहँदा घनश्यामले भने केही नेतासँगको संवादमा पोजिशन प्रष्ट पारेका छन् ।
योगेशचाहिँ माधव समूहका रुपमा परिचित भए पनि अहिले शीतल निवासतिर नजिक छन् । माधव नेपालसँग घनश्यामले ‘पर्ने भए राजीनामा दिन्छु, तर मेरो राजीनामा पनि समाधानको विषय बन्दैन, बरु परिस्थिति झन् गिजोलिन सक्छ’ भनिसकेका छन् ।
घनश्यामको तर्क छ– मानौँ अहिले भारतमा नरेन्द्र मोदी, अमेरिकामा डोनाल्ड ट्रम्प, चीनमा सि चिनफिङ, रुसमा भ्लादिमिर पुटिन एकदमै अलोकप्रिय भए । उनीहरुलाई नहटाई नहुने स्थिति नै सिर्जना भएछ । तर, स्वयं उनीहरुले चाहेबाहेक अर्को अवस्थामा हटाउन सकिँदैन । त्यसकारण त्यस्ता मान्छेलाई हटाइहाल्नु पनि हुँदैन । किनभने, यस्ता मान्छेले बरु आफू नाश हुन तयार, सत्ताप्रेमका अगाडि अरु सोच्दैनन् ।
नेपालमा आज केपी शर्मा ओलीको पोजिसन यही हो ।
उनी हट्नुभन्दा जनप्रिय काम अर्को हुन सक्दैन । पार्टी गतिविधिदेखि सरकारका गतिविधिसम्मले जनता दिक्दार छन् । यता पार्टीको सांगठानिक दौड पनि बढ्ने । अर्को सरकार बन्दा कम्तिमा प्राइभेट कम्पनी चलाएजस्तो नहुने स्थितिले नेकपाको भाँडिदो जनमत केही हदसम्म सुधार हुने अवस्था छ । तर, तिखो सिंग भएको भैंसी धपाउन जाँदा आफू र वरिपरिको स्थिति कति सुरक्षित हुन्छ भन्ने पनि ख्याल गर्नुपर्छ । केपी ओलीको स्थिति भनेको त्यही तिखो सिंग भएको भैँसीको हो ।
त्यसैले उनलाई प्रधानमन्त्रीबाट हटाउनेबाहेकका विकल्पमा जाँदा पार्टी सुरक्षित हुन्छ । विभाजनले उनलाई घाटा छ । तर, अहिले उनले यो कुरा बुझ्ने बेला भएको छैन । किनभने, उनमा गहिरो सत्ताप्रेम जीवित छ । पार्टी फुटिसकेपछि त्यसले पैदा गर्ने निराशा, जनतामा विकास हुने अविश्वास कल्पनाभन्दा बढी हुन्छ ।
टिप्पणीहरू