रवि लामिछानेविरुद्धको मुद्दा हरि फुयाल श्रीमानको इजलासमा

रवि लामिछानेविरुद्धको मुद्दा हरि फुयाल श्रीमानको इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेविरुद्धको मुद्दा आज न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ । सर्वोच्च अदालतको इजलास नम्बर ४ को पेसीसूचीमा लामिछानेविरुद्धको मुद्दा क्रमसंख्या ‘ज’ मा परेको हो ।

हिजो सर्वोच्च अदालतको ४ नम्बर इजलासमा परेको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको आदेशपछि हेर्न नमिल्ने भन्दै स्थगित भएको थियो । लामिछानेको दोहोरो राहदानी प्रकरणसँग सम्बन्धित रिट हेर्न हिजोको एकल इजलासले हेर्न नमिल्ने भनेको हो । उहाँले यसअघि संवैधानिक इजलासमा लामिछानेको नागरिकता विवादमा फैसला सुनाएकाले हेर्न नमिल्ने बताउनुभएको हो ।

लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा अघि नबढाउने भन्दै महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले गरेको यसअघिको निर्णय बदर गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट परेको हो । मुद्दा अधिवक्ता युवराज पौडेल ‘सफल’ ले दायर गरेका हुन् ।

आफ्नो रिट निवेदनमा सफलले राहदानी दुरुपयोगमा लामिछानेमाथि हदैसम्मको सजाय हुनुपर्नेमा चैत ६ गतेको निर्णयपछि उन्मुक्ति दिइएको उल्लेख गरेका छन् । महान्यायाधिवक्ताको उक्त निर्णय बदर गर्न सफलले माग गरेका हुन् ।

अदालतले गत माघ १३ गते दोहोरो नागरिकता सम्बन्धी मुद्दामा दिएको आदेशमा लामिछानेले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख छ । उक्त फैसलापछि लामिछानेको सांसद, मन्त्री, सभापति र संसदीय दलको नेताको पद गुमेको थियो ।

टिप्पणीहरू