पैतालिस रुपैयाँमा एक किलो चामल ?

पैतालिस रुपैयाँमा एक किलो चामल ?

सिंहदरबारतिर रमाइलो छ यो साता । एक जना व्यापारीले जानाजान २ करोड २५ लाख घाटा खाने गरी टेण्डर हालेपछि अहिले मुलुकको प्रमख प्रशासनिक निकाय सिंहदरबार र उद्योग मन्त्रालयतिर हल्लीखल्ली छ । साविकको खाद्य संस्थान अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बनेको छ ।

सोही कम्पनीले काठमाडौँसहित तराईका ६ जिल्लामा चामल खरिदको लागि बोलपत्र आह्वान गर्यो ।
पटक पटक गरी चारपटक टेण्डर निकाल्यो । चामल खरिदका ५ चैत्र,१० वैशाख  र जेठ १ मा गरी तीन पटक बोलपत्र आह्वान गर्दा पनि कुनै फर्मले  टेण्डर हालेनन् । तर चौथो पटक असार ९ मा बोलपत्र खोल्दा एक यस्ता व्यापारीले टेण्डर हाले मूल्य देखेर त्यहाँका कर्मचारीहरु जिब्रो टोक्दैछन् ।
उनले ४५ रुपैंयाँ ३९ पैसामा एक सय (एक क्विन्टल) किलो चामल उपलव्ध गराउँछु भन्दै आवेदन दर्ज गर्न आए । टेण्डर हाल्दा साढे ६ लाख धरौटी पनि राखेका छन् ।

सार्वजनिक खरिद ऐनअनुसार,जसले सबैभन्दा कम मूल्यमा टेण्डर हाल्छ ठेक्का उसैले पाउने हो ।
अहिले बजारमा ४५ रुपैंयामा राम्रो खालको १ किलो चामल पाइँदैन भने सय किलो चामल कसरी पाइएला ?

सार्वजनिक खरिद ऐनअनुसार टेण्डर उनीसहितका ६ वटा फर्मले हात पारेका छन् । जसमध्ये पहिलो नम्बरमा छ गिरिधारी फुड इन्ड्रष्टिज दुहवि- ४ सुनसरी । यो फर्मका मालिक हुन् काशीप्रसाद अग्रवाल । उनैले हो, ४५ रुपैंया ३९ पैसामा एक क्विन्टल सोना मनसुली चामल उपलव्ध गराउँछु भनी प्रतिवद्धता जनाएको  । उनले सो मूल्यमा ५ हजार क्विन्टल चामल  उपलव्ध गराउँछु भन्दै टेण्डर हालेका हुन् ।

जबकि सोही चामललाई श्याम बाबा राइस एण्ड फ्लोर मिलले प्रति क्विन्टल ४५९५ रुपैंयामा र  लक्की राइस मिलले ४५२१ रुपैंयामा एक सय किलो चामल उपलव्ध गराउन सक्छु भन्दै टेण्डर हालेको देखिन्छ ।

एक क्विन्टल चामलको न्यूनतम मूल्य ४५०० राख्दा पनि ५००० क्विन्टल चामल दिदा उस्लाई सिधै २ करोड २५ लाख चुना लाग्ने उद्योग मन्त्रालयका अधिकारीहरु हिसाब निकाल्दैछन् ।
यसरी कम मूल्य बोलकबोल गर्ने सुनसरीका ती व्यापारीसगैँ अन्य ६ स्थानका लागि कम्पनी छनौट गरेको छ ।

यस्ता दृश्यहरु हरेक मन्त्रालयका खरिद शाखामा भेट्न सकिन्छ । जस्तो केही अघि एक जना सप्लायर्सले भूमिसुधार मन्त्रालयले १ रुपैंयामा सिसाको ग्लास, कोरा कपडा, मार्कर,साबुन उपलब्ध गराए ।  १२ रुपैयामा केही थान पेनड्राइभ दिए ।

यी सबै सामाग्री कम संख्यामा उपलव्ध गराइएका थिए । उनले यी सामग्री घाटा खाएर सप्लाई गर्नुको कारण खोतल्दै जाँदा भेटियो, कम मात्रामा आपूर्ति हुने यी सामानलाई सस्तोमा दिई ठेक्का आफ्नो पक्षमा पारी बढी मात्रामा आपूर्ति गर्नुपर्ने सामानको मूल्य पचासौं गुणासम्म महंगो राखेर फाइदा लिएको । तर सुनसरीका व्यापारीको हकमा कुरै उल्टो छ । अहिले उनी किलोको ठाउँमा आफूले क्विन्टलको मूल्य राखेर गल्ती भएको भन्दै गल्ती सच्चाइदिन उद्योग मन्त्रालयका अधिकारीहरुसँग हार गुहार गर्दैछन् ।

टिप्पणीहरू