ओइ केटी, कान सुन्दिनस् ? बाटो छाड् !

ओइ केटी, कान सुन्दिनस् ? बाटो छाड् !
सुन्नुहोस्

शिक्षकको व्यवहार

म छोराछोरी लिन विद्यालय हरेक दिन (विदाको दिन बाहेक) आउँछु । त्यो दिन एक जना म्यामले स्कुटर निकाल्नुभयो । चर्को गरी हर्न बजाउनुभयो । अनि चिच्याउनुभयो– ओई केटी ! कान सुन्दिनस्, बाटो छाड् । मलाई निकै असहज लाग्यो । पाले दाइको मुख पनि रातो भयो । मैले नसुनेजस्तो गरेर मुन्टो बटारें । अनि झट्ट नेपाली उखान सम्झेँ– .....लाई भन्दा देख्नेलाई लाज भनेको यही हो ।

कम्तीमा ती शिक्षिकाले नानी बाटो छोड् भनेकी भए निकै खुशी हुन्थें । कृपया शिक्षकहरू, हाम्रा नानीबाबुलाई स्योस् नलगाउनुहोस्, कम्तीमा तिमी त भनिदिनुस् । आफ्ना बालबच्चालाई घरमा मायाले तिमी नै त भन्नुहुन्छ होला नि ? 

पिट्न हुन्छ/हुँदैन 

एक अभिभावक–मेरा छोराछोरीमाथि हात हाल्ने अधिकार कसले दियो तपाईंहरूलाई । मेरो बालबालिकालाई हात लगाउनु त परको कुरा, ठूलो स्वर पनि नगर्नुहोला । 

प्रतिकारमा अर्का अभिभावक– मेरा बालबालिकालाई कुट्नुहोस्, तर मार नपरोस् । बालबालिकालाई डर पनि देखाउनुपर्छ । त्यो भनेको प्याट्टपुट्ट नै हो ।

गुगल सर्च गर्ने/नगर्ने

सर–म्यामहरूले विद्यार्थीलाई गुगल सर्चका लागि दुरुत्साहन नगर्नुहोला । विद्यार्थीको सिर्जनशीलता, मौलिकता किन मार्दै हुनुहुन्छ ? मेरी छोरी गुगल सर्च नगरी होमवर्क नै गर्दिनन् । विशेषगरी सामाजिक विषयमा । विज्ञानमा पनि ।

हाम्रा नानीबाबुलाई स्योस् नलगाउनुहोस्, कम्तीमा तिमी त भनिदिनुस् । आफ्ना बालबच्चालाई घरमा मायाले तिमी नै त भन्नुहुन्छ होला नि ? 

अर्को अभिभावकको प्रतिकार– विज्ञान प्रविधि र सूचना प्रविधिको युगमा त्यसको प्रयोग नगरे त प्रविधिमा पछि परिन्छ । यसको प्रयोगमा प्रोत्साहन गर्नुपर्छ । गुगल सर्च प्रोत्साहन हो कि दुरुत्साहन ?

निजीबाट सरकारी स्कूल

भेलामा ज–जसले भनाइ राखे ती सबैजसोले निजी विद्यालयबाट आफ्ना छोराछोरीलाई निकालेर ल्याएका थिए । विद्यार्थीहरू पढाइमा सन्तुष्ट, अभिभावक पनि मख्ख । धारणा राख्ने सबैको साझा गुनासो होमवर्क र डायरी चेक नभएकोमा थियो । यसलाई अनिवार्य गर्न अभिभावकको ध्यानाकर्षण गराए । 

अतिरिक्त क्रियाकलाप शून्य

अभिभावकको अर्को साझा गुनासो, विद्यालयमा अतिरिक्त क्रियाकलाप नभएकोमा थियो । यसको व्यवस्थापनमा विद्यालय प्रशासन÷व्यवस्थापन समिति र स्थानीय सरकारको ध्यानाकर्षण गराए । 

मेरी छोरी पानी खाँदिन विद्यालयमा खानेपानी र शौचालय अभाव छ । पिसाब लाग्ने डरले मेरी छोरी घरबाट ल्याएको एक बोतल पानी पनि फिर्ता ल्याउँछिन् । किन भनेर प्रश्न गर्दा– स्कूलमा शौचालय जान पर्दा समस्या हुन्छ । कहिलेकाहीँ खाजाको सरसफाईमा पनि कैफियत देखियो ।

यो कक्षा आठमा पढ्ने विद्यार्थीको अभिभावक भेलामा आएका प्रतिनिधिमूलक धारणा हुन् । विद्यालय मात्रै हैन पूरै समाजमा बालबालिकालाई पिट्न हुन्छ हुँदैन, गुगल सर्च गर्न हुन्छ हुँदै, तँ भन्ने नभन्ने, सरकारी स्कूलमा पढाई राम्रो कि निजीमा भन्ने बहस र विवाद भइरहेकै हुन्छ । विद्यार्थीलाई कस्तो बनाउने र कस्तो संस्कार दिने भन्ने कुरा पहिलो, घर परिवार र दोस्रो घर विद्यालयबाट निर्धारण हुन्छ । त्यसपछि समाज र सरसंगतले निर्धारण गर्छ । खराब आचरण र व्यवहारबाट बालबालिकालाई जोगाउन परिवार, विद्यालय, समाजको आ–आफ्नै र विशिष्ट भूमिका हुन्छ । त्यो भूमिका निर्दिष्ट छन् । त्यसलाई सबैले पूरा गर्नुपर्छ । 

भेलामा केही अभिभावकले बालबालिका भनेको पटक्कै मान्दैनन् भन्ने गुनासो पनि गरे । छोराछोरी मोबाइल चलाउन, मोबाइल–कम्प्युटरमा खेल खेल्न र कार्टुन हेर्न मात्र खोज्छन् । सामाजिकीकरण पटक्कै छैन । एक्लै कोठामा बस्ने र मोबाइलमा रमाउने उनीहरूको दिनचर्या हुन्छ । बाहिर हिँड्न र घरायसी काममा सघाउन खोज्दैनन् । घरमा आएका परिचित वा नयाँ मानिससँग बोल्दैनन् । गृहकार्यमा रुचि छैन । शिक्षकको आँखा छल्न सामाजिक सञ्जालमार्फत जान्ने साथीको गृहकार्य सार्ने वा एपहरूको उत्तर जस्ताको तस्तै उतार्ने क्रम बढेको छ । अन्तरक्रियात्मक तथा तार्किक क्षमता कमजोर छ । सामाजिक अन्तरक्रियामा रुचि छैन । सबका सबले गुनासो मात्रै गरिहेका हुन्छन् । त्यसको कारण के हो भन्नेको खोजी हुँदैन । समस्याको कारण के हो भन्ने पहिचान गरी समाधान खोज्नु कसरी ?

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू