ओलीको सरकार आउला कि नआउला ?

ओलीको सरकार आउला कि नआउला ?

अबको संसद्बाट केपी ओलीले सरकार बनाउन सक्नुहोला कि यो काम सम्भव नहोला ? प्रधानमन्त्री निवास बालुवाटारमा यसबारे सोमबार छलफल चल्दा नबन्ने नै हिसाब निस्किएको छ । चुनाव जितेर, हारेर फर्किएका केही मन्त्रीलाई अस्ति दिउँसो बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले करिव एक घण्टा विभिन्न कोणबाट विचारको मन्थन गर्नु, गराउनु भयो । त्यहाँ अरुभन्दा पहिल्यै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पुगिसक्नुभएको थियो ।

एकैछिनमा रूपन्देहीबाट हारेर फर्किएका गृहमन्त्री बालकृष्ण खाँण, चुनावअघि कानुनमन्त्रीबाट राजीनामा दिएका गोविन्द बन्दी, महान्यायाधिवक्ता खम्बबहादुर खाती पुगे । प्रधानमन्त्री कुनै निश्चित विषयमा चिन्तित हुनुहुन्थेन । मात्रै, आउन बाँकी परिणाम के होला ? माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउला कि नकटाउला ? जस्ता विषयमा उहाँ केन्द्रित हुुनुहुन्थ्यो ।

हिसाब पनि निकालियो, स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव जित्ने अमरेशकुमार सिंहलाई कांग्रेस र प्रभु साहलाई माओवादी केन्द्रको मान्दा, अनि लोसपाको सीटसमेत जोड्दा सत्ता गठबन्धनसँग संसदभित्र १ सय ३८ को सुविधाजनक बहुमत हुन्छ । अझै केही निर्वाचन क्षेत्रमा पुनः मतदानसमेत गर्दा विभिन्न सात ठाउँबाट परिणाम आउन बाँकी नै छ ।

त्यसमध्ये ‘दोलखा, बाजुरामा के होला ? सुनसरी– ३ बाट विजयकुमार गच्छदारले मतान्तर घटाउन नसक्दा एमालेकी भगवती चौधरीले जितिन् नै, त्यही जिल्लाको क्षेत्र नं. ४ बाट उठेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नहारिदिए हुन्थ्यो’ भनेर विभिन्न कोणबाट प्रधानमन्त्रीले कुरा गर्नुभयो । तर, कुनै ठोस विषयमा प्रसंग निस्किएर निचोडमा पुग्ने काम भएन । यति नेताबीच कुरा हुँदाहुँदै प्रचण्ड कतै जान हतारिँदै हुनुहुन्थ्यो ।

उहाँ जुरुक्क उठ्नासाथ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टुप्लुक्क देखापर्नुभयो । माधव भित्र छिर्नासाथ अरु क्रमशः उठ्न थाले । त्यसपछि प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालबीच अलग्गै कुराकानी शुरु भयो । 

टिप्पणीहरू