परीक्षा केन्द्र सारेकोमा एमाले निकट विद्यार्थी रुष्ट
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पर्सि आइतबारदेखि सञ्चालन हुन गइरहेको स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र सार्ने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको निर्णयप्रति आपत्ति जनाएको छ ।
अनेरास्ववियुका उपाध्यक्ष समिरराज विष्टले आज विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनको परिणामले अत्तालिएर परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र सारेको आरोप लगाए । विद्यार्थीहरुलाई दुःख दिने नियतले यस्तो गरिएको उनको दाबी छ ।
विष्टले विज्ञप्तिमा भनेका छन्, ‘परीक्षा जस्तो संवेदनशील विषयमा परीक्षा नियन्त्रण कार्यालय गैरजिम्मेवार बन्नु अत्यन्तै खेदजनक छ । अनेरास्ववियु उक्त निर्णय यथाशिघ्र फिर्ता लिन परीक्षा नियन्त्रण कार्यालयसमक्ष जोडदार माग गर्दछ ।’
विद्यार्थीको जायज मागहरु सम्बोधन नभएमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवार स्वयं सम्बन्धित पक्ष हुने समेत उनीहरुले चेतावनी दिएका हुन् ।
यसअघि सत्तापक्षीय विद्यार्थी संगठनहरुले पनि संयुक्त विज्ञप्ति निकालेर परीक्षा केन्द्र सार्ने निर्णयको विरोध गरेका थिए ।
टिप्पणीहरू