बाग्मती सफाइ : एक हर्षको कहानी
मानिसले धैर्य गर्यो र इच्छाशक्ति देखायो भने ढिलै भए पनि सफलता पाइन्छ भन्ने उदाहरण बाग्मती नदीको सरसफाईबाट लिन सकिन्छ । काठमाडौंको पवित्र नदी मानिने बाग्मतीको संरक्षण, सम्बद्र्धन तथा पुनःजीवनप्रतिको चासो र उपलब्धिले यस्तै वास्तविकतालाई देखाएको छ ।
बाग्मतीलाई उपत्यकाको सभ्यतासँग जोडेर हेर्ने गरिन्छ । तर, बढ्दो जनसंख्या र अव्यवस्थित शहरीकरणले बाग्मतीको संरक्षणमा चुनौती थपिदिएको छ । यसैबीच जनआस्थाकर्मीले बाग्मतीमा भएका चुनौती र उपलब्धिबारे ‘फिल्ड रिपोर्टिङ्ग’ गरेको छ । सो क्रममा भेटिएका तथ्यहरु निकै रोचक देखिन्छन् ।
बाग्मती प्रदुषित हुने क्रम बढेपछि २०५१ सालमा बाग्मती एकीकृत सभ्यता विकास आयोजना स्थापना भयो । आयोजनाले बाग्मती सरसफाइ र सौन्दर्यकरणको निम्ति काम गर्दै आएको छ ।
वर्षौंको लगानी र मिहेनत पश्चात् बाग्मतीको उत्थानमा सन्तोष गर्ने अवस्था आएको हो । यद्यपि, यसलाई सतहबाटै सफा गर्ने प्रयास भइरहेका छन् । बाग्मतीको सरसफाइदेखि पुरानो सौन्दर्य कायम गर्न आयोजनाले जोडदार पहल गरिरहेको छ । योसँगै व्यवस्थित किनार, एकनासको पानीको सतह र बहाव, नदीमा फोहोर फाल्न नहुने संस्कारको विकासलगायतका कामलाई पनि प्राथमिकतामा राखिएको छ ।
हालसम्म नदीबाट २० हजार टन फोहोर निकालिएको छ । आयोजनाका निर्देशक रविन्द्र बोहोराका अनुसार बाग्मतीको सभ्यताको प्रवद्र्धनलगायतका काममा यो वर्षसम्म १८ अर्ब रुपैयाँ खर्च भइसकेको छ । उक्त कार्यमा वार्षिक ६५ करोड रुपैयाँ खर्च हुने गरेको उनले जानकारी दिए ।
‘बाग्मतीमा पूर्ण सफा पानी बगाउन नसकिए पनि बाग्मतीलगायत सहायक नदीको दुवै किनारमा ३० किलोमिटर सडक कालोपत्र, ७२ किलोमिटर नदी तटबन्ध, ८८ किलोमिटर फोहोर बगाउने पाइप हालिएको छ’, उनले भने, ‘एडीबीको सहयोगमा १२५ किलोमिटर नदीको सौन्दर्यकरण, थापाथली पुलदेखि टेकु दोभानसम्म २८ वटा मठमन्दिर, सतल, देवल, धर्मशाला आदिको निर्माण भएको छ । त्यस्तै, सन् २००९ देखि २०१४ सम्म र २०७५ देखि बाग्मती एक्सन प्लान थालेका छौं ।’
बाग्मती क्षेत्रमै पर्ने टुकुचास्थित कालमोचन घाटमा ढल प्रशोधन केन्द्र निर्माणको काम अघि बढेको उनले जानकारी दिए । यसले ढललाई प्रशोधन गर्नेछ, त्यसपछि फोहोर नदीमा जान पाउँदैन । यस्तै, सिद्धपुरमाथिको गोकर्णश्वरमा रहेको कामख्या धाममा हिउँ पगालेर बाग्मतीको पानीमा बहाव छाड्ने तयारी छ ।
बाग्मती नदी सोझै मानव जीवनसँग जोडिएको छ । हरेक शनिबार नदी सरसफाइ गर्दै आइएको छ । सरसफाइ गर्न थालेको ५१७ हप्ता बितिसकेको छ । नेपाल सरकारका तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले बाग्मती सरसफाइको थालनी गरेका थिए । उनको नेतृत्व थालिएको अभियानमा धेरै अभियन्ता जोडिएका छन् । एक सयभन्दा बढी सहभागीका कारण यस अभियानले सार्थकता पाइरहेको छ । २० लाख बढी जनसंख्या भएको काठमाडौंको नदीमा सय जनाले सफा गरेर धेरै उपलब्धि पाउनु ठूलो कुरा भएको बताइन्छ ।
तत्कालीन मुख्यसचिव पौडेलको प्रयासले धेरैमा आशा जगाएको छ । उनले त्यतिबेला तत्कालीन राष्ट्रपति रामवरण यादवलाई बाग्मतीमा नुहाउन प्रस्तावसमेत गरेका थिए । उनले भावनामा बगेर भनेका थिए, ‘शिवरात्री आउँदै छ । हामी बाग्मतीमा नुहाएर पशुपतिनाथ मन्दिर दर्शन गर्न जानुपर्छ ।’ त्यसपछि एक साताका लागि बाग्मतीमा बग्ने ढलका पाइपहरु थामथुम पारिएको थियो ।
बाग्मती धर्म, संस्कार र संस्कृतिसँग जोडिएको छ । यसको स्वच्छता र पवित्रताबाट हामीले धेरै कुरा सिक्न सक्छौं । हरेक वर्ष कात्तिक महिनामा पर्ने छठ पर्वमा समेत त्यहाँ नुहाउन सक्ने अवस्था छैन् । बिहान बेलुकी अर्घ दिन नदीमा उभिनेहरु घरबाटै नुहाएर जानुपर्ने बाध्यता छ । आयोजनाका अनुसार बाग्मतीको सरसफाइ कार्यमा सुकुम्बासीहरु सबैभन्दा ठूलो अवरोध बनेका छन् । नदी किनारमा टहरा हालेर बसेकाले आयोजनालाई सरसफाइ अभियानमा अप्ठ्यारो परेको छ ।
नदी किनारमा सडक बनाउँदा अधिग्रहण भएपछि अहिलेसम्म ६ सय रोपनीको मुआब्जा दिइसकिएको छ । गोकर्णदेखि सिनामंगलसम्म १८८ रोपनीको जग्गा दिन सकिएको छैन् । उनीहरुसँग लालपूर्जा नभएको तर भोगचल भएकाले उक्त अवस्था उत्पन्न भएको हो । हाल ती जग्गामा नदी बगिरहेको छ ।
बाग्मतीबाट सरसफाइ शुरु गरेपछि अन्यले पनि यसको सिको गरेका छन् । अन्य नदी पनि क्रमिक रुपमा सफा हुने क्रममा छ । विष्णुमती, मनोहरा पनि स्वच्छ र सफा बनाउन सरसफाइ अभियान थालिएको छ । बाग्मती सफा हुन थालेको फाइदा अन्य नदीले पनि लिएका छन् ।
कुनै बेला यी नदी स्वतन्त्र थिए । अहिलेझैँ अतिक्रमणको शिकार भएका थिएनन् । नदीहरु निकै पवित्र थिए । तर, लामो समयपछि उपत्यकाका नदीहरु सफा हुने क्रममा छन् । वि.सं. २०३० सालतिर झैँ नदीहरु स्वच्छ होस् भन्ने उद्देश्यका साथ आयोजना अघि बढिरहेको बताइन्छ । ‘जहाँ माछा हेर्न सकियोस्, जलविहारको वातावरण बनोस्,’ एक जना अभियानकर्मीले भने ।
टिप्पणीहरू