किन बिक्छन् बाँदर नाचमा चटकेका गोली ?

किन बिक्छन् बाँदर नाचमा चटकेका गोली ?

एउटै गोली औषधिले गानो,  गोला,  ग्याष्टिक,  अल्सर,  माइग्रेन,  कब्जियत,  सुगर,  प्रेसरलाई मात्र होइन क्यान्सरसमेत चट्टै पार्छ भन्दै रत्नपार्कमा औषधि बेच्ने चटके भारतीय बिहारी थुप्रै देखिन्थ्ये । अहिले तिनीहरू विभिन्न शहरमा फैलिएका छन् । नेपालका अधिकांश शहर–बजार त्यस्ता चटकेले सखाप पारिसके । शहरमा बाँदरदेखि सर्पसम्म नचाएर चटकेहरू औषधिका गोली बेच्न तल्लीन देखिन्छन् । ‘एक गोलीसे सब ठीक हो जाएगा’ भनेर पटटट ट्याम्को बजाएको भरमा औषधि भन्दै ताइनतुइका गोली किन्नेहरू आजसम्म कसको कुन रोग निको भयो ? क्रेता कसैले भन्दैन । तापनि चटकेका औषधि बजारमा बिक्रीचाहिँ हुँदै आएको देखिन्छ । आखिर के छ चटकेको त्यस्तो जादुमा ? कस्ता भ्रमपूर्ण तरिकाले उसले औषधि बेच्दै आफ्नो धन्दालाई दिन दुई गुणा रात चौगुणा पार्ने गर्‍यो ? यसमा एउटै कुरा छ–सोझा नेपालीले चटकेलाई नचिन्नु र पूरा विश्वास गर्नु । 

नेपाली राजनीतिमा पनि केही समयदेखि चटकेको चटक बिक्री भएको देखिन्छ । जनैपूर्णिमाको दिन पशुपतिको गौशालामा निधारमा धर्के टीका लगाएर एक चाङ डोरो र जनै बेच्नेलाई वर्षमा एक दिन जनै लगाउनेले दामपैसा राखेर ढोग्दै आएको देखिन्छ । कुन सक्कली पण्डित,  कुन नक्कली कसैले हेर्दैन । बस् पशुपतिमा गएर जनै लाउन पाए भयो । तीन सय ६५ दिन ‘ममचा र कचिला पड्काउने बाहुन’लाई एक दिनचाहिँ जनै लगाएको फोटा फेसबुकमा हाल्नु छ । तसर्थ त्यस्ता प्रवृत्तिका मान्छे धेरै पशुपति पुग्छन् वर्षको एक दिन । शहरी बाहुनका यस्ता प्रवृत्ति थाहा पाएका एक दिने कमाउवाला बाउन (?) ले आफ्नो चटक देखाएर ठग्दै आए । अर्थात चटकले खायो । यत्रतत्र चटकेको बाहुल्यता बढ्यो ।

राजनीतिमा देखिएका चटके प्रवृत्ति र व्यक्तिले राजनीतिक मूल्य,  मान्यता,  दर्शन,  संस्कार र संस्कृति मात्र ध्वस्त पारेन,  पूरै समाजलाई भ्रमित,  भ्रष्ट र पतित पार्‍यो,  पार्दैछ । राजनीतिमा आउन कुनै राजनीतिक,  सामाजिक,  साँगठानिक एवम् सैद्धान्तिक आधार नभएका हुर्दुङ्गा,  उरन्ठेउला,  आवारा,  गैरजिम्मेवार,  ढोँगी,  स्वार्थी,  लोभी र सारमा पूरै चटके प्रवृत्ति अहिले अचानक मौलायो । रवि लामिछाने एउटा त्यस्ता पात्र,  प्रवृत्ति र व्यक्ति हुन् जो पाखण्डपूर्ण चटक बेच्दै खानको लागि राजनीतिमा आए । उनको नौटंकीका अनेकौं पर्दा विस्तारै खुल्दै छन् । वैशाख १० गतेको उपनिर्वाचन नजिक आउँदा उनका चटक बढे । राजनीतिक संघर्ष,  क्रान्तिमा भूमिका,  सामाजिक संघर्ष नभई एकै पटक गाली,  आलोचना र अन्यलाई आक्षेप लगाएको भरमा बिक्न र टिक्न खोज्ने ? के राजनीति हाँडीगाउँको जात्रा हो ? 

पाँचखालको आलुजस्तो नीति,  सोच,  प्रवृत्ति,  तरिका र दृष्टि काउलीमा हाल्दा आलुकाउली देखिने । तामामा हाल्दा आलुतामा देखिने । यस्तो गतिहीन,  नीतिहीन र दृष्टिकोणविहीन चटके सोचले युवालाई भ्रमित पार्‍यो । राजनीतिमा रवि आए । छ सिट जिते । संसदमा गए । मत पाए, जिते । तर यहाँ चासो समानुपातिकबाट १४ सिट पाएर राजनीतिलाई उनले चटक,  स्टन्ट,  पत्रु र पाखण्डीपूर्ण विषय बनाएर युवालाई भ्रमित पारे भन्ने मात्रै हो । पार्टी त दर्ता हुन्छन् । भोट माग्छन्, जित्छन् । केही बातको कुरै होइन । जसरी युवालाई भ्रष्ट,  भ्रमित र पथभ्रस्ट पार्दै राजनीतिक मूल्यबाट च्यूत पार्न खोजे त्यो मात्र चासो भयो । के राजनीति भनेको जस्तोसुकै हर्कत,  तरिका,  विधि,  झुट र वाहियात भ्रम फैल्याएर चुनाव जित्ने साधन मात्र हो ? चुनावदेखि चुनावसम्म मात्र राजनीति हो ? यो कदापि होइन,  हुनै सक्दैन ।

आखिर किन यस्तो हुन्छ ? किन बिक्छन् चटकेका गोली ? किन मूल्य,  संस्कार र आदर्शको राजनीतिप्रति नागरिकको पूर्ण एवम् अकाट्य समर्थन हुन सकेन र पाएन ? यस्ता अनेक सवाल आजको लोकतान्त्रिक गणतन्त्रमा आएको छ । जबसम्म नागरिकले गोली बेच्ने चटकेको औषधि किन्ने गर्छन् नेपाली राजनीतिमा देखिएका अनेकौं बिरामीले समाज झनझन थला पर्नेछ । रोग बढ्नेछ । चटकेको गोला किन्न बन्द गरेर भरपर्दाे अस्पताल र चिकित्सकलाई विश्वास नगरेसम्म रोग निको हुने अवस्थै हुन्न । 
 

टिप्पणीहरू