ललितपुरका सहकारी सुरक्षित रहेको दाबी
ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सहकारी संस्थाहरुको वित्तीय अवस्था राम्रो रहेको बताएको छ । संघ र प्रदेशको नियमनमा रहेका संस्थाहरुको अवस्था भने खराब रहेको महानगर पदाधिकारीहरुको भनाइ छ ।
महानगरपालिकाभित्रका सहकारीहरुको प्रकृति तीन किसिमको रहेको बताइन्छ । पालिका,प्रदेश र संघ तीन तहका सरकारको मातहतका सहकारी भएकाले आफ्नो नियमनमा रहेका संस्थामा कुनै समस्या नभएको दाबी गरिएको छ । ‘हाम्रो नियमनमा रहेका सहरकारीमा कुनै समस्या छैन । महानगरभित्र कार्यक्षेत्र भएका सहकारीको नियमन हामीले गर्छौं,’ एक जना पदाधिकारीले भने ।
उनका अनुसार ललितपुरबाहेक अर्को स्थानीय तहमा पनि कार्यक्षेत्र भएका सहकारीको नियमन प्रदेशको र दुई वा दुईभन्दा बढी कार्यक्षेत्र भएकाको हकमा संघले नियमन गर्ने कानुनी व्यवस्था छ । अहिले समस्या देखिएका अधिकांश संस्था संघ र प्रदेश मातहतका हुन् ।
ललितपुर महानगरको नियमनमा रहेका ३१९ सहकारी सञ्चालनमा छन् । यसअघि नियम विपरितका १० वटा खारेज गरिएको बताइन्छ । समयमा कारोबार नगरेको र विवरण नबुझाएकालाई कारबाही गरिएको महानगरको भनाइ छ ।
गत चैतमा ३६ वटामाथि किन कारवाही नगर्ने ? भनेर सार्वजनिक सूचना जारी गरिएको छ । महानगरको कार्यक्षेत्रका सहकारीमा समस्या नहुनुलाई उसले आफ्नै ढंगले ब्याख्या गरेको छ । पछिल्लो छ वर्षमा नयाँ सहकारी स्थापनाको स्वीकृति नदिएको,कार्यक्षेत्र विस्तारको अनुमति नदिएको र सेवा केन्द्र थप गर्नसमेत नदिएकाले अन्यत्रको तुलनामा ललितपुरमा सहकारी संस्थाहरु सुरक्षित भएको दाबी गरिएको हो ।
टिप्पणीहरू