दीर्घरोगीलाई सित्तैमा औषधी बाँड्दै सुनकोशी
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले दीर्घरोगका बिरामीहरुलाई निःशुल्क औषधी वितरण गर्ने भएको छ । दीर्घरोगीहरुलाई लक्षित गर्दै पालिकाले यस्तो कार्यक्रम ल्याएको हो ।
पालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले सुगर, प्रेसर, दम र मानसिक रोगका बिरामीहरुलाई पालिकाले निःशुल्क औषधी वितरण गर्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार गाउँपालिकाले सुनकोशी–५ सुनखानीबाट निःशुल्क औषधी वितरणको औपचारिक सुरुवात गरेको हो ।
अध्यक्ष तिमल्सिना, उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले संयुक्त रुपमा औषधी वितरणको शुभाराम्भ गरेका छन् । गाउँपालिकाले औषधी वितरणसँगै एक दिनको बृहत्त स्वास्थ्य शिविर समेत आयोजना गरेको हो ।
काठमाडौंको ह्याम्स अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य सेवाको पहुँच नपुगेको ग्रामीण समुदायलाई लक्षित गरेर वडा कार्यालयको भवनमा शिविर आयोजना गरिएको थियो । सार्वजनिक सूचना नै जारी गरेर पालिकाले दीर्घरोगीलाई वडामा निवेदन दिन आग्रह गरेको पालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले बताए । सोही आधारमा पालिकाभरिका ४ सयभन्दा बढीलाई अब पालिकाले निःशुल्क औषधी उपलब्ध गराउने उनको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले न्यूनतम एक हजारदेखि बढीमा २० हजार रुपैयाँसम्मको मासिक औषधी सेवन गर्ने बिरामी पालिकाभित्र रहेको जानकारी दिए । अन्य दीर्घरोगीले पछि पनि निवेदन दिएको हुनाले त्यसको निर्णयपछि मात्र उनीहरुलाई औषधी उपलब्ध गराउने स्वास्थ्य शाखा प्रमुख गोविन्द्र हायु बताउँछन् ।
गाउँपालिकाले नीति तथा कार्यक्रममा नै दिर्घरोगीहरुलाई निःशुल्क औषधी उपलब्ध गराउने नीति पास गरेको थियो । पालिकाले घर आँगनामा नै आफूले सेवन गरिरहेको औषधी उपलब्ध गराउँदा खुसी लागेको स्थानीय लालबहादुर थामीले बताए ।
यसअघि पालिकाले बृहत स्वास्थ्य शिविरमा स्त्री रोगको विशेषज्ञ सेवा, नाक, कान, घाँटीको विशेषज्ञ सेवालगायत प्रेसर, सुगर, दम र सामान्य चिकित्सक सेवा सञ्चालन गरेको थियो । सो शिविरबाट जम्मा २५२ जना लाभान्वित भएका छन् । तीमध्ये स्त्री रोगसम्बन्धी ५०, नाक, कान घाँटीसम्बन्धी ५१ र सुगर, प्रेसर, दम र सामान्य चिकित्सामा १५१ जनाले सेवा लिएका हुन् ।
त्यस्तै, ग्रामीण महिलाहरुको अल्ट्रासाउण्ड भिडयो एक्सरे सेवाको समेत सुरुवात गरिएको छ । पहिलो दिन ५ जना गर्भवती महिलाहरुले भिडियो एक्सरेको सेवा लिए ।
गाउँपालिकाले शिविरको अवसरमा स्थानीय देवीस्थान स्वास्थ्य चौकीलाई अक्सिजन कन्सनटे्रटर, कम्प्युटर सेट, अटोक्लेभलगायत विभिन्न सामाग्रीहरु हस्तान्तरण पनि गरेको छ ।
टिप्पणीहरू