पिँजडाभित्र फटफटाइरहेका विचरा चराहरु

पिँजडाभित्र फटफटाइरहेका विचरा चराहरु
सुन्नुहोस्

‘म पनि उड्न पाए..., ती सुन्दर पन्छी झैं खुला आकाशमा पखेटा फिँजाउँदै उड्न सक्ने भए ....।’ प्रायः सबै मानिसको मनमा आउने भावना हो यो । किनकि हामी उड्न सक्दैनौं । त्यसैले कल्पनामै भएपनि उड्न खोज्छौं । ‘चरी भए भुर्र उडेर आउँथे..., उडेर भेटूँ पखेटा छैनन्...’ आफ्नो मनको तिर्सना हामीले बेलाबेलामा यसरी अरुलाई पनि सुनाइरहेका हुन्छौं । हामी उड्नै नसक्ने प्राणीलाई त स्वच्छन्द भएर खुला आकाशमा उड्ने यतिविघ्न रहर हुन्छ भने यो संसारमा उड्नकै लागि पैदा भएका ती पक्षीहरुलाई उड्न नपाउँदा कस्तो होला ? सिंगो संसार नै ऊबाट खोसिएझैं वा उसको जीवन नै सकिएझैं हुन्छ पक्कै । 

हामी मान्छेलाई यो जीवन र संसार जति प्यारो छ, त्यति नै तिनलाई पनि आफ्नो जीवन र जगतसँग प्रेम र मोह नहोला ? तर किन हामी मान्छे अरुको जीवनलाई यतिधेरै तुच्छ र मूल्यहीन ठान्छौं ? एक मान्छेले अर्काे मान्छेकै जीवनलाई त चुत्थो सोच, व्यवहार गर्छ भने अरु अरु प्राणीको जीवनलाई नगण्य, जाबो ठान्ने भूल किन नगरोस् ? सायद हामी मान्छे नै तुच्छ हौं । त्यसैले भुइँ नै हाम्रो संसार भयो, आकाश नसिब भएन । आकाशको संसार त चरीलाई नै प्रकृतिको वरदान हो । मानौं चरी आकाशकै हो, आकाश चरीकै हो । 

जीवन एउटा यात्रा हो, यत्रतत्र सर्वत्र फैलिएर बाँच्नुमै यसको सार्थकता छ । अरुको जीवनलाई कुण्ठित बनाएर आफ्नो खेलौना नबनाऔं हामी । हाम्रो पनि जीवन एउटा खेलौना नै हो । हामी आफ्नो परिवार र इष्टमित्रसँग खेलिरहेछौं । उनीहरुलाई पनि उनीहरुको परिवार र साथीसंगी सँगै स्वतन्त्र भएर जिउन दिऊँ । डाँडापाखा, खोलानाला, गाउँशहर, रनवन चारैतिर डुल्न दिऊँ । के छ र दुई दिनको जीवन ? मरेरै जाने चोला हो सबको, बाँचुञ्जेल त सबैलाई हाँसीखुसी जिउन दिऊँ न ! पन्छीहरुलाई पनि आफ्नैपनमा रमाउन दिऊँ ।

पंख भएकैले उनीहरुलाई पंखी भनियो र पंखी शब्द अपभ्रंश भएर पछि पक्षी भएको हुनुपर्छ । पहिलेपहिले चरीले खबर लिएर उड्ने गरेको किस्सा हामी सुन्छौं । चराहरुले कति कुराको संकेत हामीलाई गरिरहेका हुन्छन् भन्ने लाग्छ । घरछेउ काग आएर कराउँदा हामी शुभबोल, शुभबोल भन्छौं किन ? खुला आकाशमा उड्दै डुल्ने अनि धर्तीमा आएर विचरण गर्ने पक्षीहरु त लाग्छ, आकाश र धर्तीका संवाहक हुन् । आकाशमा उडान भर्ने चरीको सुस्ताउने चौतारी हो यो धर्ती । यो धरातलमा सुस्ताउन, बिसाउन ओर्लेका पक्षीलाई कसैले पनि पासोमा नपारौं । जिउँदै नमारौं ।

चौरासी जुनीको जीवन हो हाम्रो भनिन्छ । के थाहा ? पुनर्जन्म भयो भने भोलि हामी नै चरी भएर जन्मिन सक्छौं वा चरा नै अर्काे जन्ममा मान्छे भएर जन्मिएला ! मलाई त अर्काे जन्म भयो भने चरा नै हुन मन छ । तर सबैभन्दा ठूलो डर मान्छेदेखि नै लाग्छ । कतै कुनै व्याधाको निशाना हुने हुँ कि ! वा कोही मान्छेले समातेर पिँजडामा कैद गर्ने हो भनेर । नत्र चरी हुन पाए कति मजा हुन्थ्यो, उडेरै संसार नियाल्न सक्थें, जहाँ गएपनि, जहाँ रहेपनि कुनै देश–भेषले छेक्थेन । तर मान्छेले पन्छीहरुलाई पिँजडामा थुनेर आजीवन मरेतुल्य बनाइदिएका छन् । बच्चा होस् या बूढा गुलेली र बन्दुक लिएर चरा मार्दै हिँड्छन् । बरु एकै झटमा पर्लक्कै मारिदिए त्यति पीडा हुन्थेन, जति पिँजडाभित्र मरीमरी बाँच्नुपर्छ । 

यदि आफैं मर्न सक्थे भने मान्छेका कुनै पिँजडामा कोहीपनि पन्छी आज जिवित हुने थिएनन् । सास छउन्जेल आश हुन्छ भनिन्छ । जसरी हामी मान्छे जस्तोसुकै आपत्विपदमा पनि मर्न सक्दैनौं । भोलिको सुखको झिनो आशा लिएर जीवन र मृत्युको दोसाँधमा बाँचिरहेछौं, त्यसरी नै ती चरीहरु पनि भोलि कुनैदिन पिँजडामुक्त हुनसक्ने आशाको त्यान्द्रोमा अल्झिएर जिउन विवश छन्, आँसु पिउन विवश छन् । विचरा पिँजडाभित्रका चरीको आर्तनाद बुझिदिने कसले ? जति रोइकराइ गरेपनि, चिच्याए, कराएपनि उनीहरुको रोदन, क्रन्दन र वेदना मान्छेले कहिल्यै बुझेन, महसुस गर्नै खोजेन । पिँजडामा पक्षी थुन्नेहरुले त झन् मतलबै गरेनन् । 

हावा जस्तै लहराउँदै, पखेटा फहराउँदै आकाशको चारैतिर उडीडुल्ने ती पक्षीहरुलाई मान्छेले आफ्नो अयसका लागि पिँजडाभित्र कैद गरी राखेको छ । पिँजडामा थुनेर पनि कहीँ चरा पालेको हुन्छ ? त्यो त ताडना हो, काराबास हो । आज तिमीले बनाएको तिम्रो पिँजडा भित्र चरी कराइरहेछन्, त्यो पाप भोलि तिमै्र धुरीबाट तिम्रो जीवनमा कराउनेछ । तपाईंका बच्चा वा आफ्नालाई कसैले अपहरण गरी लग्यो भने तपाईंलाई कस्तो हुन्छ ? वा तपाईं आफैं कुनैदिन अपहरित भएर कुनै अनकन्टार ठाउँमा पुगेको कल्पना गर्नुस् त ?

झ्यालखानाको के कुरा, बाहिर अरुको करकापमामात्रै बस्नुपर्दा त मान्छेलाई एकदम असह्य, उकुसमुकुस र ऐंठन झैं हुन्छ भने ती पक्षीहरुलाई जीवनभर अरुको पिँजडाभित्र थुनिएर, कुँजिएर बस्नुपर्दा कति भक्कानिँदो होला मन, कति रुँदो हो आत्मा ? केही समय हातखुट्टा भाँचिएर आफ्नो घरपरिवारमा आफ्नाहरुकै माझमा कुँजिएझैं बस्नुपर्दा त कति फत्र्याकफत्र्याक हुन्छ मान्छे ? भने विचरा चराहरुलाई आफ्नादेखि छुटाएर एक्लैदुक्लै पिँजडाभित्र कैद गरेर राख्दा कति आकुलव्याकुल भएर तड्पिएका होलान् ? 

अरुलाई थुनेर, पीडामा पारेर मान्छे कुन मनले रमाइरहेका हुन् कुन्नि ? जबकि मान्छेको मन आफू हमेसा स्वतन्त्र भएर जिउन चाहन्छ । तिनको पनि त आफ्नो मन छ, भावना छ, संवेदना छ । हाम्रो जस्तै अनगिन्ती चाहना अनि रहरहरु होलान् ! किन नबुझेको हामीले ? अरु दुःखी हुँदा आफू रमाउने प्राणी रहेछौं हामी । आफ्नो सुखमा भन्दा अरुको दुःखमा खुसी हुने मान्छेको जात रहेछ । शक्ति र सम्पन्नताले मैमत्तहरु अरुका इच्छा, चाहना र भावनाहरुको गला रेट्न उद्यत हुँदा रहेछन् ।   

आफ्नो सोखको लागि अरुलाई शोकमा डुबाउन तयार मान्छेलाई छिः भन्न मन लाग्छ । पिँजडाभित्रबाट उड्नलाई कति अलापविलाप गरिरहेका होलान् बर ! कहिल्यै बुझ्यौ तिमीले ?  तिम्रो पिँजडामै रमाउने भए मौका पाउनासाथ फुर्रुर उडेर किन डाँडो काट्थे र ? पिँजडाभित्रको अत्यासलाग्दो त्रासदीपूर्ण त्यो जीवनमा सपनामा पनि चैन नहोला कठै ती चरीहरुलाई ! अरुलाई घायल कायल बनाएर आफू खुशी हुने हामी कस्तो मान्छे ? एकपटक सोचौं त !

कहालिएको मन, भक्कानिएको मुटु तथा रोएको आत्माले दिएको श्राप त लाग्छ, लाग्छ । यो मान्छे पनि ठूलो संकटले घेरियोस्, दुःखैदुखले जेलिएर तड्पिँदै निस्सासिँदै बाँच्न परोस् भनेर उनीहरुले हामीलाई सत्तोसराप किन नगर्ने ? आजको दिन पो हामीसँग हाँसोखुसी होला । भोलिको जीवन त कसैले देखेको छैन । आजको दिनमा कसैलाई कष्ट दिन्छौं भने भोलिको दिनमा अवश्य पनि हामीले कष्ट झेल्नैपर्छ । यही प्रकृतिको शाश्वत नियम हो । पृथ्वी गोलो छ, पालो सबैको आउँछ । हामी आफैं हिंस्रक छौं, हिंसा गरेर रमाउन खोज्छौं भने हामीले शान्ति कहाँ पाउँछौं ? जीवनभर सुख र शान्तिको खोजीमा भौंतारिँदै मर्नुपरिरहेछ मान्छे ।

यदि कसैले पिँजडाभित्र चरालाई कैद गरेर राखेका छौं भने आज अहिल्यैबाट छोडिदिऊँ । उड्न दिऊँ उनीहरुलाई उनीहरुकै संसारमा । चञ्चले, चुलबुले, चिरबिरे ती चरीहरु पनि आफ्नै बथानमा रमाउँथे । खुला आकाशमा विचरण गर्थे । बादलझैं डुल्दै संसार घुम्थे, पहाड, भन्ज्याङ, चौतारीहरुमा सुस्ताउँथे । आफूलाई मन पर्ने फलफूल तथा खानेकुराहरु खाएर मस्तले जिउँथे । आफ्नै गुँड बनाएर बस्थे, एकापसमा मायापिरती साट्थे, बचेरा बनाउँथे, हुर्काउँथे, नाच्थे, गाउँथे, खेल्थे । एकापसमा रमाइलो मनाउँथे । हामीलाई हाम्रो जीवन जति अमूल्य छ, त्यति नै अमूल्य जीवन उनीहरुको पनि हो ।

टिप्पणीहरू