बारा २ मा एमाले उम्मेदवारको हारगुहार
बारा–२ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा सत्ता गठबन्धनका उम्मेदवारले धाँधली गरेको आरोप लगाएका छन् ।
प्रहरी प्रशासन प्रयोग गरेर धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै उनले त्यस प्रकारका गतिविधि रोक्न मागसमेत गरे । ठाउँ ठाउँमा मतदातालाई रोक्ने, ईनरवा, सनफुलवालगायत बुथहरुमा प्रहरी नै गठबन्धनको पक्षमा मतदान गराउन लागेको उनको दाबी छ ।
त्यस्तै, एउटै व्यक्तिले दुईटा मत खसाएको जस्ता धाँधलीका रुपहरु नाङ्गो रुपमा देखिएको भन्दै उम्मेदवार पौडेलले निष्पक्ष निर्वाचन गराउन माग गरेका छन् ।
‘ठाउँ ठाउँमा मतदाताहरु रोक्ने, ईनरवा, सनफुलवा, कल्यानवा (सिचाई) लगायत बुथहरुमा प्रहरीका सई, असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने, कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नांगो रुपमा देखिई रहेका छन्’, उनले दाबीका साथ भनेका छन्, ’यसले स्वच्छ निर्वाचन गराउने गठबन्धन सरकारको चरित्र प्रष्ट पारेको छ । हामी यस प्रकारका गतिविधि रोक्न र निष्पक्ष निर्वाचन गराउन जोडदार माग गर्दछौं ।’
जसपाका कार्यकर्ताले कतिपय बुथमा आफ्ना कार्यकर्तालाई प्रवेश गर्न नदिएको भन्दै यसअघि जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि आक्रोश पोखेका थिए ।
बारा–२ मा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् । त्यस्तै, जनमतबाट शिवचन्द्र कुशवाह, एमालेबाट पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल प्रतिष्पर्धामा छन् । यहाँ उपेन्द्र र शिवचन्द्रबीच मुख्य प्रतिष्पर्धा हुने आकलन गरिएको छ ।
टिप्पणीहरू