फ्रान्स र रुसको भारत हडप्ने चाहना
नारायणबाबु थापा
अहिले हामी विश्वको ठूलो देश कुन हो भन्दा सहजै रुस हो भन्छौं । विश्वमा रहेका स–साना देश हैन, ठूलै भनिएका देशहरू अझ केही महादेशभन्दा पनि अजंगको भूगोल ओगटेको, पूर्वमा प्रशान्त महासागरको कामछट्स्कीदेखि पुरै एशिया छिचोल्दै, पश्चिममा बाल्टिक समुन्द्र सम्मको मानसचित्रमा फैलिएको रुसलाई देख्छौं । सोभियत संघबाट विभक्त भएर अलग अलग पन्ध्र देश बन्दा पनि रुसको विशाल भूगोल देख्दा कसरी बन्यो होला भन्ने तर्कना पनि गर्छौं । अचम्म लाग्ला, कुनै बेला रुस खासै अस्तित्वमा थिएन र हाम्रो देशभन्दा धेरै ठूलो पनि थिएन । हाम्रो बाइसे चौबिसेजस्तै विभक्त थियो विभिन्न राज्यमा अहिलेको रुस । कुनै पढाइलेखाइ, सैन्य प्रशिक्षण तथा कुलिन वंश नभएका, घाँसे मैदानमा जन्मिएका चंगेज खाले आफ्नो राज्य विस्तारको अभियानस्वरूप पूर्वमा प्रशान्त महासागर र पश्चिममा पोल्याण्डको फ्रण्टियरसम्म पाइला टेकेको अवस्थामा अहिलेको धेरै रुसी भूभाग मंगोलहरूकै अधिनस्थ थिए भने अहिलेको मस्कोजस्ता राज्य मंगोलकै शरणमा बाँचिरहेका थिए, यो १२४० तिरको कुरा हो । १४८० मा आएर रुसका शासक महान इभान तेश्रोले सैनिक तयारीका साथ मंगोलबाट फुत्किने अभियान शुरु गरे । कजान, अष्ताखान र क्रिमियाबाहेक मंगोल अधिनस्थ धेरै राज्यहरू लिन सफल भए । पछि उनको छोराको पालामा बाँकी राज्यहरू पनि मंगोल तातारहरूको पञ्जाबाट मुक्त गरे । नाति इभान द टेरिबल झनै सक्षम सावित भए । साम्राज्य विस्तारको अभियान अनुरूप करीव ४००० माइलको जंगल, नदी, पहाड आदिको कठिन यात्रा पार गर्दै रुसी सैनिक, ब्यापारी र खोजकर्ताहरू साइबेरिया पार गर्दै प्रशान्त तटसम्म पुग्न सफल भए अनि ती स्थानसम्म रुसी राज्य विस्तार हुन सक्यो ।
सत्रौँ शताब्दिमा आइपुग्दा रुसको आँखा भारततर्फ मोडियो । भारत हीराको भूमि हो भन्ने सबैतिर चर्चा थियो । सन १६७५ मै रुसी जार अलेक्सी मिखाइलोभिचले मुगल शासक और¨जेबसँग सम्बन्ध बढाउन टोलीहरू पठाएका थिए । पिटर द ग्रेटको शासनकालमा भारतमा धनसम्पत्ति र विश्व ब्यापारको प्रचुर सम्भावना छ भन्ने लागेर भारतलाई कसरी आफ्नोमा पार्न सकिन्छ भन्ने अभियानको रुचि बढ्न थाल्यो । यसैअनुरूप महान पिटरले पहिलो सैनिक अभियानअन्तर्गत करिब ४ हजार सैनिक भारततर्फ पठाए । तर, खिभाका शासक खानले जालसाजीपूर्ण तवरमा सैनिकहरूलाई अघि बढ्न त के कमाण्डर अलेक्ज्याण्डर बेकोभिचसहित फौजलाई क्रुरतम् तवरमा मारिदिए । जारसमक्ष यो धोखाधडीको खवर पुगे पनि स्वीडेन र टर्कीसँग युद्धको कारण बदला लिन सम्भव भएन । लामो समयसम्म भारतलाई कब्जामा लिने अभियानमा पूर्णविराम लाग्यो ।
१७२५ मा पिटर महानको इच्छा पूर्वमा इण्डिया र पश्चिम दक्षिणमा कन्सटेन्टिनेपोल जित्ने थियो । यी दुई महत्वपूर्ण स्थान रुसमा नपारुञ्जेल विश्राम नगर्न आफ्ना उत्तराधिकारीलाई भनेका थिए । रसियन रानी क्याथरिन ( १७२९–९६) ले फेरि भारततर्फको लक्ष्यलाई अघि बढाइन् जुन बेला ब्रिटिशहरूले विस्तारै भूगोल हासिल गरिरहेका थिए । रानीलाई १७९१ मा आएर प्रmान्सेली मोन्सिउर दे सेण्ट जेनीले बोखारा र काबुल हुँदै रुसी सैनिकलाई अघि बढाउन सल्लाह दिएका थिए तर सम्भव हुन सकेन । मंगोल साम्राज्यको अन्तिम बलियो अवशेष क्रिमिया भने लिन सफल भइन् । नेपोलियन जुन बेला फ्रान्सको शासन सत्तामा उक्लिएका पनि थिएनन् उनले पूर्वीय विश्वको बारेमा किताबहरू पढ्न र भन्न थाले कि मसँग सपना छ, म आफैं नयाँ धर्मको खोजमा छु र हात्ती चढेर एशिया प्रवेश गरी टाउकोमा फेटा र हातमा कुरान लिनेछु । यसरी १७९८ मा फ्रान्सको तुलों र मार्सेबाट सैनिकहरू जंगीबेडा चढेर पूर्वी मोहोडातर्फ अघि बढे । भारतका गभर्नर जनरल लर्डा वेलेज्जी र लण्डनलाई सनसनीपूर्ण खबर पुग्यो कि नेपोलियन ४० हजार फौजका साथ इजिप्ट आइपुगिसके । यसमा नेपोलियनको दुईवटा सोंच निस्कियो, सिरिया, टर्की, अफगानिस्तान र बलुचिस्तान हुँदै भारतमा पुग्ने कि रातो सागर भएर भारत उत्रने ! यसैबीच बेलायतका प्रसिद्ध एडमिरल होरासियो नेल्सन नेपोलियनलाई रोक्न अघि सरे । अगष्ट १७९८ मा अलेक्जाण्ड्रियास्थित नेपोलियनको बेडालाई ध्वस्त पारिदिए । बेलायतीबाट भारतलाई मुक्त गराउने नेपोलियनको सपनामा ठूलो धक्का लाग्न पुग्यो ।
सन १८०१ मा आएर रुसी जार पाउल प्रथमले नेपोलियनसमक्ष प्रस्ताव गरे कि दुवै देशका सैनिक भएर संयुक्त आक्रमण गर्ने र भारतलाई मुक्त तुल्याउने । डेन्युब, कालासागर, डोन, भोल्गा, क्यास्पियन सागर, अष्त्रावाद, पर्सिया, अफगानिस्तान भएर इन्दुस नदी पार गर्ने । यो योजना कठिन भएको कारण नेपोलियनले रुचि देखाएनन् । जार पाउलको योजनामा नेपोलियन सहमत नभएपछि रुसले मात्र अभियान अघि बढाउने योजना बनायो । करिब २२ हजार कजाक फौजलाई तालिम दिएर तयारी गरियो । उनीहरूलाई खिवा र बोखारा भएर इन्दुस पार गर्ने फौजी अपरेशन अर्डर दिइयो । हजारौं माइलको कठिन भूगोल पार गर्दै युराल समुन्द्रको नजिक पुग्दा फौजलाई खवर आयो कि जार पाउल दरबारभित्रै मारिए र उनको छोरा अलेक्जाण्डरले श्रीपेच पहिरिए । सँगै अघि बढेको फौजलाई पनि वापसीको आदेश जारी भयो । यसरी रुसको प्रत्यक्ष पहिलो भारत लिने अभियानमा बिराम लाग्न पुग्यो । नेपोलियनका एजेन्टहरू पर्सिया (हालको इरान) मा सक्रिय छन् भन्ने सूचना चुहियो । यसै अनुरूप गभर्नर जनरल वेलेज्जीले भर्खरको कप्तान जोन मालकोमलाई पर्सिया पठाए र त्यहाँका शासक शाहलाई मन्त्रणा गरे । ब्रिटिश इष्ट इण्डिया कम्पनी र पर्सियाबीच सन्धि गरियो । कुनै पनि फ्रान्सेलीलाई पर्सियामा पस्न नदिने र शाहले लामो दुश्मनी लिने अफगानिस्तानविरुद्ध युद्ध घोषणा गर्ने । यसै बेला रुसी जारले जर्जियालाई कब्जामा लिएको कारण पर्सिया सचेत र चिन्तित भयो । रुसी सेनाहरू तेहरानको नजिक आइपुगे । पर्सियाले ब्रिटिश सँग सन्धी अनुरूप सहयोगको याचना ग¥यो तर युरोपमा नेपोलियनको उदाउँदो शक्तिलाई कमजोर तुल्याउन त्यतिबेला रुस र बेलायत एकजुट भएको कारण शाहलाई बेलायतले कुनै सहयोग दिन सकेन ।
१८०४ मा नेपोलियनले पर्सियाका शाहसमक्ष प्रस्ताव राखे कि दुवै मिलेर रुसीहरूलाई धकेल्ने र पर्सियालाई पुल बनाएर भारतमा आक्रमण गर्ने । बेलायतले धोका दिएको कारण शाह नेपोलियनसँग नजिक भए । १८०७ मा दुवैबीच राजनीतिक र ब्यापारिक सहयोगको सन्धि भयो । फ्रान्सेली जनरल पर्सियामा बस्ने भए, तालिमहरू दिलाउने ब्यवस्था मिलाइयो र फ्रान्सेली सैनिकलाई भारततर्फ बढ्न सहजीकरण गर्दा ब्रिटिशहरूलाई झन चिन्ता बढाइदियो ।
पछिल्लो घटनाक्रमअनुसार रुस र फ्रान्सबीच सम्झौता भयो । फ्रान्सले पश्चिम र रुसले भारतसहित पूर्वी विश्वलाई लिने बारेमा । टर्कीको कन्सटान्टिनेपोललाई दुवैले सेयर गरेर टर्की, पर्सिया हुँदै भारतमा आक्रमण गर्ने तयारीले फेरि बेलायत र भारतमा खतराको बादल मडारियो । यसैबीच सात वर्षपछि पुनः जोन मालकोमलाई ब्रिगेडियर बनाएर इरान पठाइयो । उनले शाहलाई धम्की दिए तर सहमतिमा ल्याउन मन्त्रणा गर्न सकेनन् । उपलब्धि नभएपछि भारत फिर्ता हुन बाध्य भए । बेलायतले प्रसिद्ध कूटनीतिज्ञ सर हारफोर्ड जोन्सलाई राजा जर्ज दोश्रोको पत्र, बहुमूल्य उपहारसहित पर्सिया पठायो ।
यसपटक भने शाह सहमत भए । मालकोम मेजर जनरलको रूपमा पुनः पर्सिया गए । यसरी दुई महाशक्तिबीच ग्रेट गेमको रिहर्शल प्रारम्भ भयो । जुनसुकै बेला रुसी र फ्रान्सेलीहको आक्रमण हुन सक्छ भनेर ब्रिटिश इण्डियाले ब्यापक तयारी गर्न थाल्यो । कठिन भूगोल, फराकिलो मरुभूमि, नाप नक्साको कुनै ब्यहोरा उपलब्ध नभएको अवस्थामा पश्चिमी भूगोलको ब्यापक जानकारी लिनको लागि भर्खरका क्याप्टेन चाल्र्स क्रिष्टी र लेफ्टिनेण्ट हेनरी पोटिंगरको टिम गोप्य जासुसी मिसन पूरा गर्न बम्बईबाट सानो पानी जहाजमा बलुचिस्तानको केलात उत्रियो । दुवैजना घोंडा ब्यापारीको बहानामा दुर्गम मरुभूमिको गाउँ नुस्की पुगे । क्रमशः
टिप्पणीहरू