उमेर हेरेर सेनापति छान्ने हो र !
प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रभुराम शर्मालाई रथी दर्जामा पदोन्नतिको सिफारिससँगै आफ्नो उत्तराधिकारी निर्धारण गरेका छन् ।
अब उनै रथी शर्माले दोस्रो र तेस्रो वरियताको बलाध्यक्ष र बलाधिकृतको दुवै दायित्व पनि निर्वाह गर्नेछन् । नातेदार भनिएका र अवकाशको संघारमा रहेका उपरथी राजेन्द्र कार्कीलाई तीनतारे बनाउन ईश्वर हमाललाई रथीमा पदोन्नति गर्दैनन् भनेर खेदो खन्नेहरुको मुखमा थापाले बुझो लगाइदिए । सिरियाको फोर्स कमाण्डरमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धाबाट छनौट भएका ईश्वर पदोन्नति भए पनि रथीको फुली नै नलगाई गएकाले थापालाई बाँकी कार्यकाल हमालको क्षमता र अनुभवको अभाव खड्किने नै छ ।
थापाको कार्यकालमा भएका सुधारका कार्यहरु प्रशंसायोग्य रहेको सुनिँदै आएको छ । हिरो हुनका लागि सस्तो लोकप्रियतावादी कार्यमा लागेको भन्नेहरुको पनि कमि देखिँदैन ।
सेनालाई शुद्धिकरण र सुदृढिकरण गर्ने थापाको भिजनमा प्रभुराम शर्माले युद्धनिर्देशक र सम्भाररथी रहँदा गरेका कार्यहरु तथा त्यसबीचमा प्राप्त विभिन्न जिम्मेवारी निर्वाह गर्दाको नेतृत्व क्षमतामा समकक्षी र जुनियर अधिकृतहरु विश्वस्त हुनसक्ने अवस्था छैन भनेर कानेखुशी शुरु भइसकेको छ । भिजन दिनसक्ने क्षमताको कमि हो कि वा समस्याको जरोमा पुग्ने भन्दा पनि सतही प्रतिक्रिया दिने, ‘चलेगा’ भन्ने मानसिकताका कारण थापाले शुरु गरेको सुधारात्मक कार्यले निरन्तरता पाउनेमा विश्वस्त हुने ठाउँ छैन भन्नेहरु सेनामा धेरै छन् । प्रभुरामले पूर्णचन्द्रको जस्तो पूर्णता र दृढता प्रदर्शन गर्न इच्छाशक्ति सहितको सकेनन् वा आफ्नो नाम गुनाको ‘प्रभु शरणम्’ वा ‘रामभरोसे’ दर्शनको अनुशरण गरे भने सुधारात्मक कार्यको निरन्तरता होइन कि पुराना विकृतिको पुनराबृत्ति सुनिश्चित छ । किनकी, सेनाको उच्च तहमा अझै पनि परम्परावादी व्यावसायिकताभन्दा पनि मालिक र शोषक प्रबृत्ति बाँकी नै छ ।
प्रधान सेनापति हुने क्रममा रहेका शर्माले आफ्नो अफिसमा बाहुन थरका अधिकृतहरु जम्मा गर्न थालेको सुनिएको छ । युद्धनिर्देशक हुँदा मेडल सिफारिस गर्ने समितिको अध्यक्ष प्रभुराम शर्मालाई अष्ट्रेलियन छोरीको बिहेमा खसी, बोका, बंगुर र बँदेल आदि बुझाउने पुरानो गोरखका गणपति र सुबेदार मेजर दुबैले नेपाल सरकारबाट बिभूषण प्राप्त गर्नु संयोग मात्रै होइन । यसैगरी नेपाल घुम्न आएका छोरीहरुको रारा ताल यात्रामा प्रयोग गरेको सैनिक स्रोतसाधनले उनले भोलि लिने बाटो स्पष्ट देखाउँछ । सम्भाररथी नियुक्त भएपछि फसिने हो कि भनेर बजेट पनि खर्च गर्न नसकेको दृष्टान्तले असक्षमता अझ स्पष्ट पार्दछ । सम्भाररथीको जिम्मेवारी आफूलाई अब्बल सावित गर्ने अवसर हो भन्ने पक्षलाई उनले आत्मसात गर्नै सकेनन् ।
विगतमा प्रधान सेनापतिको दर्शन र दिशामा विचलन वा परिवर्तन ल्याउने गलत परिपाटी सैनिक श्रीमती संघमार्फत संस्थागत हुने गरेको थियो । प्रभुरामले पनि पत्नी सुनीता (रानी सा’ब) लाई नेपथ्यबाट प्रयोग गर्ने गरेको आरोप छ । युद्धनिर्देशक हुँदा फास्ट ट्रयाकको व्यवस्थापन, सम्भाररथी हुँदा ठेक्का र कमिशन निर्धारणमा सेनाकै केही अधिकृत र ठेकेदारहरुसँग सुनीता रानी सा’बमार्फत सम्बन्ध विस्तार हुने गरेको बुझिएको छ । श्रीमति, परिवार र आसेपासेका महत्वाकांक्षाले गर्दा राजेन्द्र क्षेत्रीको हविगतबाट रथी प्रभुराम शर्माले अहिले नै सिक्न नसक्नुको पीडा नेपाली सेनाले उनको कार्यकालमा र अवकाशपछि उनी आफैंले भोग्नुपर्ने छ ।
पुरानो गोरखका पूर्वसेनापति गौरवसमशेर राणाको सनक र हस्तक्षेपका कारण राणा हावी हुने सम्भावनाले गर्दा प्रभुरामले प्लाटुन कमाण्डरकै तहको जिम्मेवारी निभाउने अवसर पनि पाउने हुन् वा होइनन्, भविष्यकै गर्भमा छ । उमेरको आधारमा सेनापति छनौट गर्ने अहिलेको व्यवस्थाको बेफाइदा यही नै हो ।
सैनिक ऐनले भावी सेनापति वर्तमान प्रधान सेनापतिको सिफारिसमा नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था गरेको छ । सेनापति थापालाई पनि आफ्नो उत्तराधिकारी को हुने भन्ने छनौटको विकल्प बिदा बस्ने अन्तिम दिनसम्म पनि रहनेछ । थापाले बुझ्नुपर्ने कुरा के हो भने थालिएका सुधारका प्रयासले मात्रै सेनाका विकृतिहरु एकैपटक सकिँदैनन् ।
– नेपाल र नेपाली सेनाको भलो चाहने चन्द्र स्याङ्तान
टिप्पणीहरू