मस्तराम मस्ती में, आग लगे बस्ती में

मस्तराम मस्ती में, आग लगे बस्ती में
सुन्नुहोस्

विपदको बाँसुरी बजिरह्यो । तर, कानमा तेल हालेर बसे हाम्रा नेता, प्रणेता, सांसद, प्रधानमन्त्री र मन्त्रीहरू । कुर्सीको मोहमा मरिहत्ते गरिरहे तर देखेनन् र सुनेनन् विपदबाट आक्रान्त जनताका आर्तनाद । असार ३० गतेसम्मको तथ्यांकअनुसार झण्डै सय जनाभन्दा बढीले बाढीमा बगेर, पहिरोमा पुरिएर प्राण गुमाउनुप¥यो. । खोलो पस्यो बस्तीबस्तीमा । अहँ, बाल मतलव भएन, नव निरोहरूलाई ।

कुर्सी पुरस्कार पाउने गरी राखिएको सत्ता प्रतियोगिताको फाइनल खेल तोकिएको मिति असार २८ गते बिहानै चितवनबाट अशुभ समाचार आयो । सारा मुलुकलाई नै स्तब्ध बनाउने त्यो समाचारले हाम्रा नेतालाई छोएन । बरु दिनभरि सरकार ढाल्ने खेलमा लागिरहे । चितवनको सिमलतालमा लेदोसहित आएको पहिरोले दुई वटा यात्रुबाहक गाडीलाई धकेलेर खसाल्यो र त्रिशुलीले निल्यो, सँगसँगै झण्डै ६० जना यात्रुको जीवन गुम्यो । बेपत्ता बस र यात्रुलाई केही गोताखोरले टालेको डुंगामाथि आफ्नै ज्यान जोखिममा राखेर बाँसको ठुटाले खोलामा घोच्दै खोजिरहे । बाँसको गोता हानेर बेपत्ता बस र यात्रु फेला पार्न नसके पनि सरकार ढाल्न र बनाउनमा माहिरहरूले संसदमा प्रचण्ड सरकारलाई दुईतिहाइसहित अविश्वासको प्रस्ताव हाने र ढाले पक्लक्कै । सारा मुलुक शोकमा डुबिरहँदा, बाढी र पहिरोले आक्रान्त बनिरहँदा संसदमा भने दिनभरि पक्ष र विपक्षबीच जुहारी चलिरह्यो । अझ उदेकलाग्दो कुरा त समावेदन र सकसको त्यो क्षणमा कोही सांसद सायरी भन्न व्यस्त भए त कोही गीत गाउन कस्सिए । मुलुक रोइरहेको बेला कसरी फुर्न सकेको होला, मान्यज्यूहरूलाई बेसुरा गीत र पानीमरुवा सायरीहरू ? 

त्यसो त जनतासँग विमुख र कुर्सीसँग सम्मुख हुने प्रवृत्तिको विकास भर्खर मात्र भएको हैन । सरकार र सत्ताका लागि प्राकृतिक, अप्राकृतिक जस्तोसुकै सहवास गरी नयाँ सरकार जन्माउने अनि फेरि नौ–नौ महिनामै गला निमोठ्ने प्रवृत्तिले मुलुक ३२ वर्षपछि पनि उत्तिकै आक्रान्त र आहत छ । चारै महिनामा सरकार ढल्नुजस्तो राजनीतिमा योभन्दा बढी छलाङ र ब्रेक थ्रु अर्को के हुन सक्छ ?

सरकार ढलोस् कि बनोस् । अब जनतालाई लिनुदिनु छैन । प्रधानमन्त्री शेरबहादुर होस् या केपी वा प्रचण्ड यिनीहरूबाट जनताले आशा राखेका छैनन् र चासो पनि । जनताका लागि यिनीहरू न्चिनेका ‘विष्ट’ हैनन् । असार २८ गते प्रचण्डले विश्वासको मत नपाइरहँदा कुनै सर्वसाधारणले दुःखको कठैसम्म पनि उच्चारण गरेनन् । यस्तैमा असार ३० गते फेरि प्रधानमन्त्रीमा खड्कप्रसाद ओली नियुक्त भए । नेता, कार्यकर्ता दंग पर्नु एउटा कुरा, कुनै सर्वसाधारणले खुशीका साथ ‘वाह’ भनेनन् ।

प्रधानमन्त्रीजस्तो व्यक्ति बहिर्गमन भइरहँदा खासमा जनताको छातीमा देब्रे कुना चसक्क दुख्नुपर्ने हो । आँखा रसाउनुपर्ने हो । अनि पख् नालायकहरू, हाम्रा राम्रा प्रधानमन्त्रीलाई जालसाजी गरेर गलहत्याउने ? आगामी निर्वाचनमा देख्लास् भन्न सक्नुपर्ने हो तर यहाँ त ठीक उल्टो तालीको वर्षा पो हुँदै छ । ठिक्क भो भन्दै काखी पो बजाइँदै छ । त्यस्तै, नयाँ प्रधानमन्त्री नियुक्त हुँदा नयाँ रक्तसञ्चार प्रवाहित हुनुपर्ने हो । सही व्यक्ति आएछ भन्दै दीपावली मनाउनुपर्ने हो । तर विडम्बना, यहाँ त गालीको बाढी पो पस्न थालेको छ । एउटा चोर गयो, अर्को चोर आयो भन्दै जनताले उल्टै अपशब्दको अस्त्रले हान्दै छ ।

हो, आइतबार देशले नयाँ हैन, पुरानै प्रधानमन्त्री पाएको छ । उही चिरपरिचित आफ्नालागि मात्र सुरक्षित हुने खालको प्रधानमन्त्री ! नेकपा हुँदा नै दुईतिहाइ बहुमतसहित प्रधानमन्त्री बनेका यी ओली पुरानै विष्ट हुन् । कोरोना महामारीले देश अस्पतालको बेडमा सुतिरहँदा डाँडोमा भ्युटावर बनाएर बस्नेलाई जनताले कहाँ छिट्टै भुल्न सक्लान् र ? लकडाउनको मारमा पूर्वमेचीबाट आफ्नो घर पश्चिम महाकालीसम्म पैदल महिनाँै लगाएर फर्किरहँदा बाटामा खान नपाएर मरेका मजदुरहरूका लागि बेसार पानी खा भन्नुबाहेक यिनले के पो योगदान दिएका थिए र ?

शंका छैन– समकालीन राजनीतिमा यिनी अरुभन्दा अध्ययनशील, र सक्रिय छन् । विपक्षको मुटुकै किरा मर्ने गरी कटुवचन हान्न पनि सिपालु छन् । सेताम्मे कपाल फुले पनि, चिल्लो गाला चाउरिँदै गए पनि यिनको जोश, जाँगर कुनै लाठेको भन्दा कम छैन । पञ्चायतविरुद्धको महासंग्राममा लामो समय जेल र गोता खाएका यिनको विचार र व्यवहारमा भने आकाश–जमिनको अन्तर छ । एक मानेमा यिनको व्यवहार निरंकुश पञ्चायतको भन्दा कम छैन । उस्तै परे विपक्षलाई भित्तामा पु¥याएर अधिनायकवाद लाद्न कुनै कसर बाँकी राख्दैनन् । सत्ता स्वार्थको संकीर्ण घेराभित्र उभिएर सहकर्मीहरूलाई भित्तामा पु¥याउन रतिभर अप्ठ्यारो नमान्ने यिनको व्यवहारबारे बिचरा कांग्रेसीहरू पनि कहाँ अनभिज्ञ छन् र ? फेरि पनि सौताको रिसले पोइको ओछ्यान भिजाउने जस्तै बन्न बाध्य छ कांग्रेस ।

छाड्नुपरे कुर्सी नै भाँचिदिन्छु भन्ने अहंकारीसँगको सत्ता सहयात्रा र सत्ता हस्तान्तरण कांग्रेसका लागि फलामको चिउरा चपाउनुसरह सकसपूर्ण हुनेछ । 

केही थान नयाँ मन्त्रीहरूले शपथ खाएका छन् तर देखिने छैन त्रिशूलीमा बेपत्ता बस र यात्रुहरू । अनि देख्न सक्ने छैन नयाँ सरकारले शोकमा डुबेका स्वजनका पीडा, बाढी–पहिरोसँगै बगेका अनि पुरिएका जनता । सत्ताको सुमेरु परिक्रमा गर्दै मस्त रहनेछन् यसरी नै देश हाँक्ने मस्तरामहरू । र, फेरि पनि सरकार ढाल्न सुलसुलेहरूको सल्बलाहट शुरु हुनेछ । निरन्तर...निरन्तर ! 
 

टिप्पणीहरू