नेविसंघद्वारा केपी ओलीको निन्दा, सभामुख पक्षपाती भएको ठहर

नेविसंघद्वारा केपी ओलीको निन्दा, सभामुख पक्षपाती भएको ठहर

नेपाली काँग्रेसको भातृ संगठन नेविसंघले सभामुख देवराज घिमिरेले पक्षपाती व्यवहार गरेर संसदीय व्यवस्थामाथि प्रहार गरेको आरोप लगाएको छ । 

संसदमा प्रतिपक्षी दलको विरोध जारी रहँदा सभामुखले जबरजस्ती सदन चलाउन खोजेर संसदीय मर्यादाविपरीतको कार्य गरेको नेविसंघले जनाएको छ । प्रवक्ता सुरज सैजुवालले आज विज्ञप्ति जारी गर्दै सभामुखका कारण प्रतिनिधिसभाको बैठकमा मुठभेडको अवस्था सिर्जना भएको बताए । 

त्यस्तै, कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङ्गले नारा लगाइरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट भएको व्यवहारको नेविसंघले निन्दा गरेको छ ।

‘नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहनुभएका काँग्रेस उपसभापति माननीय धनराज गुरुङ्गले संसदभित्र नारा लगाइरहेका बेला एमाले सांसद केपी ओलीबाट भएको अस्वाभाविक व्यवहार निन्दनीय छ । संसदमा रुलिङ सभामुखले गर्ने हो, सत्तारुढ दलले होइन् भन्ने सामान्य मर्यादा नभुल्न पनि नेपाल विद्यार्थी संघ सत्तारुढ दललाई चेतावनी दिन चाहन्छ’, विज्ञप्तिमा उल्लेख छ । 

नेविसंघले काँग्रेसले उठाइरहेको सहकारी ठगी र गिरीबन्धु टी–स्टेटसँग जोडिएको जग्गा प्रकरणको अनुसन्धानलाई प्रभावित पार्ने र सत्ताको बलमा दोषी उम्काउने खेल भएमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । 

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै निरन्तर सदन अवरोध गरिरहेको छ । सोही क्रममा हिजो कांग्रेस र एमालेका सांसदहरु भिडन्तमा उत्रिएका थिए ।

टिप्पणीहरू