गाउँपालिकाद्वारा प्रोत्साहनको दाबी, नौटंकी देखाएको स्थानीयको आरोप
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले शिक्षक र विद्यार्थीलाई प्रोत्साहन गर्न नगद पुरस्कारको अभियान थालेको छ । शिक्षकलाई पढाउन र विद्यार्थीलाई पढ्नमा उत्प्रेरणा दिलाउने उद्देश्यले ‘शिक्षक तथा विद्यार्थी प्रोत्साहन कार्यक्रम’ थालिएको बताइएको छ ।
भुम्लु गाउँपालिका शिक्षा समितिको हिजोको बैठकले शैक्षिक सत्र २०७९ मा गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई उत्कृष्ट नतिजा ल्याउनेलाई एक लाख रुपैयाँसम्म नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
समितिले सबै विद्यालयलाई परिपत्र गर्दै भनेको छ, ‘शैक्षिक सत्र २०७९ को गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षामा सहभागी भई तोकिएको उत्कृष्ट नतिजा हासिल गर्न सफल शिक्षक र विद्यार्थीहरुलाई तपशिलबमोजिम प्रोत्साहन रकम पुरस्कृत गरिने जानकारी गराइन्छ ।’
‘ए प्लस’ ल्याउने एक छात्र र छात्रालाई एक–एक लाख रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै, विद्यालयगत औसत गणना गर्दा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षकलाई २५ हजार रुपैयाँ दिइने समितिले जनाइएको छ ।
यद्यपि, समितिले गरेको निर्णय यत्तिकै खेर जाने देखिएको छ । पालिकाभरका अधिकांश विद्यालयको शैक्षिक स्तर राम्रो नभएको स्थानीयको गुनासो छ । जनप्रतिनिधिहरुले विद्यार्थीको पढाइमा त्यति चासो नदिएको र विद्यालयमा पनि निगरानी नराखेकाले पढाइको गुणस्तर थप खस्किँदै गएको बताइन्छ ।
पालिकालाई राम्रो देखाउन समितिले नौटंकी गरेको एक स्थानीयले बताए । विद्यालयमा आफ्नोपन हेरेर दक्ष शिक्षकसमेत भर्ती नगरेको उनको आरोप छ । भुम्लुको सापिङ, सिम्थलीलगायत अन्य वडामा अध्ययनरत विद्यार्थीहरु आफ्नो नाम राम्रोसँग लेख्न पनि जान्दैनन् ।
‘छोराछोरी पाँच कक्षामा पढ्ने भइसके, अझै राम्ररी नाम लेख्न जान्दैनन् । अनि के पढे र शिक्षकले के पढाए भन्ने ?’, एक अभिभावकले गुनासो सुनाउँदै भने, ‘विद्यालयमा एउटा ढंगको शिक्षक छैनन् । गृहकार्य त दिन जान्दैनन् ।’
शिक्षकले दिएको गृहकार्यमा समेत अनेकन व्याकरणीय त्रुटीहरु भेटिँदा पनि सम्बन्धित निकायको ध्यान नगएको स्थानीयको आरोप छ । शिक्षकले आफ्ना छोराछोरीको भविष्यमाथि खेलबाड गरिरहेको उनीहरु बताउँछन् ।
भुम्लुबासीले देखावटी नाटक गर्नु भन्दा पनि विद्यालय अनुगमन गर्न माग गरेका छन् । विद्यार्थीलाई राम्रोसँग पढाउन र बुझाउन नसक्ने शिक्षकलाई तत्काल निष्काशन गर्नुपर्नेमा उनीहरुको जोड छ ।
टिप्पणीहरू