राहत र सुरक्षा दिने कि सार्वजनिक बिदा ?

राहत र सुरक्षा दिने कि सार्वजनिक बिदा ?

– विराट अनुपम 

आइतबार बिहान ११ः११ बजे भएको यति एयरको एटिआर–७२ जहाज दुर्घटनामा ६८ यात्रु र चालक दलका सबै चार सदस्य गरेर ७२ जनाको ज्यान गयो । पोखराको यो दुर्घटनासँगै नेपालको हवाई सुरक्षाबारे अन्तर्राष्ट्रिय चासो र चिन्ता पुनः शुरु भएको छ । दुर्घटनाको समाचार प्रकाशन गर्ने क्रममा जर्मनको विश्वसमाचार च्यानल डिडब्लुदेखि चीनको विश्व समाचार च्यानल सिजिटिएनले नेपालको हवाई सुरक्षा कमजोर भएको लेखेका छन् । डिडब्लुले नेपाली जहाज विश्व युरोपेली आकाशमा उड्न नपाएको कुरा प्राथमिकतासाथ प्रकाशन गरेको छ भने सिजिटिएनले नेपालको हवाई मौसम प्रक्षेपणदेखि जहाजको सुरक्षा र मर्मतमा प्रश्न उठाएको छ । 

नेपाली हवाई सुरक्षाको मेरुदण्डमै प्रश्न उठाँइरहँदा नेपाल सरकारले भने यो मुद्दाको संबोधन गर्नेभन्दा भावनात्मक कुरामा जोड दिएको छ । सोमवार सार्वजनिक बिदा दिएर सरकारले दुई कुरामा गल्ति गरेको छ । एक, हवाई दुर्घटना हुँदाका पीडित परिवारलाई रातहदेखि आम पब्लिकलाई हवाइ सुरक्षा दिने हो । सार्वजनिक बिदा दिने होइन । सन २०१३ को डिसेम्बरबाट युरोपेली युनियनले नेपाली जहाजलाई आफ्नो आकाशमा छिर्न दिएको छैन । पटकपटक पहल गर्दा पनि नेपाली जहाज युरोप छिर्न पाएका छैनन् । यस्तो प्राविधिक तयारी र सुरक्षाको प्रत्याभूति गरेर कालोसूचीबाट फुकुवा गर्न आवश्यक पर्नेमा बिदा दिन मिहिनेत गरिएको छ । सरकारले ‘आन्तरिक उडानका सबै जहाज प्राविधिक परिक्षण गर्नु’ भनेर निर्देशन त दिएको छ । तर, यसले नेपालमा यस अगाडि त्यस्तो परीक्षण नहुने रहेछ भन्ने सन्देश दिन्छ । विदेशीले गर्दै आएको नेपाली आकाश असुरक्षित छ भन्ने तर्कमा यसले थप बल पु¥याउनेछ । दुई, सार्वजनिक बिदा दिनुको अर्को समस्या भनेको सरकारको नजरिया हो । देशका खराब सडकमा कैयौँ बिभत्स सवारी दुर्घटनाका घटना हुन्छन् । सयौँ नेपालीले त्यस्तो दुर्घटनामा ज्यान गुमाएका छन् । तर, उनीहरूको शोकमा सार्वजनिक बिदा दिने गरिएको छैन ।

यस्ता खालका बिदामा सरकारले वर्गीय विभेद गरेको देखाउँछ । गरिबगुरुवाले धेरै यात्रा गर्ने सडक दुर्घटनामा सार्वजनिक बिदा नदिने तर पैसावालले यात्रा गर्ने हवाई दुर्घटनामा बिदा दिनाले नेपाल सरकारको वर्गीय दोषी आँखा छर्लंग हुन्छ । अझ अचम्म चाहिँ नेपालमा दुई प्रमुख कम्युनिष्ट दलहरूको गठजोड भएको सरकारले यस्तो बिदा दिनु धेरै खराब नजिर बन्नु हो । सार्वजनिक बिदा दिएर सरकारी कर्मचारीलाई आराम दिँदैमा पोखरा जहाज दुर्घटनाका पीडितको घाउ निको हुन्न । दैनिक सरकारी काममा कुरेर बस्नेहरूलाई बिदामार्फत थप तनाव दिएर पीडित परिवार खुशी हुँदैनन् । देशका काम ठप्प पारेर शोक मनाउनु नेपालजस्तो विकासशील देशलाई सुहाउने कुरा होइन । जहाज दुर्घटनाको शोकको नाममा सार्वजनिक बिदा दिनु सबै कोणबाट अपरिपक्व कदम हो । 

नेपालमा पछिल्ला समयमा हवाई दुर्घटना बढेका छन् । सिएनएनले पछिल्ला दश वर्षमा दश दुर्घटना भएको समाचार उल्लेख गरेको छ । नेपालको सन् २०२३ देखि २०३३ सम्म पर्यटन दशक मनाउने तयारी छ । नेपालले लक्ष्यित गरेका बहुसंख्यक पासपोर्टधारी पर्यटक हवाई यात्राबाट आउँछन् । उनीहरूलाई ल्याउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंगे्रजी नयाँ वर्ष २०२३ को पहिलो दिनबाटै औपचारिक उद्घाटनसमेत भएको छ । सात वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेर सात वर्षपछाडि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको विमानस्थलनजिकै दुर्घटना भएकाले यसको सुरक्षामा थप प्रश्न उठेको छ । अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उडान नभएको विमानस्थल नजिकैको सो दुर्घटनाले प्राविधिक नभए पनि मनोवैज्ञानिक रूपमा दीर्घकालीन समस्या पार्ने देखिन्छ । यसतर्फ नेपाल सरकारले समयमै प्राविधिक तथा कूटनीतिक पहल गरेर समाधान खोज्नुपर्छ ।

भारतीय अखबार इण्डियन एक्सप्रेसले नेपालमा पछिल्ला ३० वर्षमा २७ हवाई दुर्घटना भएको समाचार लेखेको छ । यस्ता समाचारले पनि नकारात्मक प्रभाव पार्छन् नै ! बेलाबेला हुने हवाई दुर्घटनाले चिनियाँ पर्यटकलाई समेत असर गर्ने सिन्ह्वाका नेपाल प्रमुख चौ सेङपिङले उल्लेख गरेका छन् । उनले नेपालमा हुने हवाई दुर्घटनाले पर्यटकहरू आउन अनिच्छुक भएको आफ्नो पुस्तक ‘चिनियाँ पत्रकारको नजरमा नेपालः सुधार वा समाप्त होऊ’मा लेखेका छन् । जनता प्रकाशनले ल्याएको पुस्तकमा उनले नेपालका पर्यटन क्षेत्रमा बढी दुर्घटना हुने गरेका कारण चिनियाँ पर्यटक कम आएको ठोकुवा गरेका छन् । सन २०१२ को सेप्टेम्बर २८ मा सीता एयरको दुर्घटनामा मृत्यु भएका पाँच चिनियाँ पर्यटकदेखि सन् २०१३ अक्टोबर १३ मा पोखराको अल्ट्रालाइट दुर्घटनामा मृत्यु भएका एक चिनियाँ पर्यटकको उदाहरण दिँदै उनले यस्ता खबर विश्वभर पुग्नाले चिनियाँ पर्यटकले नेपाल असुरक्षित ठान्ने दाबी गरेका हुन् । 

चिनियाँ पत्रकारको पुस्तकदेखि जर्मन हुँदै चिनियाँ तथा भारतीय मिडियाका सामग्रीले नेपालले हवाई सुरक्षामा ध्यान दिन आवश्यक भएको देखाउँछन् । युरोपेली आकाशमा नेपाली जहाज प्रतिबन्धको कथाले त यसमा झनै ध्यान दिने अपरिहार्यता देखाउँछन् । यी गम्भीर मुद्दामा ध्यान दिन छोडेर सरकारले सार्वजनिक बिदामा ध्यान दिनु बडो दुःखदायी कुरा हो । 
 

टिप्पणीहरू