मनराशिसवाबाट मेयर साबहरूले सिक्ने कि ?

मनराशिसवाबाट मेयर साबहरूले सिक्ने कि ?

भौतिक पूर्वाधार तथा विकासको नाममा बजेट सक्काउने र बाँडीचुँडी खाने रोगले मुलुकका अधिंकांश पालिका ग्रस्त छन् । पछिल्लो समय यो आम चिन्ताको विषय बनेको छ । सामाजिक सुधार, नागरिकको कल्याण, समाजमा चेतना, सामाजिक न्याय र अभिभावकत्व लिन जनप्रतिनिधिहरू हच्किन्छन् किनकि सामाजिक उत्थानबाट आर्थिक उपार्जन हुँदैन । यद्यपि, केही पालिकाले आफ्ना कर्तव्य बिर्सिएका छैनन् । त्यसमध्ये मधेश प्रदेशको मनराशिसवा नगरपालिका पनि पर्दछ । आ–आफ्ना धर्म र कर्तव्य नभुलेर अगाडि बढ्दा धेरैतिरबाट जनप्रतिनिधिले प्रशंसा बटुलिरहेका छन् । नगरपालिकाभित्र पाँचदेखि १० कक्षासम्मका विद्यालयमा संस्कृत शिक्षालाई अनिवार्य विषयमा समायोजन गरेर अध्ययन अध्यापनको प्रयास थालिएको छ । 

साथै, विद्यार्थीलाई योगाको अभ्यास गराउने र संस्कार सिकाउने कार्यले पनि महत्व पाएको छ । यो आफैँमा सराहनीय उदाहरण हो, जसको जिल्लामा निकै नै चर्चा भइरहेको छ । त्यहाँका स्थानीयहरू नगरपालिकाको यो थालनीबाट निकै हर्षित भएका छन् । मनराका एक समाजसेवीले जनआस्थालाई टेलिफोनमा बताएअनुसार धेरै अघिदेखि संस्कृत भाषा उत्थानको आवश्यकता थियो । मेयरले सो पूरा गरिदिएर एकदमै राम्रो काम गरेको उनको भनाइ छ । महोत्तरीको उक्त नगरका ६ वटा वडामा मदिरा प्रतिबन्ध गरिएको छ । मदिरा निषेधित क्षेत्र घोषणा गरेर सम्पूर्ण विकृतिलाई क्रमशः नामेट पार्ने योजना बनाइएको छ । 

वडा नं. २, ३, ५, ८ र १० गरी ६ वटा वडामा मदिरा उत्पादन तथा बिक्री वितरणमा पूर्णतः बन्देज लगाइएको प्रमुख प्रशासकीय अधिकृत इञ्जिनियर माधवेन्द्र चौधरीले जनआस्थालाई बताए । त्यसैगरी वडा नं. १, ४, ६ र ७ मा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा मठमन्दिरको चारैतर्फ ३ सय मीटरको दूरीभित्रको क्षेत्रमा मदिरा उत्पादन, संकलन, भण्डारण तथा बिक्रीवितरणमा पूर्ण रोक लगाइएको उनी बताउँछन् । मनराशिसवा भारतसँग सीमा जोडिएको पालिका हो । बिहारमा मदिरा उत्पादन, बिक्रीवितरण र सेवनमा निषेध लगाइएको छ । उनले भने, ‘सीमावर्ती क्षेत्रमा रक्सी पसल खोलेर बेच्ने गरेको पाइयो, भारतीय नागरिकहरू आएर रक्सी खाने, होहल्ला गर्ने, चेलीबेटीलाई जिस्काउने क्रम बढेपछि यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका हौँ ।’

पुस ३० गते सम्पन्न दशौँ नगरसभाबाट पारित मदिरा नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी ऐन, २०७९ अनुसार मदिरा निषेध क्षेत्र घोषणा गरेको इञ्जिनियर चौधरीले सुनाए । नगरवासीको सदाचार, सामाजिक सद्भाव, स्वास्थ्य, सुविधा, आर्थिक हित तथा आपराधिक घटना नियन्त्रणका लागि यस्तो कार्य गरिएको नगरपालिकाको भनाइ छ । प्रहरी प्रशासनको समन्वयमा काम अघि बढाइएको बताउँदै उनले पालिकावासीको हित र शान्ति सुव्यवस्था कायम गराउन पनि यो कार्य महत्वपूर्ण हुने मनरा गाउँका स्थानीय रामअशिष यादवले बताए । यहाँका नगर प्रमुख मोहन पाण्डे हुन् ।
 

टिप्पणीहरू