कार्यकर्ताले घण्टी रोजेपछि एमाले तीनै ठाउँमा तेस्रो
६ महिनाअघि गत मंसिरमा सम्पन्न आमनिर्वाचनमा पहिलो लोकप्रिय मतसहित देशकै दोस्रो ठूलो पार्टी बनेको नेकपा एमाले वैशाख १० को उपनिर्वाचनमा भने तेस्रो भएको छ । उपचुनाव भएका तीनवटै निर्वाचन क्षेत्रमा एमाले तेस्रो स्थानमा खुम्चिन पुगेको हो ।
उपनिर्वाचनमा एमाले तेस्रो मात्र भएको छैन, उसले मङ्सिरमा ल्याएको संगठित मतसमेत जोगाउन सकेन । उपचुनाव भएका चितवन–२ र तनहुँ-१ मा पहिला भन्दा निकै कम मत प्राप्त गरेको एमाले बारा–२ मा पनि कमजोर देखियो । र, तीनवटै निवार्चन क्षेत्रमा एमाले १८ हजार भन्दा बढी मतान्तरले पराजित हुन पुगेकाे छ ।
चितवन–२ मा कृष्णभक्त पोखरेलले मंसिरमा ल्याएको १४ हजार ७ सय ५२ मत अहिले रामप्रसाद न्यौपानेले जोगाउन सकेनन् । उनले पोखरेलले भन्दा ३ हजार ७ सय ८६ कम मत ल्याए । यहाँ न्यौपानलाई १० हजार ९ सय ३६ मत मात्रै प्राप्त भयो ।
सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले मंसिरमा भन्दा पनि धेरै ५४ हजार १७६ ल्याएर बिजयी हुँदा नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ ११ हजार २१४ मतसहित दोस्रो स्थानमा खुम्चिए । एमालेका न्यौपाने र विजयी लामिछानेको मतान्तर ४३ हजार ७ सय ८० छ ।
यसैगरी, तनहुँ–१ मा तेस्रो स्थानमा सीमित भएका सर्वेन्द्र खनालले त १० हजार मत पनि कटाउन सकेनन् । विजयी उम्मेदवारले झन्डै ३५ हजार भोट ल्याउँदा ८ हजार ४ सय ८८ मत पाएका उनी निरिह देखिए । यहाँ चुनाव जितेका रास्वपाका स्वर्णिम वाग्लेले ३४ हजार ९१९ मत पाए भने कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत ल्याएका छन् । वाग्ले भन्दा एमालेका खनाल २६ हजार ४ सय ३१ मत अन्तरले पछि परेका हुन् ।
तनहुँमा पनि एमालेले आफ्नो सांगठनिक मत रक्षा गर्न सकेन । मंसिरमा एकबहादुर रानाले १९ हजार मत पाएका थिए । त्यतिबेला समानुपातिकमा पनि एमालेले १६ हजार भोट ल्याएको थियो । त्यस हिसाबले यहाँ खनाललाई आउनुपर्ने कम्तिमा आठ हजार सांगठनिक मत सोझै अन्त गएको देखिन्छ।
मंसिरमा जसपासँग तालमेल गरेर उम्मेदवार नै नउठाएको बारा-२ मा एमालेको समानुपतिक मत ९ हजार १९३ थियो । अहिले एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले उक्त मत जोगाए पनि उनी प्रतिष्पर्धामा तेस्रो भए ।
त्यहाँ जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मतसहित विजयी हुँदा जनमत पार्टीका शिवचन्द्र कुशवाह निकटम प्रतिष्पर्धी रहे । उनले २३ हजार ३३४ मत पाएका छन् । तेस्रो भएका पौडेललाई जम्मा १० हजार २१६ भोट प्राप्त भयो।
विजयी यादव र तेस्रो भएका पौडेलबीच १८ हजार १९९ को मतान्तर रह्यो ।
टिप्पणीहरू