उड्डयनमन्त्री किराँतीद्वारा हेलिकप्टर नचढ्ने घोषणा

उड्डयनमन्त्री किराँतीद्वारा हेलिकप्टर नचढ्ने घोषणा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय विपत र अति आवश्यक काम परेको अवस्थामा बाहेक अन्य प्रयोजनका लागि हेलिकप्टर नचढ्ने बताएका छन् । 

आफ्नो कार्यकालमा अत्यावश्यक काममा जाँदा बाहेक हेलिकप्टर नचढ्ने नीति लिएका मन्त्री किराँतीले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् । उनले जनतालाई हेलिकप्टर चार्टर नगरिदिन आग्रहसमेत गरेका छन् । 

सामाजिक कार्यका लागि जनताले हेलिकप्टर चार्टर गरिदिएपनि आफूले त्यसको प्रयोग नगरेको र अब पनि नगर्ने उनको भनाइ छ । उनले लेखेका छन्,‘देशको विभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागि जनताले आफैं हेलिकप्टर चार्टर गरेर निम्तो दिएपनि आजसम्म हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा गएका छैनौं ।’ 

हेलिकप्टर चढेर जाँदैमा खोलाखोल्सामा दुध नबग्ने र माटोमा सुन नफल्ने उल्लेख गर्दै पर्यटनमन्त्री किराँतीले ऋण काढेर हेलिकप्टर चार्टर नगर्न सबैलाई अनुरोध पनि गरेका छन् । 

अरुको देखासिकी नगर्न सुझाव दिँदै उनले भनेका छन्,‘घाँटी हेरेर हाड निलौं सामाजिक देखासिकी र विलासिताको अन्त्य गरौं ।’

टिप्पणीहरू