नेपालको अदालतमा धर्ना,जुलुश गर्दा अमेरिकामा उठ्यो सवाल

नेपालको अदालतमा धर्ना,जुलुश गर्दा अमेरिकामा उठ्यो सवाल

नेपालको अदालतमा धर्ना,जुलुश गर्दा अमेरिकामा उठ्यो सवाल न्यायाधीशहरुलाई बेञ्च बहिष्कार गर्न बाध्य पार्ने गरी न्यायालयमा आन्दोलन गर्ने कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको कार्यशैलीप्रति अन्तर्राष्ट्रिय मञ्चमा प्रश्न उठेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको बहिर्गमनको माग गर्दै बारले गरेको महिनौँ लामो आन्दोलनको तरिकावारे प्रश्न उठिरहेका बेला अन्तर्राष्ट्रिय बार एशोसिएसन (आईबिए) को सम्मेलनमा प्रश्न उठेको हो । 

३० अक्टोबरदेखि ४ नोभेम्बरसम्म अमेरिकामा सम्पन्न आईबिएको सम्मेलनमा सहभागी विभिन्न मुलुकका प्रतिनिधिहरुले न्याय सम्पादनमा प्रत्यक्ष प्रभाव पार्ने गरी बारको अगुवाइमा वकिलहरुले गरेको आन्दोलनलाई लिएर प्रश्न उठाएको सहभागी एक जना अधिवक्ताले जनआस्थालाई बताए ।  मायामी,फ्लोरिडास्थित पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घर भएको ठाउँमा सम्पन्न सम्मेलनमा आइबिएका प्रेसिडेन्ट स्टर्नफोर्ड मोयोले बार अध्यक्ष गोपालकृष्ण घिमिरेसामु गम्भीर असहमति राखेको त्यहाँ सहभागी भएर फर्किएका एक कानुन व्यवसायीले जनआस्थालाई बताए । 

उनका अनुसार प्रधानन्यायाधीश हटाउन संसदीय कारवाहीमा जानुपर्नेमा बारले हुलहुज्जतपूर्ण आन्दोलन गरेको भन्दै केही देशका वरिष्ठ वकिलहरुले गम्भीर चासो राखेका थिए । 'प्रधानन्यायाधीशविरुद्ध बारले गरेको आन्दोलन संवैधानिक तथा कानुनी प्रक्रियाबाट नभई  बलजफ्तीपूर्ण भयो भन्नेवारे सम्मेलनमा गम्भीर प्रश्न उठ्यो । यसले नेपालको न्याय क्षेत्रमाथिको अन्तर्राष्ट्रिय  विश्वास कमजोर बनेको छ',ती कानुन व्यवसायीले भने । 

सम्मेलनमा नेपालबाट बार अध्यक्ष गोपालकृष्ण घिमिरे,महासचिव अञ्जिता खनालसहित आधा दर्जन कानुन व्यवसायी सहभागी थिए । 

न्यायग्राहीहरुको न्याय पाउने प्रक्रियामा अवरोध पुग्ने गरी आन्दोलनको तरिकामाथि प्रश्न उठिसक्दा पनि बारले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले 'क्लिनचिट' दिएपछि अदालत फर्किन लागेका चोलेन्द्रलाई रोक्न हिजो पनि बारको नेतृत्वमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा धर्ना दिएका थिए । धर्नामा बार अध्यक्ष घिमिरे, महासचिव खनाल, पूर्वअध्यक्ष हरिहर दाहाल,सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको सहभागिता थियो ।

टिप्पणीहरू