मिर्गौला जोगाउनेतिर बल गरौं मान्छेहरू
कहाँ सधैँ एकनासको हुन्छ र समयको गति ? जे नहोस् भन्यो त्यही भइदिन्छ । सरल, इमान्दार, शिक्षासेवी चिन्तामणि पोखरेल, मेरो पिताजी । निजगढ बारास्थित गौरीशंकर उच्च माविमा लामो समय प्राध्यापन गर्नुभयो । सयौँ विद्यार्थी आज देश, विदेशमा छन् । अरूलाई शिक्षाको उज्यालो देखाउँदा देखाउँदै उहाँ र हाम्रो जीवनमा औँसीको कालरात्रि आइलाग्यो ।
भन्छन् नि, मान्छे जे कुराबाट भाग्छ त्यहीँ गएर ठोकिन्छ । सबैलाई हुन्छ रोगको भय । त्यही भयले गाँजीछाड्यो पिताजीलाई र ढाल्यो नराम्ररी । मिर्गाैला रोगले सताएपछि शिक्षण पेशा छाड्नुभयो । जागिर छाड्दा ५७ वर्षको हुनुहुन्थ्यो । त्यतिखेर मिर्गाैला रोगको उपचार अत्यन्त कष्टकर र महँगो थियो । एक पटक रक्त शुद्धीकरण गर्दा निजी अस्पतालले तीन हजार र सरकारीले १५ सयसम्म लिन्थे । ०६२ देखि ०७२ सम्म नियमित मिर्गाैलाको उपचार गर्दा भएभरको सम्पत्ति सक्कियो । सिमित पेन्सनले कता–कता मात्र टाल्नु ? झण्डै ३५ लाख खर्चेर पनि बचाउन सकिएन । उहाँले छाडेर जानुभएको पनि सात वर्ष बितिसकेछ ।
रोगले असाध्य गालेको समयमा उहाँ आफूजस्तै पीडित मिर्गाैला रोगीको उपचार निःशुल्क हुनुपर्ने मागसहित सरकार र राज्यलाई झक्झकाउन थाल्नुभयो । कहाँ मात्र पुग्नुभएन ? कसलाई मात्र भेट्नुभएन ? मन्त्री, सचिव, दलका नेता तथा सरोकारवाला संघसंस्थालाई गुहार्दा गुहार्दा एक कानले सुन्ने र अर्काे कानले उडाए सरोकारवालाहरूले ।
एक थुकी सुकी, सयौं थुकी नदी भन्छन् । एक्लैले बोलेको आवाजलाई राज्यले नसुनेको महसुस भएपछि आफूजस्तै पीडितहरू भेला पारेर ०६८ साल माघ २४ मा जन्माउनुभएको हो, राष्ट्रिय मिर्गाैला रोग पीडित संघ नेपाल । अध्यक्षको भूमिकामा आफैं हुनुहुन्थ्यो । संस्थाको एउटै र पवित्र उद्देश्य थियो, सबैका लागि निःशुल्क उपचार । उहाँले जीवन र मृत्युको दोसाँधमा छट्पटिँदा नियमित पाँच वर्षसम्म डायलाइसिस गर्नुभयो । लाखौं रकम सकिँदा पनि उहाँको ज्यान जोगाउन सकिएन ।
कम्तीमा १० प्रतिशत अर्थात् करिब ३० लाख नेपाली कुनै न कुनै रूपमा मिर्गाैलाको समस्या भोगिरहेका छन् ।
०७१ सालको जेठमा रत्नपार्क शान्तिबाटिकामा ५४ दिनसम्म मिर्गाैला रोगी र पीडितहरू अनशन बसे सातसूत्रीय माग अगाडि सारेर । मिर्गाैलारोगीलाई निःशुल्क रक्त शुद्धीकरण सेवा र आर्थिक अवस्था कमजोर भएकालाई प्रत्यारोपण र निःशुल्क औषधोपचारको व्यवस्था हुनुपर्ने हाम्रो माग थियो । रोग लागेपछि काम गर्न नसक्ने र परिवारकै बोझ बनेर बाँच्नुपर्ने स्थिति बन्यो । ऊसँगै आश्रित परिवार छ भने त उठिबास नै लाग्ने भयो । मिर्गाैलारोगीको उपचार निःशुल्क हुनुपर्ने पीडितको माग थियो । तर, अनशनकै क्रममा बसेका तीन जना मिर्गाैलारोगी श्याम खड्गी, श्याम खत्री र नातीभाइ डंगोलले ज्यान गुमाए । आफूजस्तै मिर्गाैला पीडितको हकहितका लागि लड्दा लड्दै उहाँ पनि बित्नुभयो ०७२ भदौमा ।
संस्था जन्माउनु ठूलो कुरा थिएन । त्यसको निरन्तरता, क्रियाशीलता सबैभन्दा कष्टकर विषय हो । निरन्तरको लडाइँ र संघर्षपछि मिर्गाैला रोगीलाई ५० हजार मात्र दिँदै आएकोमा १ वर्षबाट बढाएर २ वर्षसम्म अर्थात् २०८ पटक निःशुल्क डायलाइसिस र ३ लाख प्रत्यारोपणका लागि दिने निर्णय गर्यो सरकारले । यसअघि सातामा दुई पटक मात्र सरकारले निःशुल्क डायलासिस हुँदै आएकोमा कांग्रेस नेता गगन थापा स्वास्थ्यमन्त्री हुँदा सातामा ३ पटकसम्म दिने व्यवस्था प्रारम्भ भयो । ०७३ साल वैशाख २६ गते आफैँ मिर्गाैला पीडित केपी ओलीको क्याबिनेटले निःशुल्क डायलासिस सुविधा दिने निर्णय गरेको थियो । जीवनका उत्तरार्धमा उहाँ जे र जसका लागि लड्नुभयो । र, प्राप्त उपलब्धिलाई आफ्नै आँखाले देख्न पाउनुभएन तर निरन्तरको लडाइँ र संघर्षपछि पहिला राजधानी काठमाडौंमा ३ वटा रहेको डायलासिस सेन्टरमा अहिले ३५ वटा थपिएका छन् ।
पिताजीको अथक प्रयासले मिर्गाैलारोगीको हकहितका लागि खोलिएको संस्था मर्न दिनु त भएन । शरीरधारीको जन्म नै मर्नका लागि हो । मान्छे मरे पनि उसका विचार मर्दैनन् । बुवाको उपचारका लागि होस् वा सरोकारवाला निकायलाई झक्झक्याउनकै लागि किन नहोस्, उहाँ सँगै हिँड्थेँ । यसरी बुवासँगै हिँडेको र संस्थाको लागि निरन्तर लागिपरेको भन्दै ०७३ साउन १५ गते बसेको संस्थाको दोस्रो साधारणसभाले मलाई अध्यक्षमा चयन गर्यो । काँधमा जिम्मेवारी आइलागेपछि बुवाका अधुरा सपनालाई पूरा गर्न कम्मर कसेर होमिएँ ।
दुःख खेपिरहेका र गरिबीको रेखामुनि रहेका पीडितको निःशुल्क उपचार गराउने उद्देश्यले खोलिएको हो यो संस्था, यसले कति मिर्गाैला पीडितलाई अन द स्पट गच्छेअनुसार पैसा उठाएर सहयोग गरेको छ । आफ्नो पेशा व्यवसायबाट आर्जित केही रकमको अंश मिर्गाैला पीडितका लागि छुट्टाएर उनीहरूलाई भरथेक गर्दै आएको छु । मिर्गाैला रोगीहरूकै हकहितका लागि यसअघि भरतलाल श्रेष्ठको अग्रसरतामा संस्था खोलिएको हो तर त्यो संस्था धेरै अगाडि बढ्न सकेन । पछिल्लो समय अस्वस्थकर खानपानका कारण मिर्गाैला रोगले नेपालमा पनि भयावह रूप लिँदै गरेको देखिन्छ । अहिले कूल ३ करोड नेपाली जनसंख्या रहेकोमा कम्तीमा १० प्रतिशत अर्थात् करिब ३० लाख नेपाली कुनै न कुनै रूपमा मिर्गाैलाको समस्या भोगिरहेका छन् । त्यसमध्ये ३ लाखको मिर्गाैला नै बिग्रन थालेको र ३० हजारभन्दा बढी प्रत्येक वर्ष डायलाइसिस नपाए मर्ने अवस्थामा छन् ।
उच्च रक्तचाप, मधुमेहका बिरामी, बढी तौल, अस्वस्थ खानपान, बिनाव्यायामका जीवनशैलीले मिर्गाैला रोगीको संख्या प्रतिदिन बढ्दो छ । यसका अलावा जथाभावी दुःखाइ कम गर्न औषधिको अनियन्त्रित सेवन, कडा औषधिको अत्यधिक प्रयोगका कारण मिर्गाैला रोगी थपिइरहेका छन् । जसले पनि हान्ने भनेको कमजोर ठाउँमै हो । यस्तै रोगले सबैभन्दा पहिला हान्ने भनेको मिर्गाैलामै हो । त्यही कारण रोग लागिसकेपछि आत्तिनु र पछुताउनुभन्दा रोग लाग्न नदिनका लागि संयमित बनौँ । खानपिनमा सबैभन्दा बढी ध्यान दिऊँ । प्रत्येक व्यक्तिले पानी यथेष्ट पिउनु जरुरी छ । पानी यति पिउनुहोस् कि दैनिक कम्तीमा २ देखि ३ लिटर पिसाब फाल्न सक्नुहोस् । यदि त्यसो भएको खण्डमा मिर्गाैला रोग लाग्ने सम्भावना अलि कम हुन्छ । यस अलावा कम्तीमा हरेक दिन १० हजार पाइला हिँड्ने हो भने पनि यसले मिर्गाैलालाई रोग लाग्नबाट बचाउँछ भन्छन् चिकित्सक ।
जसरी मिर्गाैला रोगीले सम्झने एउटा नाम छ, डा ऋषिकुमार काफ्ले, जो १० वर्षको सरकारी जागिर छाडेर मिर्गाैलारोगीको सेवामा जीवन समर्पण गरिरहनुभएको छ । सबै सेवा अस्पतालभित्रै हुने गरी डायलासिस सेवा शुरु गर्ने उद्देश्यले ०५३ सालमा आफैँले राष्ट्रिय मिर्गौला उपचार केन्द्र स्थापना गरी सेवा दिइरहनुभएको छ । उसैगरी मिर्गाैला रोगीले सम्झने अर्को नाम हो, चिन्तामणि पोखरेल । मैले त पिताजीको पदचाप मात्र पछ्याइरहेको हुँ, अरू ठूलो केही गरेको होइन । दाल, भात खानका लागि सानो व्यवसाय गर्दै आएको छु । आफू र परिवारको पेट भरेर बचेको रकम मिर्गाैला रोगी र पीडितको उपचारमा खर्चंदै आएको छु । भन्छन् नि परोपकारमिदं शरीरम् । एक बारको जुनी अरूकै उपकार र परोपकारका लागि हो । जीवन भनेकै जसरी तसरी खुशी रहन प्रयास गर्ने हो । मलाई यही बाटोमा हिँड्दा खुशी मिल्छ ।
– समीरकुमार पोखरेल, अध्यक्ष, राष्ट्रिय मिर्गाैलापीडित संघ नेपाल, बानेश्वर
टिप्पणीहरू