धोकापूर्ण सम्बन्धको नतिजा

धोकापूर्ण सम्बन्धको नतिजा

सबै कुराले सम्पन्न मान्छेका पनि दुःख हुँदा रहेछन्, प्रतिष्ठाको ।

देशका राजा–रजौटाहरु हरेक चिजमा सम्पन्न भएर पनि एउटा कुराले सधैँ दुःखी हुन्थे, आपसमा प्रतिष्ठा उठ्ने र गिर्ने । जस्तो, जुद्धसमशेरकी नातिनी इन्द्रसँग छोरा महेन्द्रले विवाह गर्ने भयो भनेपछि राजा त्रिभुवन फन्किएर कलकत्तातिर लागे । पछि महेन्द्रका नाति दीपेन्द्रले त्यही खलककी देवयानीसँग विवाह गर्न खोज्दा र रानी ऐश्वर्यले नमान्दा दरबार हत्याकाण्ड नै मच्चियो भन्ने गरिन्छ । ऐश्वर्यको चाहना थियो, मुमाबडामहारानी रत्नकी दिदी (प्यारु महारानी) का छोरा जर्नेल प्रदीपविक्रम शाहकी छोरी सुप्रियासँग विवाह गराउने । तर, दीपेन्द्रको मन देवयानीतिर थियो ।

अहिले देशमा राजा–रजौटा छैनन् । तर, छोटा–मोटा राजाहरुका घरमा पहिलाका राजा–रजौटाकै चलन देखिन थालेका छन् ।

जस्तो नेपालको उड्डयन व्यवसायमा अग्रणी स्थान ओगटेको बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत र देशका सबभन्दा महंगा वकिल भनी चिनिने वरिष्ठ अधिवक्ता शम्भु थापाका बीचमा मात्रै हैन, उनीहरुको पूरै परिवारका बीचमा बोलचाल छैन । पाएसम्म एउटाले अर्काको परिवारबारे काट्नुसम्म कुरा काट्छन् । यस्तो पारिवारिक वेमेल हुनुको कारण छ, वीरेन्द्रकी छोरीलाई विवाह गर्छु भनी शार्दूलले धेरै वर्ष झुलाए । वीरेन्द्रकी छोरी पनि शार्दूलसँग विवाह गर्न तयारै थिइन् । बस्नेत परिवारले छोरी माग्न आएका कस्ताकस्ता पहुँचवालालाई पनि जवाफ दिइसकेका थिए, फलानोसँग विवाहको तयारी भइसक्यो । तर, अन्तिममा शार्दूलले अर्कै महिलासँग वैवाहिक सम्बन्ध गाँसे ।

धेरै वर्ष झुलाएर अर्कैसँग विवाह गरेको कुराले एउटी महिलाको आत्मसम्मानमा मात्र चोट पुगेन, त्यसले सिंगो बस्नेत परिवारको आत्मसम्मान गिराएको महसूस उनीहरुले गरे । फलतः दुई परिवारबीचमै शत्रुतापूर्ण सम्बन्ध बन्न पुग्यो । त्यसरी प्रतिष्ठित परिवारको पुरुषबाटै धोका पाएर विवाह नगरेकी महिलालाई विवाह भन्ने विषयसँगै घृणा जागेको छ । उनी अहिले न विवाह, न प्रेमको स्थितिमा छिन् । परिवारका दुबै छोरी बुटिकसहित बाबुको व्यापारिक विरासत धानेर बसेका छन् ।

टिप्पणीहरू