कर्मचारीलाई खानेपानीमन्त्रीको सल्लाह : राजनीति गर्न मन लागे मेरो पार्टीमा आउनु
खानेपानीमन्त्री अब्दुल खानले खानेपानी संस्थानमा राजनीति नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । संस्थानको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्न पुगेका मन्त्रीले कार्यालयलाई राजनीतिक अखडा बनाइएकोमा रोष प्रकट गर्दै उक्त सल्लाह दिएका हुन् ।
सर्वसाधारणलाई खानेपानी उपलब्ध गराउनुपर्ने पवित्र भावना भएको संस्थानका कर्मचारीहरु उल्टै राजनीतिक अभियानमा व्यस्त भएकोमा उनले आफ्नो कार्यकालमा त्यसो नगर्न चेतावनी पनि दिएका छन् । उनले भने, ‘राजनीति गर्नु नै छ भने फिल्डमा आउनुस्, अरु पार्टीले दिएनन् भने मेरो पार्टीमा राम्रो स्थान दिन्छु ।’
उनको भनाई कर्मचारीले पार्टी र व्यक्तिका लागि नभएर खानेपानीको निम्ति आन्दोलन गर्नुपर्नेतर्फ लक्षित रहेको कार्यक्रममा सहभागी कर्मचारीहरुले बताए । मन्त्रीले खानेपानी संस्थानको निजीकरणको हल्लाप्रति असन्तुष्टी पनि जनाएका छन् ।
टिप्पणीहरू