पुस्ताको सवाल, पुस्ताको ख्यालख्याल
कांग्रेसभित्र प्रजातन्त्र र कम्युनिष्टभित्र कम्युनिज्मको अपेक्षा जसले गर्छ त्यसले पीडा मात्रै पाउँछ । अहिले ती नाम ट्रेडमार्क हुन् । हामी जनता पनि अब विशुद्ध जनता रहेनाँै, बाजे पुस्ताको मूर्खताको गाली ठोक्ने विचारहीन पुत्ला बनेका छौँ ।
अबको पुस्ताको जिम्मेवारी भनेको बाजे पुस्ताले कब्जा गरेको राजनीतिक अधिकार विधिसम्मत आफ्नो पुस्तामा फिर्ता गरेर युवा जोश जाँगरमा देश विकासको मूल फुटाउनु हो । स्वाधीन आत्मनिर्णयको अधिकारसहित देश विकासमा दिलोज्यान दिएर लाग्नु हो । विडम्बना, त्यो बुझाइ उजागर हुन नसक्दा अनुमान के गर्न सकिन्छ भने यो पुस्ता पनि बाजेकै हरिकीर्तन गाएर बस्नेछ ।
बाजेको पुस्ता राणाकालविरुद्ध लडे । बाको पुस्ता पञ्चायतविरुद्ध लड्यो, म संसदीय राजतन्त्रविरुद्ध लडेँ । लड्नु, विद्रोह गर्नु मात्रै भयो, शासनसत्ता परिवर्तन हुँदैमा केही फरक नपर्दोरहेछ भन्ने कुरा ०४७ पछिको स्थितिले प्रष्ट पारेको छ । ०४७ मा भित्रिएको संसदीय व्यवस्थाकैविरुद्ध हतियार उठाएर उही संसदीय खेलोमा रमाएकाहरूको सत्तालिप्साले परिवर्तन फगत रहेछ भन्ने देखाइदियो ।
जनयुद्धको मूल्य–मान्यतालाई तिलाञ्जली दिएर संसदीय व्यवस्थामा लिप्त कमरेडले हिजो उनका लागि मर्न तयार भएर हतियार भिरेकाहरूलाई यसरी पाखा लगाउलान् ? सोचिएको थिएन । अवसरवादीले गर्ने भनेकै ‘ताक परे तिवारी नत्र गोतामे’ त रहेछ नि !
म किशोर हुँदा ३० वर्षे पञ्चायती व्यवस्था ठ्याक्कै ढलेको थियो । त्यो व्यवस्था किन ढल्यो ? त्यसका ऐतिहासिक, सामरिक, भूराजनीतिक कारणहरूको समीक्षा गर्न नपाउँदै एकपछि अर्का ज्वारभाटा र आँधी व्यहोरियो । ती आँधी र ज्वारभाटा कुनै राजनीतिक थिए, कुनै प्राकृतिक । मूलतः ती राजनीतिक नेतृत्वको मानवताविरोधी आपराधिक मानसिकताका कारण मेरो पुस्तामाथि थोपरिएका थिए ।
त्यो पुस्ताका गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सहाना प्रधान र मनमोहन अधिकारीजस्ता सापेक्ष इमान्दार नेतृत्वलाई राजनीतिक रूपमा पाखा लगाइयो र मदन भण्डारीजस्तो भिजनरी नेतृत्वको षड्यन्त्रपूर्वक हत्या गरियो ।
स्पष्ट बहुमत हुँदाहुँदै गिरिजाप्रसाद कोइरालाले आफ्नो सरकार ढाले । राजनीतिक अस्थिरता र भ्रष्टाचारको संस्थागत बिउ रोपे र त्यसलाई उनकै पार्टीका शेरबहादुर देउवालगायतको टोलीले अर्को रूपमा निरन्तरता दिए । कांग्रेसभित्रको अन्तरविरोधबाट फाइदा उठाउँदै अल्पमतको पहिलो वामपन्थी सरकार निर्माण गरेको एमाले देशभरि गैरसरकारी संस्थाहरूको जालो फैलाउँदै आफ्नो नयाँ शासकवर्ग निर्माण गर्न थाल्यो र कांग्रेस–एमाले दुवैको कमजोरीबाट भित्रभित्रै उकुस–मुकुस जनताको विद्रोही चेतलाई संगठित गर्दै डा. बाबुराम भट्टराईलगायतको टिम सशस्त्र संघर्षको तयारीमा लाग्यो ।
युवा उमेरमा प्रवेश गर्दै गर्दा एक्काइसौं शताब्दीको पहिलो दशकको मध्यतिर निरंकुश राजतन्त्र र दशवर्षे गृहयुद्ध दुवैविरुद्ध शान्ति र लोकतन्त्रको झण्डा समातियो । पहिलो दशकभित्रै फेरि लोकतन्त्र र शान्तिको मार्ग संस्थागत गरेर न्याय र समृद्धिको यात्रा गर्ने मेरो पुस्ताको सपना पूरा भएन ।
एक्काइसौं शताब्दीको तेस्रो दशक विश्वमानव समुदायका लागि चुनौतीपूर्ण भएर आएको छ । पहिलो चार महिना नबित्दै विश्वभरि फैलिएको कोभिड १९ नामक महामारीको संक्रमणबाट ५ लाख बढीले ज्यान गुमाएका छन् । महामारीबाट देश प्रभावित भइरहेका बेला विश्व स्वास्थ्य संगठनको मापदण्डसमेत उल्लंघन गरेर बाजेहरू सत्ता टिकाउने र गिराउने खेलमा छन् ।
शासकहरू महामारीविरुद्ध लड्ने अत्यावश्यक मेडिकल सामग्रीमा भ्रष्टाचार गर्छन्, आफ्नो शासन लम्ब्याउन र जोगाउन राजनीतिक अपहरणहरू गर्छन् । तर, सर्वसाधारणको अवस्थाबारे चिन्ता गर्दैनन् । युद्ध, भोकमरी, भूकम्प र महामारीलाई समेत आफ्नो राजनीतिक दुनो सोझ्याउने माध्यम बनाउनुभन्दा चरम मानवताविरोधी अपराध अरू के हुन सक्ला ?
विश्वले र मेरो देशले पनि उपयुक्त समयमा पछिल्लो महामारीविरुद्ध अवश्य विजय हासिल गर्ला तर यो राजनीतिक अपराध वा नेताको मानसिकताभित्रको मानवताविरोधी अपराधका शृंखलाबाट कसरी मुक्त होला ? हामीले ३० वर्षयता व्यहोरिरहेका राजनीतिक भाइरस नियन्त्रण गर्ने भ्याक्सिनको पनि अनुसन्धान गर्नुपर्ने छ ।
अनि मात्रै यो अँध्यारोपछि अर्को पुस्तालाई सुनौलो बिहान आउनेछ । सुनौलो बिहानीको लागि युवा सडकमा होइन, नीति–नियम र पद्धतिमा सहभागी नभईकन देश विकास सम्भव नै छैन । व्यक्तिलाई होइन, नीतिलाई आत्मसात् गरौं । समृद्धि हाम्रो पालामा पनि सम्भव छ कि ?
टिप्पणीहरू