सहकारी संस्थाहरु समस्याग्रस्त, माओवादी नेताहरु सहकारीकै छलफलमा व्यस्त
नेकपा माओवादी केन्द्रको केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले राष्ट्रिय भेलाको आयोजना गरेको छ । समृद्धका लागि सहकारीको नारासहित सहकारीकर्मीहरुको राष्ट्रिय भेला २०७९ को आयोजना गरिएको बताइएको छ ।
राजधानीको थापागाउँस्थित काठमाडौं ब्याङ्क्वेटमा आयोजित भेलामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथि बनाइएको छ । कार्यक्रम पार्टी स्थायी कमिटी सदस्य तथा केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका प्रमुख लीलामणि पोखरेलको अध्यक्षतमा बिहान पौने १० बजेदेखि शुरु भएको हो ।
कार्यक्रममा उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा, अर्का उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री तथा उपमहासचिव जनार्दन शर्मा, स्थायी कमिटी सदस्य शशी श्रेष्ठ, केन्द्रीय लेखा आयोग प्रमुख केशव खतिवडा, अखिल नेपाल किसान महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठलगायतको उपस्थितिमा कार्यक्रम भइरहेको छ ।
यता मुलुकभर धेरै वटा सहकारी संस्थाहरु समस्याग्रस्त हुँदा सर्वसाधारणको निक्षेप जोखिममा परेको छ । अरबौं रुपैयाँ जोखिममा परेकाले त्यसको असर मुलुकको अर्थतन्त्रमा पर्ने निश्चित छ ।
सर्वसाधारणको निक्षेपलाई सहकारी संस्थाहरुले जथाभावी जग्गा र सेयरमा लगानी गरेको, बिना धितो अध्यक्षलगायतले रकम अपचलन गरेपछि सहकारी संस्थाहरु अप्ठेरोमा परेका हुन् । यसअघि राजधानीकै सिभिल सहकारी, गौतम सहकारी र लालिगुराँस सहकारीलगायत धेरै वटा संस्थाका कारण सर्वसाधारणको अरबौं रुपैयाँ डुबिसकेको छ ।
टिप्पणीहरू