स्वर्णिम वाग्लेसहित एक दर्जन नेताको नागरिकता छानबिन गर्न गृह मन्त्रालयमा निवेदन

स्वर्णिम वाग्लेसहित एक दर्जन नेताको नागरिकता छानबिन गर्न गृह मन्त्रालयमा निवेदन

सर्वोच्च अदालतमा रिट हालेर रवि लामिछानेको सांसद र मन्त्री पद खुस्काइदिएका सिन्धुलीका युवराज सफलले विभिन्न राजनीतिक पार्टीमा क्रियाशील नेताहरुको नागरिकता छानबिन गर्न माग राख्दै गृह मन्त्रालयमा उजुरी हालेका छन् । 

हालै नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरि तनहुँ-१ बाट उपचुनाव लड्न लागेका डा. स्वर्णिम वाग्लेसहित एक दर्जन नेताको नागरिकताबारे प्रश्न उठेको भन्दै उनले आवश्यक छानबिनका लागि निवेदन दिएका हुन् । 

गृह मन्त्रालयमा दर्ता भएको निवेदनमा डा. वाग्ले, पूर्वउपराष्ट्रपति परमान्द झा, लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतो, काँग्रेस नेताहरु देवेन्द्रराज कँडेल, डा. मिनेन्द्र रिजाल, डा. नारायण खड्का, दिलेन्द्रप्रसाद बडु, सुजाता कोइरालाको नागरिकता छानविन गर्न माग गरिएको छ । 

त्यस्तै, भरतपुर महानगरका मेयर रेणु दाहाल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री गङ्गा दाहाल, पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला र सरिता गिरीको नागरिकता पनि जाँचबुझ गर्न भनिएको छ । 

उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गरी उनीहरुसँग भएको विदेशी ग्रिन कार्ड एंव नागरिकताको छानबिन गरिनुपर्ने युवराजको माग छ ।

टिप्पणीहरू