भेटघाटमा मन्त्रालय पुगेका भारतीय राजदूतसँग सञ्चारमन्त्रीको गुनासो
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटका क्रममा दुईपक्षीय हित र सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट सहयोग आदान प्रदानको विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । तर त्योभन्दा बढी समय मन्त्रीले आफ्नै जिल्लामा भारतीय सहयोगमा निर्माणाधीन केही आयोजनाबारे चासो राख्नुभएको बताइन्छ ।
मन्त्री शर्माले भारतीय ऋण सहयोगमा निर्माणाधीन विकास आयोजनामा भइरहेको ढिलाइप्रति भारत सरकारको ध्यानाकर्षण गराउने क्रममा घोराही–तुलसीपुर चार लेन सडक निर्माणमा भइरहेको ढिलाइप्रति विशेष चासो व्यक्त गर्नुभएको हो । उहाँले उक्त सडकमार्ग यथासक्य छिटो सम्पन्न गराउने कार्यमा भारत सरकारको सहयोगको अपेक्षा राखेको उल्लेख गर्नुभएको हो ।
भारतको एक्जिम बैङ्कको ऋण सहयोगमा निर्माणाधीन उक्त सडक तथ्य इन्जिनियरिङ कन्सल्टेन्सीले निर्माण जिम्मा लिएको हो । तर आयोजनामा आठ जना स्थानीय निर्माण व्यवसायी परिवर्तन भइसक्दा पनि प्रगति न्यून रहेको बताइन्छ ।
टिप्पणीहरू