संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विरोधमा भोलि ‘खबरदारी सभा’

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विरोधमा भोलि ‘खबरदारी सभा’ फाइल फाेटाे

संयुक्त संघर्ष समितिले भोलि ‘खबरदारी सभा’ गर्ने भएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सरकारले व्यापक छलफल नगरी पारित गराउने षड्यन्त्र रचेको विरोधमा राजधानीको माइतीघर मण्डलामा भोलि दिँउसो १२ बजेदेखि खबरदारी सभा गर्न लागिएको छ ।

अन्यलाई चोख्याएर सुरक्षाकर्मीलाई मात्र कानुनी फन्दामा फसाउने प्रपञ्च रचेर विधेयक ल्याइएको आरोप लगाउँदै समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसदमा फाष्टट्रयाकबाट पारित गराउन खोजिएकोमा आपत्ति जनाएको छ । आज विज्ञप्ति जारी गर्दै समितिले मानवअधिकार र अन्तर्राष्ट्रिय कानुनको बर्खिलाप नहुने गरी विधेयक टुंग्याउन माग गरेको छ । 

भनिएको छ, ‘हामी उक्त विधेयकलाई संसदको विषयगत समितिमा व्यापक छलफल गराई सबै पक्षलाई सहमत गराएर सो समितिबाट प्राप्त रायसुझावलाई संघीय संसदमा दफावार छलफल गरी मानवअधिकार र अन्तर्राष्ट्रिय कानुनको बर्खिलाप नहुने गरी टुंग्याउन साथै हामीहरुको उचित व्यवस्थापन चाहन्छौं ।’

१० वर्षे जनयुद्धमा घाइते भएका सबैको समस्या समेटेर उचित परिपुरणको व्यवस्थासहित न्याय दिलाउनुको साटो अघिल्लो सरकारले झैं एउटालाई मात्र पोस्ने व्यवस्था गर्न खोजिएकोप्रति समितिले ध्यानाकर्षण भएको बताएको छ । विभिन्न माग राख्दै विगत एक महिनादेखि समितिको नेतृत्वमा आन्दोलन भइरहेको छ ।

टिप्पणीहरू