गैरकानुनी पेमेण्ट पार्टनरसँग बैंकहरूको कारोबार

गैरकानुनी पेमेण्ट पार्टनरसँग बैंकहरूको कारोबार

तोकिएको पुँजी पुर्याउन नसकेपछि गैरकानुनी हैसियतमा रहेको नेट पेमेण्ट सोलुसन (एन पे) नामको डिजिटल पेमेण्ट कम्पनीलाई अधिकांश बैंक तथा वित्तीय संस्थाले पेमेण्ट पार्टनर बनाएको पाइएको छ । एन पेले आवेदन गरेको भुक्तानी सेवा प्रदायक (पीएसपी) को लागि थियो । तर उसको कामको प्रकृति भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) देखिएपछि सोहीबमोजिम पुँजी वृद्धि १० करोड रूपैयाँ पुर्याउनुपर्नेमा नपुर्याई बसेको छ । त्यहि संस्थालाई अधिकांश बैंक तथा वित्तीय संस्थाले भुक्तानी पार्टनर बनाउँदा पनि लामो समयदेखि केन्द्रीय बैंकसमेत मौन बस्दै आएको छ । गत महिना एउटा अमूर्त सूचना जारी गरेर राष्ट्र बैंकले आफूले कागजी दायित्व निर्वाह गरेको देखाएको हो ।

राष्ट्र बैंकले गत महिना भुक्तानीसम्बन्धी कार्यको अनुमति नलिएका संस्थासँग डिजिटल कारोबार नगर्न सबै बैंक तथा वित्तीय संस्थालाई सूचित गर्यो । यतिखेर स्वीकृति लिएका पीएसओको संख्या ९ र पीएसपी १४ वटा छन् । विद्यमान व्यवस्थाअनुसार पीएसओको चुक्ता पुँजी १० करोड रूपैयाँ र पीएसपीको १ करोड रूपैयाँ हुनुपर्छ । तर, पीएसपीको हैसियतको लागि आवेदन गरेर पीएसओ कारोबार गर्दै आएको नेट पेले तोकिएको १० करोड रूपैयाँ पुँजी पुर्याएको छैन । मुलुकका अधिकांश ठूला डिमार्टमेण्ट स्टोर र मलहरूमा समेत एन पेमार्फत् बैंक तथा वित्तीय संस्थाहरूले ठूलो परिमाणमा कारोबार गर्दै आइरहेका छन् ।

एन पेसँग भुक्तानी पार्टनरको सम्बन्ध राखेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये १८ वटा वाणिज्य बैंक,६ वटा विकास बैंक र एउटा वित्त कम्पनी छन् । वाणिज्य बैंकहरूमध्ये मुख्यगरी एनआईसी एसिया, मेगा, एनएमबी, सिभिल, माछापुच्छ्रे, लक्ष्मी, प्राइम, सनराईज, ग्लोबल, एनसीसी, सिटिजन, एभरेष्ट, इन्भेस्टमेन्ट, कुमारीलगायत छन् । विकास बैंकहरूमा कामना सेवा, गण्डकी, महालक्ष्मी, कैलाश, मुक्तिनाथ र गरिमा हुन् भने आईसीएफसी एक्लो वित्त कम्पनीको रूपमा देखिएको छ ।

उता, भुक्तानी सेवा प्रदायकहरूमध्ये हेल्लो र रिचार्जर नामका कम्पनीले पनि गैरकानुनी कारोबार गरिरहेको बताइएको छ । हेल्लोले राष्ट्र बैंकमा धेरैअघि अनुमतिको लागि आवेदन गरेपनि थप प्रक्रिया अघि नबढाएकोले अनुमति पाएको छैन । त्यसैगरी, रिचार्जरले अनुमतिको लागि हालसम्म राष्ट्र बैंकमा आवेदन नै गरेको छैन ।

यसैबीच, बैंकले मौद्रिक नीतिमार्फत् सैद्धान्तिक सहमति प्रदान गरिएका बाहेक नयाँ पीएसओ तथा पीएसपीको इजाजत स्थगन गरेको छ । त्यसैगरी यसअघि अनुमति पाएका पीएसपीले कम्तिमा तीन लाख ग्राहक र मासिक कारोबार संख्या छ लाख नपुर्याएमा त्यस्ता संस्थाको समेत अनुमति खारेज गर्ने बताएको छ ।

टिप्पणीहरू