कारवाही फुकुवा गर्ने काँग्रेसको निर्णय गोविन्दराजद्वारा खारेज

कारवाही फुकुवा गर्ने काँग्रेसको निर्णय गोविन्दराजद्वारा खारेज

पूर्वकाँग्रेस नेता गोविन्दराज जोशीले आफूमाथि कारबाही फुकुवा गर्ने नेपाली काँग्रेसको निर्णयलाई हास्यास्पद भनेका छन् । काँग्रेस कार्यसम्पादन समितिले आज लिएको कारबाही फिर्तालाई उनले जालझेलको संज्ञा दिएका हुन् । 

काँग्रेसको निर्णयलगत्तै प्रतिक्रिया दिएका उनले कारबाही फुकुवाको नाममा जनमतलाई दिग्भ्रमित पार्न खोजेको आरोप लगाएका छन् । ‘१०औँ हजार कार्यकर्ताको मतलाई बेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली काँग्रेसबाट कारबाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो, यो सरासर गलत हो । यसप्रति मेरो घोर आपत्ति छ’, उनले भनेका छन् ।  

यसअघि समस्या समाधानका निम्ति पटक–पटक प्रयास गर्दा पनि काँग्रेस नेतृत्वले बेवास्ता गरेको बताएका जोशीले अगाडि भनेका छन्, ‘सम्पूर्ण प्रयासका बाबजुद पनि वार्ताको वातावरण समेत नबनाउने, पार्टीमा सैद्धान्तिक विचलन ल्याउनेहरूबाट यसरी जनतालाई दिग्भ्रमित गर्ने गरिएको नर्णयको जति आलोचना गर्दा पनि कम हुन्छ ।’

काँग्रेसमा कुनैबेलाका प्रभावशाली मानिने जोशीले अहिले आफू सदस्य समेत नरहेकाले कारवाही फुकुवाको निर्णयको कुनै अर्थ नरहने समेत प्रष्ट पारे । 

काँग्रेसले बाटो बिराएपछि आफू शुद्धीकरण अभियानमा लागेको भन्दै उनले काँग्रेस केन्द्रीय समितिले त्यसलाई स्वीकार गर्नुपर्ने पनि बताए । उनले उपनिर्वाचनमा आफू चुप लागेर बस्ने र कतै पनि नखुल्ने समेत जानकारी दिएका छन् ।

टिप्पणीहरू