सिंहदरबारमा दिनभर शक्ति राष्ट्रका प्रतिनिधिहरुको ओहोरदोहोर

सिंहदरबारमा दिनभर शक्ति राष्ट्रका प्रतिनिधिहरुको ओहोरदोहोर

प्रधानमन्त्री तथा विभिन्न मन्त्रीहरुले आज विदेशी प्रतिनिधि तथा प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन् । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र, रक्षा र अर्थ मन्त्रालयमा विदेशी प्रतिनिधिहरु पुगेका हुन् ।

हिजोदेखि नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग युएसएडकी प्रशासक सामन्था पावरले आज दिउँसो साढे ३ बजे प्रधानमन्त्रीसँग भेट गरेकी हुन् । छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएको पावर नेतृत्वको टोलीले प्रधानमन्त्रीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गरेको बताइएको छ ।

सोही टोलीले त्यसअघि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेको थियो । बिहान साढे ११ बजेदेखि झण्डै एक घण्टा कुराकानी गरेको टोली त्यसपछि महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगेको हो । प्रधानमन्त्री र अर्थमन्त्रीसँगको भेटवार्तामा नेपालस्थित अमेरिकी राजदूतको पनि सहभागिता रहेको जानकारी दिइएको छ ।

आजै प्रधानमन्त्री दाहालसँग अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्तले भेट गरेका छन् । बिहान साढे ११ बजेको समयमा भएको उक्त भेटवार्ता पनि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको थियो । भेटमा आयुक्त जुट्टा उर्पिलानेनसहित युरोपेली युनियनका क्याबिनेट सदस्यहरु ओलाई भोइओन्मा र अर्टो भर्टेनेन पनि उपस्थित थिए ।

उता रक्षा मन्त्रालयमा रक्षामन्त्री हरिप्रसाद उप्रेती र बेलायतको कन्जरभेटिभ पार्टीका नेता तथा अन्तर्राष्ट्रिय सुरक्षा रणनीति मन्त्री एन्ड्रयू मुरिसनबीच भेटवार्ता भएको छ । दिउँसो भएको भेटवार्तामा बेलायती राजदूतको पनि उपस्थिति थियो । त्यसैगरी परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री विमला राई पौडेल र बेलायतको कन्जरभेटिभ पार्टीका नेता तथा अन्तर्राष्ट्रिय सुरक्षा रणनीति मन्त्री एन्ड्रयू मुरिसनबीच बिहानै भेट भएको थियो । उहाँहरुबीच बिहान साढे १० बजेदेखि झण्डै ४५ मीनेट छलफल भएको मन्त्रालय स्रोतले बताएको छ ।

सिंहदरबारमै आज सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता भएको छ । सभामुख देवराज घिमिरेसँग छलफल गर्न राजदूत छन सोङ बिहान ११ बजेको समयमा संसद सचिवालयस्थित सभामुखको निवासमा पुग्नुभएको हो । उहाँले आधा घण्टा कुराकानी गर्नुभएको थियो ।

आजै नेपाली काँग्रेका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिजावेथ भौकापेलेरबीच भेटवार्ता भएको छ । उहाँहरुबीच चप्पल कारखाना नजिकै रहेको देउवाको अस्थायी निवासमा भएको हो ।

 

टिप्पणीहरू