क्रान्तिकारीले भारतको ज्यादती नसहने, प्रतिरोधमा उत्रने चेतावनी

क्रान्तिकारीले भारतको ज्यादती नसहने, प्रतिरोधमा उत्रने चेतावनी

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले तटबन्धको विषयमा भारतीय पक्षसंग स्पष्ट छलफल गरी समस्या समाधान गर्न माग गरेको छ । दार्चुलाको सदरमुकाम खलङ्गा र धार्चुला जोड्ने पुलनजिक भारतले एकतर्फी रुपमा अन्तर्राष्ट्रिय सन्धिविपरीत तटबन्ध निर्माण गर्न लागेपछि त्यसप्रति आपत्ति जनाउँदै क्रान्तिकारीले सरकारलाई प्रष्ट अडान लिन भनेको हो । 

खलङ्गातर्फ फर्किने गरी भारतले एकतर्फीरुपमा तटबन्ध निर्माणको काम अघि बढाइएको विषयलाई लिएर हाल उक्त क्षेत्रमा विवाद उत्पन्न भएको छ । त्यहाँ खटिएको भारतीय प्रहरी र कर्मचारीको टोलीले नेपाली जनतामाथि ढुंगामुढा गरेर घाइते बनाएको उल्लेख गर्दै क्रान्तिकारीले यस्तो दादागिरी नदेखाउन भारत सरकारलाई चेतावनी पनि दिएको छ ।

आज विज्ञप्ति जारी गर्दै क्रान्तिकारीले भारतीय हस्तक्षेपको प्रतिरोधमा उत्रिएका सीमाक्षेत्रका जनताको रक्षा र साथका लागि पहरेदारका रुपमा उभिने प्रतिबद्धता जनाएको छ । ‘मुकदर्शक बनेर मौनता साँची निर्लज्ज बनेको नेपाल सरकारको यो घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षणसहित यस प्रकारका असह्य घटनाक्रम नसहन र भारतसंग स्पष्ट रुपमा छलफल गरी समस्या समाधान गर्न विशेष आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ । 

साथै, नेपाल आमाको अस्मितामाथि पटकपटक गिद्धे नजर लगाउने भारतीय रबैयाविरुद्ध जस्तोसुकै प्रतिरोधमा पनि उत्रिन लाखौँ विद्यार्थीसहित करोडौँ नेपाली जनता तयार रहेको उनीहरुले चेतावनी दिएका छन् ।

टिप्पणीहरू