पार्टीबिना सत्ता असम्भव, पार्टी बनाएर स्वतन्त्र भन्नु झन् रोमाञ्चक

पार्टीबिना सत्ता असम्भव, पार्टी बनाएर स्वतन्त्र भन्नु झन् रोमाञ्चक
सुन्नुहोस्

पुराना पार्टीहरुले गर्नुपर्ने र गर्न सकिने जति काम गरेनन् । विकासको गतिलाई पछ्याउन सकेनन् । पटक–पटक व्यवस्था परिवर्तन भए पनि सोचेजति परिवर्तन गर्न सकिएन । सामाजिक सञ्जालको सक्रियताले वर्तमान असन्तुष्टिलाई आमरुपमा विकराल बनायो ।

देश छाडेर विदेश जानेहरुको संख्या अकासियो । नेपालभन्दा विकसित देशमा पुगेपछि झन् विकासको सीमा पनि बढ्न थाल्यो । पछिल्ला केही निर्वाचनमा नेपालमा भन्दा फेसबुकमा बढी चहलपहल भए । सपना साकार होला कि भनेर लामो समयसम्म सरसहयोग गरेका पुराना दलका मतदाताहरुले फेरि अर्को चमत्कारको आशामा बाटो बदले । निराशाको कालो बादल पुनः देखिन थाल्यो । अबका केही वर्ष नेपालको राजनीतिमा केही उतारचढावहरु आउने संकेत देखिएका छन् । 

संसारका विभिन्न देशमा कालखण्ड परिवर्तनसँगै फरक–फरक राजनीतिक व्यवस्था देखा पर्दै आएका छन् । वर्तमानमा प्रायःजसो देशले संसदीय शासन प्रणाली नै अवलम्बन गरेको देखिन्छ । साम्यवादी सिद्धान्तमा बनेका पार्टीहरु पनि जनताको मतद्वारा छानिएर शासन सञ्चालन गरिरहेका छन् । कतिपय देशमा पार्टी स्थापना गर्नुलाई नै असंवैधानिक मान्ने गरिन्छ भने चरम विकसित देशहरुमा दुई पार्टीको मात्र वर्चश्व कायम भएको पनि देखिन्छ । हुन त विकसित देशहरुमा प्रायः नागरिकहरु राजनीतिमा भन्दा आफ्नो जीवनयापनमा नै बढी व्यस्त हुने गर्दछन् । निर्वाचनलाई सरकार गठनको एक प्रक्रिया मानिने र त्यसमा आमनागरिकको चासो त्यति धेरै नदेखिने स्थिति छ । भर्खरै सम्पन्न बेलायती आमनिर्वाचनमा जम्मा ६० प्रतिशतको हाराहारीमा मात्र मतदान हुनु यसको ज्वलन्त उदाहरण हो । 

वर्तमानसँग सबै असन्तुष्ट हुनु मानव स्वभाव हो । विगतलाई एकसरो सम्झने मात्र हो भने वर्तमान सबैको लागि खुशीयालीपूर्ण हुनुपर्ने थियो तर चाहे हामी व्यक्तिगत होस् वा समाज, राज्य हुँदै सारा विश्व तनावमा छौं । विगतका विकराल अवस्थालाई भुलिसकेका छौं । अरुसँगको तुलनामा सधैं आफूलाई तुच्छ देख्ने र देखाउने प्रयास गरिरहेका छौं । नेपालको सन्दर्भमा त हामी नै संसारका सबैभन्दा अभागी नागरिक हौं भन्ने भाष्य निर्माण भइरहेको छ । 

अहिले त माओवादी पार्टीलाई साथ, सहयोग गरेबापत प्रचण्डले भन्दा बढी श्राप रवि लामिछानेले खानुपर्ने अवस्था छ । 

राजनीतिक व्यवस्था परिवर्तनपछि पनि जनताको वास्तविक अवस्था परिवर्तन नभएको बहानामा यहाँ धेरै राजनीति हुने गरेको छ । पुरानाले पूरापुर बिगारे, अब नयाँको पालो भनेजस्तो देखिएको छ । छिटपुट घटनाबाहेक सत्तामा रहेका प्रायःजसो पार्टीहरु एकाएक हराउन सम्भव छैन । पार्टीको संरचना बलियो भएका कारण गलत गरे भन्ने थाहा हुँदाहुँदै पनि पुराना पार्टी नै लामो समयसम्म शक्तिमा बसिरहने गर्दछन् । कुनै नयाँ नेतृत्वले छुमन्तर गरेर समस्या समाधान नगर्ने र ती नेताहरु पनि नेता हुन मात्र उदाएका कारण सबै जोगी कान चिरेका भन्ने बढी प्रमाणित हुँदै आएको छ ।

अहिले नेपालमा स्वतन्त्र पार्टीको हालत त्यही हो । पुरानासँगको वितृष्णा र सुधार नहुने छन्दले केही वाकपटुता भएका नेताहरु नयाँको लेपन लगाउन सफल भएका थिए । तर, उनीहरु पनि पार्टी संरचनाभित्र संकुचित हुन परेपछि ढाकाकुमार र मुकुल ढकाल प्रवृत्ति देखा पर्न थालेको छ । जनताको आदेश शिरोपर भन्दै पाएसम्म सत्ताको अंश उपभोग गरेको यस पार्टीको भविष्य के हुने भन्नेबारे थप प्रश्न खडा भएको छ । अहिले त माओवादी पार्टीलाई साथ, सहयोग गरेबापत प्रचण्डले भन्दा बढी श्राप रवि लामिछानेले खानुपर्ने अवस्था छ । 

आशाको त्यान्द्रोमा अड्किने नागरिकहरुको नियति अब फेरि बालेनमाथि पर्न जानेछ । रविले नसकेको काम बालेन अनि हर्कहरुको मिलेमतोमा हुन सक्छ भन्ने खासखुस सुन्न थालिसकिएको छ । मनमौजीमा रमाउने बालेनको एकल निर्णयले काठमाडौंमा केही काम भएका छन् । बिरालोले मुसा समात्दा रमाएझैं हामी थपडी मारिरहेका छौं । अति सामान्यजस्ता देखिने काम पनि नभइरहेको अवस्थामा हुनु भनेको सकारात्मक नै हो तर के उसको हातमा देशको शासनभार परेपछि सबै समस्या समाधान हुन सम्भव छ त ? त्योचाहिँ एकादेशको कथा मात्र हुनेछ ।

सामाजिक वा पेशागत रुपमा सफल देखिएका केही व्यक्तिलाई फुक्र्याएर राष्ट्रपति वा प्रधानमन्त्री बनाइदिने तर आफूले पूरा गर्नुपर्ने दायित्वबारे बेखबर रहने नागरिक भएको देश तुरुन्त बन्न असम्भव हुन्छ । अहिलेसम्म हाम्रो देशले भोगेको समस्या नै यही हो । जनतादेखि कार्यकर्तासम्म आन्दोलनमा मिल्नसक्ने तर जिम्मेवारी पाएपछि नेता मिल्न नसक्ने अनि तिनै नेताहरुमध्ये आफ्नालाई बोक्ने र बचाउने चलन चलेको छ । व्यावहारिक विषयमा कुरा मिलाउन नसक्ने, उल्टो त्यसलाई ठुल्ठूला राजनीतिक विश्लेषणसहित दोषरोपण गर्ने, पार्टी फुटाउने क्रम अझसम्म पनि रोकिन नसक्नु देशको विडम्बना हो । 

यही शासन प्रणालीभित्र राजनीति गर्ने हो भने पार्टीबिना सत्तामा पुग्न सम्भव हुँदैन । पार्टी निर्माण गरिसकेपछि त्यसलाई स्वतन्त्र भन्नुको कुनै औचित्य पनि हुँदैन । पुराना पार्टीहरुले काम गरेनन्, अब हामी स्वतन्त्र रुपमा राजनीति गर्छौं भनेर पार्टीको नामकरण नै स्वतन्त्र राख्नु अर्को विडम्बना हो । यसबारे राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना हुँदा नै प्रशस्त छलफल भएको थियो । तर, पार्टीगत पक्षधरता हुँदाहुँदै पनि स्वतन्त्र नै नामकरण भइछाड्यो । प्रायःजसो कुनै पार्टीले टिकट दिएन भने आफ्नो व्यक्तिगत शक्ति देखाइदिनका लागि त्यस्ता नेताले स्वतन्त्र उम्मेदवारी दिने चलन अन्यत्र पनि चलन छ । बेलायतमा त एउटा पार्टीको टिकटमा निर्वाचित भएर कुनै कारण पार्टीबाट निश्कासित भए पनि राजीनामा नै नदिई स्वतन्त्र सांसदको हैसियतमा पूरा अवधि काम गर्न पाउँछन् । निर्वाचनमा पार्टीको टिकट पाए पनि व्यक्तिको सक्रियताका आधारमा मत पाउने भएको हुँदा त्यस्तो सांसदलाई बर्खास्त गर्न हुन्न भन्ने कानुनी व्यवस्था छ । यसअगाडि लेबर पार्टीका नेताको हैसियतमा रहेका जेरेमी कोर्विनले यसपालि पनि स्वतन्त्र रुपमा चुनाव जितेका छन् । उनीबाहेक यस्ता अन्य पाँच जना स्वतन्त्र सांसद छन् । 

कुनै निश्चित विषयमा आवाज उठाउनका लागि पनि स्वतन्त्र उम्मेदवारहरु सदनमा उपस्थित हुन चाहन्छन् । शासन प्रणालीमा नेतृत्व गरेर समूल विषयमा प्रभावकारी भूमिका निर्वाह गर्नका लागि पनि कहिलेकाहीं कुनै व्यक्ति राजनीतिमा प्रवेश गरेको हुन्छ । देशको बागडोर सम्हाल्नका लागि पुरानो दलको नेता हुनुपर्छ भन्ने छैन । फ्रान्समा इमानुयल म्याक्रोंन पहिलोपटक राष्ट्रपतिमा निर्वाचित हुँदाका बखत ३९ वर्षीय लक्का जवान र इतिहासमा सबैभन्दा कान्छो थिए । उनले राष्ट्रपति बन्नुभन्दा एक वर्षअगाडि मात्र पार्टी स्थापना गरेका हुन् । त्यस्तै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पनि हँसाउने काम छाडेर सन् २०१८ मा ‘सर्भेन्ट अफ पिपुल’ पार्टी खोली एक वर्षपछाडि नै राष्ट्रपति बनेका हुन् ।

अहिलेको युक्रेनी अवस्थालाई विश्लेषण गर्दा राजनीतिक परिपक्वता नभएकाहरुको हातमा शासनभार सुम्पियो भने नसोचिएका समस्याहरु आउनसक्ने तर्क पनि सुन्नमा आउँछ । अमेरिकी पहिलो राष्ट्रपति जर्ज वासि¨टन मात्र त्यस्ता राष्ट्र प्रमुख हुन्, जसको कुनै राजनीतिक रुप थिएन । हुन त सेनाको नेतृत्वदायी स्थानमा कार्यरत जर्ज निकै अगाडि १७८९ देखि १८९७ सम्म राष्ट्रपति बनेका थिए तर उनीपछि कुनै पनि स्वतन्त्र व्यक्ति अहिलेसम्म त्यहाँको सर्वोच्च पदमा पुग्न सकेका छैनन् । कोसोभोमा तेस्रो राष्ट्रपति आतिफेत जाजागा सन् २०११ अप्रिल ७ देखि ठीक ५ वर्ष पदमा रहिन्, जो अहिलेसम्मकै एक मात्र स्वतन्त्र राजनीतिज्ञ हुन् । उनी सिंगो बाल्कन क्षेत्रकै पहिलो स्वतन्त्र राष्ट्रपति हुन् । अहिले जर्जियाका वर्तमान राष्ट्रपति सालोमी जुरानिसभिल्ली पनि स्वतन्त्र नै हुन् ।

बहराइन, कुवेत, निउइ, ओमान, कतार, साउदी अरब, तुभालु, युएईजस्ता राजतन्त्रात्मक शासन प्रणालीका देशहरुमा मात्र हैन, पलाउ, फेडरल स्टेट्स अफ माइक्रोनेशियाजस्ता गणतन्त्रात्मक देशहरुमा पनि पार्टीमाथि बन्देज लगाइएको छ । त्यहाँको संसदमा प्रतिनिधित्व गर्न स्वतन्त्र उम्मेदवारी दिनुपर्ने हुन्छ । क्यानाडा, अष्ट्रेलिया र बेलायतका केही स्वशासित क्षेत्रमा पनि पार्टी राजनीति गर्न पाइँदैन । अमेरिकी एउटा राज्य नेब्रास्काको सदन पनि स्वतन्त्रहरुको मात्र हुने गर्दछ । लिबियाली सदनको बनोट चाखलाग्दो छ । त्यहाँको सदन २०० सदस्यीय हुने, त्यसमध्ये ८० जनामात्र पार्टीहरुबाट छानिने र १२० जना स्वतन्त्र रुपमा चुनिने गर्दछन् । 

यसपटक म बस्ने गरेको क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिनेको घोषणापत्र ध्यान खिच्ने खालकोे थियो । हुन त उनले त्यति धेरै मत पाएनन् तर उनका केही कुरा अलि फरक प्रकारका थिए । उनले भनेका थिए– विन्जरका जनताले एक्काइसौं शताब्दीमा एक अर्को उदाहरण प्रस्तुत गर्न आवश्यक छ । यही क्षेत्रमा पर्ने म्याग्नाकार्टाले संसारमा कानुनी शासनको उद्घोष गरेको थियो । अब यहाँका जनताले आफ्ना आवश्यकताहरुलाई उठाउन र गैरजिम्मेवार राजनीतिक पार्टीका सांसदहरुलाई जवाफदेही बनाउन तथा लोकतन्त्रलाई बलियो बनाउन कुनै पार्टीको ह्विप मान्न नपर्ने व्यक्तिलाई विजयी गराउनुहोला ।

एक व्यक्ति वा सामाजिक संस्थाले समेत समाजमा निकै ठुल्ठूला परिवर्तन हाम्रै नेपालमा गर्दै आएका छन् । सरकारका अव्यावहारिक कदमहरु रोक्न र भण्डाफोर मात्र गर्न सकियो भने पनि त्यसले सकारात्मक उपलब्धि हासिल गर्न सक्नेछ । पुराना पार्टीले गरेनन्, अब हामीले सबै ठीक गर्छौं भने पनि त्यो व्यावहारिक रुपमा सम्भवतः तुरुन्त हुन सक्दैन । नयाँ पार्टीले एकैपटक बहुमत ल्याउन सक्ने हाम्रोजस्तो संवैधानिक व्यवस्था भएको ठाउँमा त असम्भव नै हुन्छ । अहिले देखिएका स्वतन्त्र सांसदहरुजस्ता कतैबाट भाग नपाएपछि जितेका त हुन् नि भन्ने मानसिकताले पनि त्यति राम्रो सन्देश जाने गरेको छैन ।

अन्य राजनीतिक पार्टीमा लागिसकेकाहरु नयाँ पार्टीबाट छिटो माथि पुग्न सकिन्छ भनेर लाग्नु पनि त्यति व्यावहारिक हुन सक्दैन । पुरानालाई गाली गर्ने मौका पाएपछि पुरानाले भन्दा धेरै काम बिगार्ने उदाहरण त जनयुद्ध लडेर १० वर्ष बिताएको र त्यसपछि १४ वर्ष शासनसत्ताको बागडोर पाएको माओवादी पार्टीको वर्तमान नै पर्याप्त छ । उद्देश्य महान हुनु तर त्यसलाई व्यवहारमा उतार्न नसक्नु नै हाम्रो प्रारब्ध बन्न गएको छ । पार्टीहरु बलियो हुने, कमजोर हुने वा लोप हुने यी सब उनीहरुको कर्मका नतिजा हुन् । आज कमजोर रहेको पार्टी भोलि बलियो बन्न सक्ला भनेजत्तिकै आज बलियो देखिएको पार्टी भोलि लोप हुन सक्छ । त्यसैले सबैले पार्टी खोलेर ठूलो बन्ने अनि शासन गर्ने भन्ने सपना दिगो हुन सक्दैन ।

हुन त बलियोले शासन गर्ने, त्यसपछिकाले खबरदारी गर्ने भन्ने मान्यता हो तर बलिया बलिया मिलेर पनि शासन गर्न सक्छन् भन्ने कुराकोे नेपाल ज्वलन्त उदाहरण बनेको छ । प्रतिपक्ष जहिले पनि सत्तापक्ष बन्न खोज्ने भएको हुँदा सदनमा केही सदावहार प्रतिपक्षहरु हुन आवश्यक छ । त्यस्ता सांसदहरुलाई कुनै पनि बेला कसैको गलत निर्णय मान्न ह्विप लाग्ने छैन । समाजका अभियन्ताहरु, व्यावसायिक वा पेशागत रुपमा सफल भएका व्यक्तिहरु मन्त्री वा प्रधानमन्त्री बन्ने मात्र सपना नदेख्नेहरुको एउटा सञ्जाल बन्न आवश्यक छ । यो सञ्जालले राजनीतिक पार्टीको स्वरुप धारण गर्नुहुन्न र दोष, गुणको आधारमा सरकारको समर्थन वा विरोध गर्नुपर्छ । यसो गर्न सकियो भने मात्र आफूलाई स्वतन्त्र भएको प्रमाणित गर्न सकिनेछ । जोसुकै सरकारमा आए पनि खबरदारी गर्न सकिनेछ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू