पुराना दल र नेता : सक्किने कि सच्चिने ?
-दीपक खनाल
प्रतिनिधिसभा तथा प्रदेशसभा (२०७९) को निर्वाचन मंसिर ४ गते आइतबार देशभर एकाध घटनाबाहेक शान्तिपूर्ण रूपमा नै सम्पन्न भयो । तर, स्थानीय तहको निर्वाचनमा जस्तो उत्साह देखिएन । भर्खरै वैशाखमा पनि मतदान गरेको, चाडपर्व सकेर केही युवा मतदाता तत्काल घर फर्कन नमिल्ने गरी देश÷विदेश गइसकेको, मंसिर महिना खेती थन्क्याउनेजस्ता कामको चटारो, बृद्धवृद्धा, असक्तहरू मतदानस्थल पुग्न नसक्ने अवस्था, दलहरूको गल्ती, कमी कमजोरी, फरक–फरक राजनीतिक सिद्धान्त बोकेकाबीचको गठबन्धनप्रतिहरु असन्तुष्टि, युवा मतदातामा पलाउने नयाँपनको चाहना, अधिकांश कलाकार, न्युज मिडिया र सामाजिक मिडियाले पुराना दल र तिनका नेताप्रति स्थापित गरिदिएको नकारात्मक छाप आदि कारणबाट मतदानप्रति वितृष्णा जागेको हो ।
यतिबेलासम्म मतगणनाका प्रारम्भिक तथ्य आइरहेका छन् । यो आलेख तयार पार्दासम्म नेपाली कांग्रेसले पहिलो, नेकपा एमालेले दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो अग्रता लिएका छन् । नेकपा माओवादी केन्द्र चौथो स्थानमा देखिएको छ । यध्यपि सम्पूर्ण क्षेत्रको परिणाम नहेरी अन्तिम विश्लेषण गर्न सकिँदैन तर यहाँ प्रारम्भिक रिपोर्टका आधारमा केही विश्लेषण गरिएको छ ।
दलहरूको गल्ती, कमी कमजोरी ः पुराना दल– कांग्रेस, एमाले, माओवादीले पटक पटक सरकारमा हुँदा राम्रो काम गर्न सकेनन् । घोषणापत्रमा उल्लिखित आफ्नै प्रतिवद्धता पुरा गर्ने नैतिकता देखाएनन् । अघिल्लो चुनाव(२०७४) मा मिलेर जनताको पक्षमा काम गर्ने कसम खाएका एमाले र माओवादी बीचमै झगडामा अल्झिए । त्यो झगडाका कारण दुई तिहाई नजिकैको सरकारले इतिहास कायम गर्ने भन्दा झन् आपसमा विभाजन भयो । त्यसको असरले अदालतको फैसलाबाटै नेकपा विभाजित भयो । अनि देशको राजनीतिले अर्कै कोर्श लियो । कांग्रेस, माओवादी र नेकपा समाजवादीको सरकार बने पनि त्यसले नयाँ काम केही गर्न सकेन । त्यसरी काम गर्ने समय पनि भएन । मिडिया र बाहिरबाट जति खबरदारी भए पनि यी दलहरूको नातावाद, आफन्तवाद, चाकडीवादी व्यवहार, चिन्तनको अन्त्य भएन । त्यत्रो युद्ध लडेर आएको माओवादी झन् यस्तै भासमा डुब्यो । फुट, वर्गविहीन राजनीतिक यात्रा, व्यक्तिवादी संस्कार, कमजोर संगठन, कमजोर मिडिया प्रस्तुति र प्रचारप्रसार संयन्त्रका कारण माओवादी झन् तङ्ग्रिनुको सट्टा खुम्चिँदै गयो । त्यसको असर निर्वाचनमा देखियो । अब पनि यतातिर दलहरूले ध्यान दिएर आफूलाई नसुधार्ने हो भने यिनको खैरियत छैन । अर्को निर्वाचनसम्म यी पूरै पाखा लाग्नेछन् ।
मिडिया/सामाजिक मिडियाको एकोहोरो प्रहार÷प्रभावः पुराना दल र तिनका नेताविरुद्ध आम सञ्चार माध्यम र सामाजिक माध्यमबाट एकोहोरो प्रहार भइरह्यो । दलका गल्ती, कमजोरी र असक्षमतालाई यी माध्यमले निरन्तर आक्रमण गरिरहे । अरू दलको तुलनामा यस्तो प्रहार, प्रचार, माओवादीविरुद्ध झन् बढी भयो । बौद्धिक भनिने शहरिया वर्ग माओवादीको मूल नेतृत्व र एजेण्डाविरुद्ध उत्रिरह्यो । मिडिया, सामाजिक मिडियाका साथसाथै हाँस्य कलाकारिता, कमेडी, टेली सिरियल, आदिको नाममा पनि यिनै दल र नेतालाई नै खुइल्याउँदै आइयो । जसको नकारात्मक प्रभाव आम नागरिकमा परिरह्यो । त्यसले गर्दा खासगरी युवा वर्ग र पटकपटक दलहरूलाई साथ दिएका मतदाता नयाँतिर ढल्किए । जनमत भाँडियो/ बाँडियो ।
गठबन्धनप्रतिको बेस्वाद ः केपी ओलीको प्रतिगमन रोक्न कांग्रेस, माओवादी र नेकपा समाजवादीलगायत दलबीच गठबन्धन गरिएको भने पनि तल्लो तहका जनताले यसलाई राम्ररी बुझेर मनन गरेको पाइएन । खासगरी कांग्रेसको कोइराला खेमाका जिम्मेवार नेताहरूले नै यसका विरुद्ध जनमत खडा गरिरहे । माओवादी, समाजवादी दलका नेता, कार्यकर्ता, समर्थक जनताले दिल खोलेर रूखमा भोट हाले तर कांग्रेसका नेता, कार्यकर्ता र समर्थकले हँसिया–हथौडा र कलमको सट्टा घण्टीमा भोट बजाए । माओवादी र कलम पक्षधरहरू कांग्रेसको भोट बैँक मात्रै बनेको देखियो । धेरै फाइदा कांग्रेसलाई मात्रै भयो । कांग्रेसका स्थानीय जिम्मेवार नेता, कार्यकर्ताहरूले घण्टी बजाउन आफ्ना र अरूका मतदाता उक्साएको देखियो । अर्कोतिर यतिसम्म कि माओवादीका पूर्व कार्यकर्ताले समेत घण्टी बजाउन आफन्तलाई निर्देशन दिइरहेको, विदेशमा रहेकाले सामाजिक सञ्जालबाट घण्टीमा छाप लगाउन कराइरहेको पाइयो ।
अरूलाई सजिलोः पुराना दल र तिनका नेताको सरकारले ०४७ सालदेखि २०७९ सम्म गरेका गल्तीको आलोचना गरेर असन्तुष्ट मतदाताको मत तान्न नयाँ भनिएका समूह, स्वतन्त्र व्यक्तिलाई सजिलो भयो । ती दल र नेताको विरोध गरेपछि नयाँ एजेण्डा, सिद्धान्त केही चाहिएन । पुराना दल र नेतामा तिनीहरूको आलोचनाको खण्डन गर्ने नैतिक बल नै भएन । यस्तै पुराना दल र नेताभन्दा नयाँ समूह र व्यक्तिलाई उठेको देख्न चाहने देशी÷विदेशी पुनरूत्थानवादी शक्तिले तिनै नयाँ समूह र व्यक्तिलाई उकासे, उराले ।
सक्किने कि सच्चिने ?
दलका लागि स्थानीय निर्वाचनको बेलादेखि नै खतराको संकेत आएको हो । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन झन् उनीहरूका लागि अर्को रेडकार्ड हो । तर, नागरिक नै शक्तिशाली हुन् । उनीको अगाडि कसैको केही लाग्दैन । पुराना दल र तिनका नेता सच्चिए भने जनताले फेरि साथ दिनेछन् । अहिले सतहमा देखिएका समूह र व्यक्ति त क्षणिक हुन् । दलहरूले आफूहरूलाई सुधारेर स्वच्छ राजनीति गर्न सकेमा यी स्वार्थ समूहको यात्रा धेरै परसम्म छैन । तथापि, दलहरूलाई खबरदारी गर्दै सुध्रने वातावरण सिर्जना गर्न यी स्वार्थ समूहले पनि नकारात्मक भूमिका खेल्न सक्ने छन् । यदि अब पनि पुराना दल र नेता सच्चिएनन् भने आगामी ५ वर्षमा दलको अवस्था झन् कमजोर बन्दै जानेछ । नयाँ समूहको उदय हुँदै जानेछ । त्यसैले पुराना दल र तिनका नेताहरूका लागि यो निर्वाचनको परिणाम आफूलाई सुदृढ र संगठित गर्ने एउटा अवसर हो ।
टिप्पणीहरू