आफ्नै लेखा शाखाको धरौटी रसिदमाथि श्रीमानहरुको शंका

आफ्नै लेखा शाखाको धरौटी रसिदमाथि श्रीमानहरुको शंका

उच्च अदालत पाटनमा हिजो दिउँसोदेखि निकै गल्याङबल्याङ सुनियो । रजिष्ट्रार ठगेन्द्र कट्टेलको कोठामा भएभरका अधिकृत,लेखा शाखाका कर्मचारीको उपस्थितिवीच एक जना चेक अनादरसम्बन्धी मुद्दाकी प्रतिवादी महिलालाई र्याख्र्याख्ती पारियो । चार महिनाअघि १३ लाख रुपैयाँ धरौटीमा छुटेकी प्रतिवादी जुली नेपाललाई लेखा शाखाले दिएको रसिदको आधिकारिकतामाथि प्रश्न उठाउँदै अनेक प्रश्न गरियो  ।

२ करोड रुपैयाँको चार वटा चेक अनादरमा प्रहरी हिरासत पुगेकी जुलीले गत दशैं, घटस्थापनाको अघिल्लो दिन १३ लाख रुपैयाँ धरौटी बुझाएको स्रोतको दाबी छ । अदालतकै कर्मचारी तीर्थ राउतलाई जुलीले त्यतिबेला मोतिराम अधिकारीमार्फत् उक्त रकम बुझाएको बताइन्छ । लेखा शाखाका हरिले दस्तखत गरेको धरौटी बुझाएको रसिद हातमा हुँदा हुँदै पनि अदालतका कर्मचारीहरुले त्यसको आधिकारिकतामाथि प्रश्न चिन्ह उठाएका हुन् ।

रजिष्ट्रार कट्टेलको कोठामा भएको चर्काचर्कीमा रकम कलमको कुरो उठाइएपछि नजिकै रहेका वकिलहरुले विभिन्न आशंका गरेका हुन् । पछिल्लो समय उनै मोतिरामले जुलीको तर्फबाट १ लाख ७० हजार रुपैयाँ तीर्थमार्फत बुझाएको कुरोसमेत बाहिर आएको छ । तीर्थ यसअघि इजलास नम्बर २ मा बस्ने कर्मचारी हुन् ।

गत चार महिनासम्म तारिख नदिँदै झुलाइएपछि हिजो जुलीलाई साक्षी बकपत्र गर्न अदालतमा बोलाइएको थियो । सोही क्रममा दशैंअघि र पछिको लाखौं रुपैयाँ बुझाउन बाँकी रहेको देखिएको हो । अदालतको चर्काचर्की सुनेका कतिपयले उक्त रकम जम्मा भएको दिनको अदालतको बैंक खाताको स्टेटमेण्ट भिडाउनुपर्नेसम्मको तर्क गरेका छन् । 

यता,उच्च अदालतकी उपरजिष्ट्रार अमृताकुमारी शर्माले सामान्य छलफल भएको बताउनुभएको छ । उहाँले ‘बबाल नभएको तर एउटा इस्यु सेटल गर्न छलफल भएको’ प्रतिक्रिया दिनुभएको छ । दिउँसो भएको छलफल र चर्काचर्की निचोडमा नपुगेपछि कार्यालय समय बित्दासम्म प्रतिवादी जुलीसँगै अन्य दुई जना कर्मचारीलाई अदालतकै अर्को कोठामा राखेर छलफल  गरिएको अदालती स्रोतको दाबी छ ।

टिप्पणीहरू