हामीले अब के बोल्ने, के लेख्ने

हामीले अब के बोल्ने, के लेख्ने

शहीद लेख्ने कि सहिद, कानून लेख्ने कि कानुन, खेलकूद लेख्ने कि खेलकुद, तालीम कि तालिम, जमीन कि जमिन ? शेरचन कि सेरचन, लिम्बु कि लिम्बू, तनहुँ कि तनहूँ, प्युठान कि प्यूठान ? भीड कि भिड, भीर कि भिर ? नुन कि नून ? शुरु कि सुरु ? नयाँदिल्ली कि नयाँ दिल्ली, बेजिङ कि बेइजिङ ? हुबेई कि हुपेई( मन्दारिन भाषामा बीको उच्चारण प हुन्छ ), सि जिन पिङ कि सी चीनफिङ, मञ्जीव कि मञ्जीभ ?

पहिरोले कि पहिराले, जाडोमा कि जाडामा ? क्वारेन्टिन, आइसोलेशन, नेगेटिभ । पोजेटिभ रिपोर्टलाई नेपालीमा के लेख्ने ? निमोनियाको नेपालीमा के हुन्छ ? टाइफाइडलाई विषमज्वर, जण्डिसलाई कमलपित्त र क्यान्सरलाई अर्बुदरोग कति दिन टिक्ला ? अर्गानिक शब्द जनजीवनमा भिजिसक्यो । सुनगाभा । सुनाखरी अर्किड भइसक्यो । पार्टी, प्रेस, मिडिया, नेटवर्क, कूटनीतिक नोट, एजेण्डा, आइसियु, ग्लोभ्स, टेष्ट, भ्याक्सिन, किड्नी, सुगर, ब्लड प्रेसर, कलभर्ट, अवार्ड, इन्स्टिच्युट, युनियन हाम्रो जनजीवनमा खुशीसाथ भित्रिए। हुँदाहुँदा अभियानकर्मी अभियन्ता (इञ्जिनीयर) भए । प्रदेशसभा सदस्य प्रदेश सांसद भए । उच्चारण हुन्छ गँडेश, लेखाइ छ गणेश । भन्छौँ ‘ग¥याथ्यो’, लेख्नुपर्छ ‘गरेको थियो’ ।

पदयोग र वियोग, पञ्चमवर्ण, नामयोगी सबमा विवाद । प्रधानमन्त्री वियोग गरी प्रधान मन्त्री, अनि गृहमन्त्री पदयोग अरे । किन त भन्दा प्रधानमा तीन अक्षर, गृहमा दुई अक्षर भएकाले अरे । झण्डा झन्डा भइदियो, नेपालगञ्ज नेपालगन्ज भइदियो । चन्द्रविन्दु( शिरविन्दु, एक र दुई उद्धरण चिह्न, कमा(अल्पविराम), पूर्णविराम, तिर्यक कारक(गरेकामा, भएकाले) को ज्ञान कसले कसलाई दिने ?

राष्ट्र प्रमुख र सरकार प्रमुखकै लिखित मन्तव्यहरूमै अङ्ग्रेजी, हिन्दी आदि भरमार भेटिन्छन् । नेपाल प्रज्ञा (प्रतिष्ठानको बृहत् शब्दकोशको वर्णविन्यास एकातिर, तिनका प्रकाशनका भाषा अर्कातिर । सरकारी सञ्चारमाध्यममै एकरूपता छैन । साझा प्रकाशन आफैँ थला परेको छ त त्रिवि नेपाली केन्द्रीय विभाग भाषा साहित्यका पण्डितहरूको आआफ्नै मुढेतर्कको अखडा ।

समाचारदाताहरूलाई समाचार पाए पुग्यो, वर्णविन्यास सम्पादकले हेरिहाल्छन् नि भन्ने हुन्छ । सम्पादकपिच्छेको भाषाले गर्दा समाचारका भाषामा एकरूपता छैन । उच्च आदरणीयलाई मध्यम आदर गर्ने, शब्दमा मितव्ययिता गर्ने निहुँमा दुई कुरा दाँज्दा प्रयोग हुने ‘भन्दा’ शब्द कतिपय सञ्चारमाध्यमका समाचारबाट हराउन थालिसकेका छन् । कतिपय सञ्चारमाध्यममा त वाक्य पूरा नभइकन नै जसमध्ये, जसअन्तर्गत, जसले जस्ता संयोजनकारी शब्दका अघि नै पूर्णविराम लगाउने चलन पनि शुरु भइसकेछ ।

हरेक वर्ष भानुजयन्ती आउँछ अनि भाषाको कुरा झन् चर्काे भएर आउँछ । सरकारले भाषामा एकरूपता गर्न लागे भाषा लादेको कुरा आउँछ, विद्वान्हरूका मुण्डमुण्ड विचार र व्याख्या आउँछ । बबुरा लेखक र पत्रकार कसले भनेको मान्ने, कसले भनेको पत्याउने ? अठार सालसम्म नेपाली झण्डामा एकरूपता नहुँदा इञ्जिनीयर शङ्करनाथ रिमाललाई बोलाएर झण्डाको मानक तयार भयो, अहिले भाषाको एकरूपताबारे चिन्ता र चासो कसले लिने ? वर्षैपिच्छे गोष्ठी, सम्मेलन कति गर्ने ? नेपाली भाषाको शुद्धताको कुरा गर्नेहरू परम्परावादी भनिन्छन् । यसमा धेर नबोलूँ, नलेखूँ ।

टिप्पणीहरू