एमाले सरकार नछोडेको राप्रपा छानीछानी माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन झिक्दै

एमाले सरकार नछोडेको राप्रपा छानीछानी माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन झिक्दै

केन्द्रीय राजनीतिमा सत्ता समीकरण बदलिएसँगै सरकारबाट बाहिरिएको पूर्वपञ्चहरुको पार्टी राप्रपाले माओवादी नेतृत्वका दुइवटै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।   

राष्ट्रपतिमा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने माओवादी केन्द्रको निर्णयले सत्ता समीकरण भत्किएपछि प्रचण्ड नेतृत्वको संघीय सरकार छोडेको राप्रपाले बाग्मती र कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । राप्रपाले एमाले नेतृत्वको कोशी प्रदेश सरकार भने छोडेको छैन । 

आजमात्रै राप्रपाले माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सो पार्टीका कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् ।

प्रदेशसभा सदस्य शाहीले प्रदेश प्रमुख तिलक परियारसामु माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको बताइन् ।

राप्रपाले यसअघि नै बाग्मती प्रदेश सरकार छोडेको थियो । बाग्मतीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमरकट्टेल मुख्यमन्त्री छन् ।

टिप्पणीहरू