शक्तिपूजा गर्न छाडेर गौपूजा
प्रताप मल्लले पुत्रशोकमा परेकी रानी अनन्तप्रियालाई मनाउन किन गौप्राणी गाई नै रोजे ? सो वर्ष मान्छे मरेका घरबाट हनुमानढोकासम्म गाईको नै रुप धरेर जान मानिसहरुलाई किन भने ? अध्येताहरुको ध्यान यतातिर गएको छ कि नाइँ ? मरेका मानिसले वैतरणी तर्न गाई वा धेनुको पुच्छर समात्ने गरेकाले हो कि त ? पितृका नाममा दान गर्दा पनि गाई नै रोजिन्छ साँढेसहित ।
यो सुधो राष्ट्रिय जनावरलाई रोजेर गाईजात्रा मनाउन थालेपछि गाईको सम्मान भयो कि अपमान, त्यो पनि खोजून् साँस्कृतिक अध्येताले । संविधानमा राष्ट्रिय जनावर तोक्न गाईका ठाउँमा एकसिँगे गैँडाको कुरा पनि उठेकै हो, कतिले झण्डा फेरौँ भने, कतिले देशको नाम नै फेरुँ भने तर ९० प्रतिशतभन्दा बढी हिन्दू भएको देशलाई हिन्दू राष्ट्र नबनाए पनि हिन्दूधर्ममा लक्ष्मीको प्रतीक मानिएकी गाईलाई नै राष्ट्रिय जनावर बनाएर सांसदहरुले हिन्दूत्वको धर्मचाहिँ निर्वाह गरेकै मान्नुपर्छ है !
यहाँ झिँगेदाउ खेलिन्छ, भालेजुधाइ गरिन्छ, भालुनाच, बाँदरनाच गरिन्छ, सर्प खेलाइन्छ । नुवाकोटलगायत जिल्लामा माघेसङ्क्रान्तिमा गोरुजुधाइ गर्ने संस्कृति छ । इन्द्रजात्रामा नासलचोकमा रक्सी खुवाएर राँगोलाई भक्कु दिइन्छ भने तिहारमा कागपूजा, कुकुरपूजा, गोरुपूजाको नाम लिँदा दशैँमा कुखुरा, हाँस, बोका, राँगा, खसीपूजा भने हुन्छ । जन्ती जाँदा माछाको सगुन लाने चलन छ कतै । जन्तीबाख्रो(खसी)को संस्कृति करीब करीब हरायो नै भने हुन्छ । घोडेजात्रा काठमाडौँ उपत्यकाको प्रमुख जात्रामध्येको एक भइहाल्यो । भक्तपुरमा आउने महानवमीमा नवदुर्गाका लागि खम्येँजात्रा गर्न रु. ९० हजारको ठूलो कालो निख्खुर बेदाग राँगो एक भक्तजनले चढाइसके ।
हामीकहाँ गोरु मात्र होइन, बोकाको दाइँ हुन्छ । स्यालको बिहे हुन्छ, कुकुर जन्ती जान्छ र बिरालो ब्राह्मण बन्छ । ठूलै नेता त्यसमा पनि कम्युनिष्ट,भैँसीपूजा गरेर ग्रहदशा टार्न खोज्छन् । शाक्यमुनि गौतम जन्मेको देशमा शान्तिको प्रतीक परेवा काटेर बलि दिन्छन् र मासु खान्छन् । सिद्धार्थले मल्हम लगाएर बचाएको हाँस खोेस्न पुग्छन् । मासु खान पल्केकाहरु के कुखुरी, के बाख्री, के भैँसी पोथी प्राणी पनि खाइदिन्छन् । कसैलाई खोयाबिर्केसँग कालिज नभई हुन्न । मासु खानेसँग प्राणीप्रति त भएन, भएन, मानिसप्रति कहाँबाट दया एवं करुणा पलाउनू ? आलो मासु खोज्नेको भीड पनि छ शहरमा । भेंडाको बुद्धि भएकाहरु छन् नेता भेँडासँगै भीरबाट खसेर मर्ने खालका । कोही सुगामैनासरी अर्काको बोली रटेर विद्वान् बनिटोपल्छन् । कस्ता कस्ता कहाँ गए मुसाको चल्ला दरबार ? छुचुन्द्राको टाउकामा चमेलीको तेल ?
यहाँ सेता हात्ती पालेर प्रतिफल लिन खोज्नेहरु बगुन्द्रै भेटिन्छन् । गरीब ब्राह्मण दुर्गाप्रसादले पनि हात्ती दान पायो । घराँ खाने अन्न छैन, हात्ती पाल्न कहाँ हात्तीसार खोजोस् बिचरा बाहुनले ! बिहानबेलुका छाक टार्न मुश्किल हुनेले अर्कालाई चालक बनाई गाडी र भटभटे चलाएर पनि मोज गरेकै छन् ।धराने निख्खुर कालो सुँगुर र बँगुरको मासु खानेको बजारमा शान अर्कै छ । शक्तिपूजकहरु कहाँकहाँ पुगिसकेका छन् !
कुकुरलाई मासु पैँचो दिने जनता कस्ता ? बिरालोलाई कुँढेको रखबारी गर्न लगाउने नागरिक कस्ता ? वर्षभरि गाईजात्रा हुने देशाँ सात दिन वा एक दिनको गाईजात्रा के जात्रा ? ह्वाँ कोरोना सल्केको सल्क्यै छ, तैपनि बजारमा, सडकमा, गाडीमा, चियापसलमा, चौतारामा, मान्छेको जात्रा हेरिनसक्नु छ । मुखाँ मास्क छ, भीड भने देखिनसक्नु छ । चार महिना घरमा थुनिएर बिताइयो, अब बिर्सी पनि सकियो कोरोना । नेपालीलाई यस्ता भाइरसले छुँदैनपनि । रमाइलो त दलहरुको गाईजात्रा पो छ । झण्डै दुई तिहाइको सरकार भएको पार्टी जुँगाको लडाइँमा छ । कोरोना कता गयो, आर्थिक समृद्धिको कुरा कता गयो ? पार्टी टुक्रयाएर त्यसको नेता हुन पाए पार्टीभित्रकै विपक्षीको शेंखी झार्न पाइन्थ्यो । घर पोलेपछि खरानीको के दुःख ? बजारमा डिटर्जेण्ट पाउडर महँगो छ, मजाले लुगा धुन त पाइन्छ ।
प्रमुख विपक्षी यही साल महाधिवेशन गर्दै छ । रमाइलो के भने छ महिनामा गठन गर्नुपर्ने पार्टीका विभागहरु धमाधम अहिले रातारात हुँदै छ । संस्थापन इतरलाई पर्नु पिर परेको छ, यस्तै चालले त संस्थापन पक्षले चुनाव ढुक्कले जितिहाल्छ । काम नपाएर बसेकाहरुलाई धमाधम नियुक्ति दिलाएर आफ्नो पक्षमा पारेपछि भोट झन् हजारले बढ्ने भइहाल्यो । पूर्वपञ्चहरु एक्काइसौँ शताब्दीमा पनि राजतन्त्र र हिन्दूतन्त्रमै अल्झेका छन् बरा । तिनको हिसाब कसले गरोस् ? फुटे के, जुटे के ? तेस्रो शक्ति, वैकल्पिक शक्ति भन्नेहरु मिडियामा केही दिन छाएर बिलाइहाल्छन् । खासाँ गाईजात्रा भने नि, हास्यव्यङ्ग्य उत्सव भने नि यसपालि कोरोनाले लगिहाल्यो । नेपालीको भाग्यमा एक दिन हाँसेर बाँच्न पनि लेखेको रैनछ । गाईको पुच्छर समाएर वैतरणी तर्न खोज्ने तिनको दाउ गाईमाराहरुले हरिसकेका छन् । प्रश्न अझै गर्न मन लागेको छ, यस्तो सुधो प्राणीलाई देखाएर जात्रा गर्न किन मन लाग्यो कवीन्द्र राजालाई ?
२०७७ साउन २०
टिप्पणीहरू