जबजको नाम बिगार्ने को हुन् ?
उसो त जबज भनेको ‘जनताको बहुदलीय जनवाद’ नै हो,जो मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकाससँग सम्बन्ध राख्छ । तर, नेकपापंक्तिभित्र आजकल ‘जबज’ को बुझाई बेग्लिएको छ । यसलाई ‘जनताको बहुदलीय जनवाद’ नभएर ‘जता बहुमत,उतै जमघट’ का रुपमा चित्रित् गर्न थालिएको छ ।
यस्तो खेलोमा पूर्वएमाले तर्फबाट महासचिव विष्णु पौडेल र रक्षामन्त्री ईश्वर पोखरेलहरुको सक्रियता बढेको चर्चा गरिन्छ । ईश्वर मन्त्री पनि हुनुका कारणले खुलेर बहुमत पुग्ने खेमातिर नदेखिएको, तर विष्णु पौडेलचाहिँ केपी अल्पमतमा पर्नुभएको छनक पाउनासाथ ब्यालेन्सतिर लाग्नुभएको चर्चा बालुवाटारभित्रै चल्ने गरेको छ । विष्णुसँग एउटा काउछो छ, केपीबाट घोषित रुपमा टाढिन नसक्ने । त्यो हो,ललिता निवास प्रकरण ।
प्रचण्ड शैली
‘अर्ली महाधिवेशन’ को तुरुप र लगत्तै परेको ‘परिबन्द’ ले शीतल निवास निवास पुर्याएकोसम्मका घटनाक्रमलाई माधव, झलनाथहरुले अझैसम्म पनि त्यति राम्रोसङ्ग लिनुभएको छैन । कोटेश्वर–डल्लुको बुझाई छ-बजारमा अर्ली महाधिवेशनको तुरुप फ्याँकेर टेष्ट गर्नेमा प्रचण्डको सहमति हुनुपर्छ । नत्र, किन बैठकमै विरोध भएन ?
अर्को बुझाई हो,यही कुरा लिएर शीतल निवास जाने, त्यहाँ निश्चित सहमति गरेर सबै कुरा फस्याङ्फुस्लुङ पारिदिने । तर, प्रचण्ड बालुवाटारबाट शीतल निवास पुग्न नपाउँदैमा यति धेरै प्रश्न उठे कि, भएभरका मानिसले यस्तो नगर्न दबाब दिए ।
पसिना–पसिना भएर शीतल निवास छिर्नुभएका प्रचण्डलाई फोनमा आइरहेका दबाब झेल्न मुस्किल थियो । त्यसैले त्यहाँबाट बाहिरिएर पसिना पुछ्नासाथ छोरी गंगालाई फोन गरेर ‘कोही पनि तरंगित हुनुपर्दैन’ भनी स्ट्याटस लेख्न लगाउनुभयो । कोटेश्वर र डल्लुतिर यस्तो बुझाई बन्नुको कारण हो, प्रचण्डले आफ्नो पल्ला भारी पार्ने मूल्यमा यस्ता सम्झौता नगर्नुहोला भन्ने छैन ।
किनभने, केपीले पार्टी फुटाउँदा पूर्वएमालेबाट एउटा समूह बाहिरिने हो, केपीकै कतिपय हार्डकोर मानिस विभाजनमा सरिक हुने स्थिति छैन । तर,प्रचण्डसँग ठूलो चुनौति छ,पूर्वमाओवादी धारलाई सुरक्षित राख्ने । त्यहाँबाट एकथरिले तुरुन्तै ओलीको साथ छाडिहाल्न भनेका छन् भने अर्काथरिले माधव, झलनाथ, वामदेवहरुको मुख नहेरिकन केपीसँग आफ्नो अनुकूलको सम्झौता गरिहाल्न दबाब दिएका छन् ।
यो भाउँतोमा लागेर प्रचण्डले ओलीसँग भित्रभित्रै चोचोमोचो मिलाउन खोज्नुभएन भनेर माधव, झलनाथहरुले विश्वास गर्न सक्नु भएन । ‘प्रचण्डसँग एउटै थालमा दिनभरिको शिकार हुन्छ,त्यहीँ कान्छा बाको अनुहार पनि देखिन्छ’, पूर्वमाओवादीतर्फबाट राष्ट्रिय युवा संघका एकजना सचिवालय सदस्यले भने, ‘त्यसैले केपी–माधवका कुरामा उहाँसँग खाने र ओकल्ने दुबै सुविधा नहु्ँदा फण्डाबाजी गर्दै दिन काटिरहनुभएको छ ।’
भोलि महाधिवेशनमा माधव एउटा गुट,ओली अर्को गुट हुने निश्चित छ । बालुवाटारमा भनिएको छ, ‘फेरि पनि ओली अध्यक्ष हुने होइन । तर, गुटको समर्थन लिएर तपाईं (प्रचण्ड) अध्यक्ष हुनुपर्ने कुरालाई ख्याल गर्नुपर्छ ।’
प्रचण्डले यस्तो स्थितिका बारेमा सल्लाह गर्दा वामदेवले ओली गुटमा स्वयं ओलीको इमान्दारितामा प्रश्न भए पनि अरुका सन्दर्भमा शंका गर्नुपर्ने मान्छेहरु धेरै नभएको सल्लाह दिनुभएको छ । अहिले ओलीको स्वेच्छाचारिता बढ्नुमा वरिपरिका मान्छेभन्दा स्वयं ओलीको मुख्य भूमिका भएकोमा वामदेव प्रष्ट हुनुहुन्छ । यस्तो स्थितिमा ओलीलाई एक पदबाट हटाउनसक्नु पार्टीको हितमा हुन्छ भन्दै वामदेवले पनि प्रचण्डलाई दायाँबायाँ नसोची अघि बढ्न सुझाव दिनुभएको छ ।
बालुवाटार छिर्ने पार्टी नेताहरुलाई यो हाम्रै सरकारको प्रधानमन्त्री बस्ने ठाउँ हो भन्ने कुराको अनुभूति आजसम्म हुन सकेन । जुन केपीविरोधी अभियानको मुख्य जड बनेको पूर्व एमालेतर्फका नेताहरुको बुझाई छ ।
झुण्ड तालतालका
प्रधानमन्त्रीको टिममा प्रशासनिक पकड कायम राख्नेमा विष्णु रिमाल हुन् । बौद्धिक पकड छ,शंकर पोखरेलको । सन्तुलित भूमिका खेल्न सक्ने प्रदीप ज्ञवाली त्यहीँ छन् । अनि,सांसद अपहरणदेखि पार्टी दर्ता गराउनेसम्मका बितण्डामा कुदाइने महेश बस्नेतहरुको उपस्थिति त्यतै हुने ।
महेशले प्रधानमन्त्रीको जानकारीबेगर कतिपय सचिवसँग सम्पर्क राखी प्रधानमन्त्रीकै नाममा काम गराएको र महेशसँग निकट भएको नाममा प्रधानमन्त्रीको नाम बेच्ने मानिसबारे प्रशस्तै उजुरी सुनेपछि बालुवाटारमा लामो समय ठाउँ पाएनन् । तर, जब केही वितण्डा चलाउनुपर्ने स्थिति आयो,अनि महेश चाहियो । त्यो पनि काम लगाउञ्जेलका लागि ।
महेशलाई पनि ‘बाले फेरि मन्त्री देलान्’ भन्ने ठूलो आश थियो । तर, उनी प्रयोगमात्र भइरहे ।
महेशसँग युवामा रमेश पौडेल र विद्यार्थीमा ऐन महरहरुको पकड छ । तर, प्रधानमन्त्रीको विश्वास पूरै जित्न सकेका छैनन् ।
एमाले नाममा पार्टी दर्ताको लागि ठिक्क पार्नुमात्र भनिएको थियो । तर, एक कदम अगाडि सरेर निवेदन बोकी निर्वाचन आयोगमै मान्छे पठाउने काम भयो । त्यसबाट केपी ओलीको भारी बद्नाम भयो । यसमा प्रधानमन्त्री अझै रुष्ट हुनुहुन्छ । अर्थात्, राम्रो हुँदै गएको सम्बन्ध पार्टी दर्ता प्रकरणपछि फेरि शंकामा परिणत हुँदैछ ।
गोकुल बाँसकोटा हुन्, प्रायः दिनमा एकचोटि बालुवाटार छिर्ने र त्यहाँबाट निस्किएपछि शीतलनिवासमा चिया पिएर फर्किने । प्रशासनिक कमाण्ड विष्णु रिमालले सम्हालेका छन् । वैचारिक शंकरले । घेरा सानो छ र त्यसले प्रधानमन्त्रीलाई धेरै हदसम्म तनाव होलो बनाइदिएको छ !
टिप्पणीहरू