‘बाघ कराउनु अनि बाख्रा हराउनु’ मात्रै हो कि ?
नेकपाभित्रको अन्तरसंघर्ष चुलिँदै गएको बखत एकाएक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो चितवन पुगेर व्यक्त गरेको धारणाले नेकपा बिवादमा उहाँलाई साथ दिने पंक्तिलाई सशंङ्कित बनाएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने अडानमा अरुलाई समेत गोलबन्द पार्दै अघि बढे पनि गत सातादेखि ‘वान टु वान’ वार्ताको नाममा स्थायी समितिको बैठक रोकिँदै आएको छ ।
दाहालले हिजो चितवन पुगेर कार्यकर्ताको सामुन्ने ‘मैले हतार गरेको भए दुर्घटना हुन्थ्यो’ भनेर दिएको अभिव्यक्तिलाई अर्थपूर्ण ठानिएको छ । चितवनमा दाहालले ‘केपी ओली र आफूलाई एकैथरी मान्छेहरूले उचालेको’ समेत बताउनुले बढीमा कार्यकारी अध्यक्ष सुनिश्चित गराउन मध्यमार्ग खोजेको बताइन्छ । अनेक उपाय खोज्दै ‘प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई यसपटक एउटा पदबाट जसरी पनि झार्ने’ अभियान चलाउँदै आउनुभएका दाहालको पछिल्लो अभिव्यक्तिले हिजोका गतिबिधिलाई व्यर्थ चालिएको कदम सावित गर्ने संकेतको रूपमा अथ्र्याउन सकिने एकथरीको बुझाई छ ।
दाहालले लामो समयदेखि केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एउटा पदबाट हट्न दबाब दिँदै आउनुभएको थियो । यता बालुवाटारमा दुईजना अध्यक्षबीच पटक पटक भएको ‘सिंगल पर्सन’ भेटघाटपछि बालुवाटार निकट नेताहरूले सार्वजनिक गरेका जानकारी र अध्यक्ष दाहालको हिजोको अभिव्यक्ति ‘काकताली’ मात्रै हो भन्न नसकिने अवस्था देखिएको अर्को पक्ष बताउँछ ।
स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको हालैको एउटा अन्तर्वार्तामा प्रधानमन्त्रीलाई दुई वटामध्ये एउटा पद छाड्न दबाब दिने समूहले प्रधानमन्त्रीको राजीनामालाई ‘रिभ्यु’ गर्ने चरणमा पुगेको बताएका छन् ।
अर्का स्थायी कमिटी सदस्य तथा पाँच नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हिजो फेसबुकमा ‘पार्टी एकताको चुँड्न लागेको डोरी अध्यक्षद्वयले जोड्ने र पार्टी एकतालाई दुर्घटनामा पर्नबाट जोगाउँदै सम्वादको प्रक्रियालाई अघि बढाउन भूमिका खेल्नुहुने सबै धन्यवादको पात्र भएकाले आफू ढुक्क भएर बुटवल फर्केको’ स्टाटस उल्लेख गरेका छन् ।
पार्टीभित्रको अन्तरबिरोध उत्कर्षमा पुगेको बखत विवादको एउटा पक्षको नेतृत्व गरेका अध्यक्ष तीन दिनको लागि चितवन पुगेका छन् । यी सबै परिदृश्यले नेकपाभित्रको पछिल्लो घटनाक्रम ‘बाघ कराउनु र बाख्रा हराउनु’ को संयोग मात्र हुननसक्ने भन्नेहरुको कमि छैन !
टिप्पणीहरू