भाजपा नेता उताबाट आउने,आरजू राणा यताबाट जाने
नेपाली काँग्रेस नेतृ तथा सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा हतार हतार हिजो बिहान साढे १० बजे धनगढी पुग्नुको कारण खुलेको छ ।
सोही समयमा गौरीफन्टा नाका भएर भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले र भारतीय राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रचार विभाग प्रमुख सुनिल अम्बेकर गौरीफन्टा नाकाबाट धनगढीमा देखा पर्नुभएको थियो । उहाँहरुको स्वागतमा पूर्व प्रधानमन्त्री पत्नी काठमाण्डौबाट जानुभएको हो । आरजूले पति पछिल्लोपटक प्रधानमन्त्री हुँदा चौथाइवालेलाई रक्षा बन्धनको डोरो लगाइदिनुभएको थियो ।
धनगढीस्थित होटल रुबसमा अस्तिदेखि आयोजित तीन दिने नेपाल–भारत सम्मेलनमा भाग लिन चौथाइवाले र अम्बेकर त्यहाँ पुगेको बताइन्छ । दुई देशबीचको आन्तरिक सभ्यता र सांस्कृतिक सम्बन्धबारे आयोजित कार्यक्रममा भारतीय प्राध्यापक डा. अनुराधा गोस्वामीको पनि सहभागिता छ ।
कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मरराज जोशी,सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह,सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर देउवालगायत ५० जनाको सहभागिता रहेको जानकारी दिइएको छ ।
कार्यक्रम सुदूरपश्चिम विश्वविद्यालयको आयोजना, नेपाल–भारत सहयोग मञ्च, अन्तर्राष्ट्रिय सहयोग परिषद, महाकाली साहित्य संगमको सहआयोजनामा भएको हो ।
टिप्पणीहरू