संसदीय समितिमा बस्नेहरुको नाम टिपाउन भोलिसम्मको समय

संसदीय समितिमा बस्नेहरुको नाम टिपाउन भोलिसम्मको समय

सभामुख देवराज घिमिरेले संसदीय समिति सदस्यका लागि भोलि (बिहीबार)सम्ममा सांसदहरुको नाम दिन दलहरुलाई आग्रह गर्नुभएको छ । 

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उहाँले संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम उपलब्ध गराउने दलहरुलाई अनुरोध गर्नुभएको हो । 

समिति गठनमा बिलम्ब हुँदा संसद संचालन प्रभावकारी महुने भन्दै सभामुख घिमिरेले अब ढिला नगर्न दलहरुको ध्यानाकर्षण गराउनुभयो । ‘संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर, सबैको नाम प्राप्त हुन सकेन ।’ 

 संसदमा उठेका विषयमा मन्त्रीहरुलाई जवाफ दिन समन्वय गरिरहेको जानकारी दिनुभएका सभामुखले आज गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक महत्वको विषयमा बोल्ने बताउनुभयो ।

टिप्पणीहरू