ठगीका नयाँ धन्दामा बढ्दै महिला संलग्नता

ठगीका नयाँ धन्दामा बढ्दै महिला संलग्नता

वैदेशिक रोजगारीका लागि आकर्षक तलबमा विभिन्न मुलुक पठाइदिने प्रलोभनमा रकम ठग्नेमा पछिल्लो समय पाको उमेरका महिला र युवतीहरुको संलग्नता बढ्दै गएको पाइएको छ । 

मुलुकमा केही समययता वैदेशिक रोजगारीमा विभिन्न मुलुक पठाइदिने प्रलोभनमा रकम ठगी गरेको आरोपमा पुरुषसँगै महिला पनि पक्राउ पर्ने गरेको घटना दिनहुँ सार्वजनिक हुन थालेको छ ।

गत साता एकै दिन वैदेशिक रोजगारीमा पोर्चुगल र अष्ट्रेलिया पठाइदिने नाममा लाखौँ ठगेको आरोपमा तीन जना समातिए । आकर्षक तलबको प्रलोभनमा सर्वसाधारणलाई ठगेका सयना श्रेष्ठ, दुर्गाबहादुर रेग्मी र कमला रेग्मी प्रहरी नियन्त्रणमा पुगेका छन् । 

सुनसरीको धरान उपमहानगरपालिका घर भई हाल काठमाडौँको लाजिम्पाट बस्दै आएकी सयनाले वैदेशिक रोजगारीका लागि आकर्षक तलबमा अष्ट्रेलिया पठाइदिने नाममा पीडितबाट पटक पटक गरी ३० लाख रुपैयाँ उठाएको खुल्न आएको छ । 

त्यस्तै, गोरखा घर भएका र हाल ललितपुरको गोदावरी बस्ने ५१ वर्षीय दुर्गाबहादुर रेग्मी र कमला रेग्मीले पनि वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिने प्रलोभनमा पीडितहरुबाट पटक पटक गरी २१ लाख ठगेको पाइएको हो । 

पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारे र विभागकै अनुरोधमा प्रहरीले खोजतलास अघि बढायो । सोही क्रममा प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउपछि थप अनुसन्धान तथा कारबाहीको निम्ति विभाग पठाएको छ । 

यसअघि वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने नाममा ठगी गरेको आरोपमा गत बैशाख ११ गते हरिकला दाहाल समातिन् । इजरायलमा आकर्षक रोजगारी मिलाइदिने प्रलोभनमा ४८ लाख ठगेपछि झापा घर भई हाल काठमाडौंको कपन बस्दै आएकी दाहाललाई प्रहरीले हिरासतमा लिएको हो । सोही दिन वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै ठगी गर्दै आएकी कास्कीकी विपना कुँवर पनि प्रहरी नियन्त्रणमा पुगेकी हुन् । 

कास्की घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्दै आएकी ३४ वर्षीया विपनाले वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने र त्यहाँ पुगेपछि वेटरको काम लगाइदिने प्रलोभनमा सर्वसाधारणलाई ठगेकी थिइन् । सो प्रलोभनमा पीडितहरुबाट ९ लाख रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएकी थिइन् । यता आफूहरु ठगिएको थाहा पाएपछि पीडितले वैदेशिक रोजगार विभाग गुहारेका थिए । 

मलेसिया पठाइदिने नाममा ठगी गरेको आरोपमा बैशाख ५ गते विमला थापा पनि पक्राउ परिन् । काठमाडौँको बानेश्वरस्थित थापागाउँ बस्दै आएकी ५१ वर्षीया विमलाले वैदेशिक रोजगारीको क्रममा मलेसियाको प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभनमा पीडितबाट रकम असुलेको खुल्न आएको छ । 

वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद भुसाल पछिल्लो समय वैदेशिक रोजगारीमा विभिन्न मुलुक पठाइदिने नाममा ठगी गर्नेको संख्या बढेको बताउँछन् । उनले यस्ता कार्यमा महिलाहरुको पनि संलग्नता बढ्दै गएको जनाए । आर्थिक अभाव, बेरोजगारी, घरायसी समस्या वा कसैको प्रलोभनमा परेर महिलाहरु पनि यस्तो कार्यमा संलग्न हुने गरेको उनको भनाई छ । 

निर्देशक भुसालका अनुसार आर्थिक वर्ष २०७९/८० को चैत महिनामा मात्रै सयौंको संख्यामा वैदेशिक रोजगारीमा विभिन्न मुलुक पठाइदिने प्रलोभनमा ठगी गरेको उजुरी विभागमा दर्ता भएका छन् ।तीमध्ये संस्थागत ४ सय ८५ र व्यक्तिगत ६ सय ८६ गरी ११ सय ७१ वटा उजुरी विभागमा दर्ता भएकोमा ठगी गरेको आरोपमा महिला समातिने क्रम पनि बढ्दो रहेको उनी बताउँछन् । 

त्यस्तै, महिला अधिकारीकर्मी जस्मिन ओझा समाजमा अहिले पनि महिलालाई अवसरबाट वञ्चित गराइएको हुँदा यस्ता अपराधिक क्रियाकलापमा उनीहरुको संलग्नता बढ्दै गएको बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो समाजमा आज पनि महिलालाई पुरुषसरह अवसर वा अधिकार दिईंदैन । आम्दानीको स्रोत नभएपछि उनीहरुको यस्तो कार्यमा संलग्नता बढिरहेको छ ।’

यता पुरुषभन्दा महिलालाई सजिलै समाजले पत्याउने र विश्वास गर्ने भएकाले उनीहरुलाई यस्तो गलत कार्य गर्न सहयोग पुगेको उनको भनाइ छ । आउँदो बजेटमा सरकारले मुलुकमै रोजगारीका अवसरहरु वृद्धि विकास हुने गरी योजना तयार पार्नुपर्नेमा जोड दिदैँ उनले देशका युवाहरुलाई विदेशमा भेडाबाख्राझै बेच्ने काम रोक्नुपर्ने माग राखेकी छन् ।

‘वैदेशिक रोजगारीमा जानु अहिले नेपालीहरुको बाध्यता हो । तर, विदेश पठाइदिने प्रलोभनमा लाखौँ ठगी गर्दा पनि सरकारको यसतर्फ ध्यान गएको छैन,’ अगाडि भनिन्, ‘सरकारकै लापरबाहीका कारण हजारौं नेपाली ठगिँदै आएका छन् ।’

त्यसैले, ओझाले यस्ता ठगी कार्यमा संलग्न जो सुकैलाई कडा कानूनी कारबाही गर्नुपर्ने माग गरेकी छन् । नियम र कानुनमा छिद्र भए त्यसलाई परिमार्जन गर्न र नयाँ ऐन, कानून निर्माण गर्न उनको सुझाव छ ।

टिप्पणीहरू