‘कोसी’ को विरोध वागमतीमा

‘कोसी’ को विरोध वागमतीमा

प्रदेश नम्बर १ लाई ‘कोसी’ प्रदेश नामाकरण गरिएको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरिएको छ । किराँत राई योयाख्याको केन्द्रीय कार्यालयको आह्वानमा कोटेश्वरस्थित महादेवस्थानमा कालो कपडा पहिरिएर र कालो कफन टाउकोमा बाँधेर आन्दोलन गरिएको बताइएको छ । 

संस्थाका महासचिव भीमराज राईको नेतृत्वमा भएको विरोध प्रदर्शनमा कोसी प्रदेश नामाकरण खारेज हुनुपर्ने माग गरिएको छ । ‘कोसी प्रदेश मुर्दावाद, किराँत प्रदेश जिन्दावाद’ लेखिएको ब्यानरसहित थालिएको आन्दोलनमा चार दर्जनको सहभागिता थियो । 

आन्दोलनकारीहरुले ‘फागुन १७ कालो दिन’, ‘कोसी प्रदेश मुर्दावाद’, ‘किराँत प्रदेश जिन्दावाद’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘इतिहास, भुगोल, सभ्यता र संस्कृतिको सम्मान गरौं’ लगायत नारा लगाएको बताइन्छ ।

टिप्पणीहरू