लुम्बिनीमा शीर्ष नेताका विश्वासपात्रहरुबीच तानातान

लुम्बिनीमा शीर्ष नेताका विश्वासपात्रहरुबीच तानातान

लुम्बिनी प्रदेश सभामा विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकार गठनको निम्ति संविधानको धारा १६८ (२) अन्तरगत भोलि अपरान्ह ४ बजेसम्म दाबी प्रस्तुत गर्न आह्वान गर्नुभएको छ । 

पछिल्लो आह्वानपछि लुम्बिनीमा नेपाली काँग्रेस र माओवादी केन्द्रलगायत राजनीतिक दलको गठबन्धनमा सरकार बन्ने निश्चित छ । प्रदेश सभामा ती दलसँगै एकीकृत समाजवादी, लोसपा, जसपा, जनमत, नागरिक उनमुक्तिलगायत राजनीतिक दल एकातिर छन् भने एमाले र राप्रपा अर्कोतर्फ छन् ।

प्रदेशको नयाँ मुख्यमन्त्रीमा गठबन्धनबाट काँग्रेसका डिल्ली चौधरीको दाबी धेरै देखिएको छ । माओवादीका जोखबहादुर महरा पनि मुख्यमन्त्रीको निम्ति पार्टीको केन्द्रीय नेतृत्वसँग लबिङ गरिरहेका छन् । 

चौधरी काँग्रेस सभापति शेरबहादुर देउवाका प्रियपात्र हुन् भने महरा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डका अति निकटमध्येका एक मानिन्छन् । दुबैजना शक्ति केन्द्रसँग सँधै उठबसमा रहेकाले आगामी मुख्यमन्त्री को हुने भनेर ढुक्क हुन भोलि अपरान्हसम्म कुर्नुपर्ने भएको छ ।

टिप्पणीहरू