अन्तर्राष्ट्रिय नाकामा कोरोना परीक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट जोगिन आग्रह गरेको छ । केही दिनदेखि मुलुकमा कोरोना संक्रमण बढेपछि मन्त्रालयले सतर्क रहन आग्रह गरेको छ । छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सबीबी.१.१६.’ को संक्रमण फैलिएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न जरुरी रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सीमानाकाबाट आवतजावत गर्नेहरुलाई अनिवार्य कोरोना परीक्षण गर्न सूचित गराएको छ । शंकास्पद लक्षण भएका यात्रुलाई सीमानामा कोरोना परीक्षण गराउनुपर्ने उल्लेख गर्दै मन्त्रालयले नतिजा पोजिटिभ देखिएमा उपचारको व्यवस्थासमेत मिलाइएको जानकारी गराएको छ ।
‘सीमानाकाबाट आवतजावत गर्न शंकास्पद लक्षण भएका यात्रुहरुको सीमानाकाका हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीहरुबाट कोभिड–१९ परीक्षण गराई नतिजा पोजिटिभ भएमा आवश्यक परामर्श सेवाका साथै थप निदान तथा उपचार गर्नुपरेमा नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ’, आज जारी विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले संक्रमण बढ्दै गएकाले संवेदनशील भएर जनस्वास्थ्यका मापदण्ड पालना गर्न र सम्भावित जोखिमबाट बच्न पनि सम्पूर्णमा आग्रह गरेको छ ।
टिप्पणीहरू