चीनभित्रै बनाइएको ठूलो विमानले थाल्यो आन्तरिक उडान

चीनमा बनाइएको हालसम्मकै सबैभन्दा ठूलो यात्रुवाहक विमानले पहिलो उडान भरेको छ । सी९१९ कल साइन भएको उक्त विमानले खरायो वर्षको प्रारम्भमा पहिलो उडान थालेको बताइएको छ । 

योसँगै एक सय घण्टाको विमान उडान प्रमाणीकरण प्रक्रियामा अर्को कदम थपिएको जनाइएको छ । स्थानीय समयअनुसार शनिबार बिहान साढे १० बजे सांघाइको होङ्छियाओ विमानस्थलबाट उक्त विमानले उडान भरेको हो । विमान चाइना इस्टर्न एयरलायन्सको हो ।

सांघाईबाट उडेको उक्त विमान पूर्वी चीनको चियाङ्सी प्रान्तको नानचाङ शहरको नानचाङ चाङबेई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । उक्त उडानमा यात्रु, बोर्डिङ, पाइलट र विमान मर्मतसम्भारलगायत सम्पूर्ण प्रक्रियाको परीक्षण गरिएको बताइएको छ ।

‘एक सय घण्टा प्रमाणीकरण उडानपछि चीनको नागरिक उड्ययन प्रशासनले प्रमाणिकरण र परीक्षण सञ्चालन गर्नेछ । त्यसपछि चाइना इस्टर्न एयरलायन्सको उक्त विमान सञ्चालन गर्ने क्षमताको बारेमा थप र प्रमाणित गरिनेछ,’ विमान उत्पादन कम्पनीको कमाण्ड सेन्टरका निर्देशक वुले भने । 

सबै प्रक्रिया पूरा गरेपछि नागरिक उड्डयन प्रशासनले उपयुक्त समयमा एयरलायन्सलाई सञ्चालन अनुमति दिने बताइएको छ । 

कमर्शियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइनाले निर्माण गरेको सी ९१९ चीनमा पहिलो पटक बनाइएको ठूलो यात्रुवाहक विमान हो । यो विमानको डिजाइन र निर्माण सम्पूर्ण रुपमा चिनियाँ इञ्जिनियरहरुले गरेका हुन् ।
 

टिप्पणीहरू