रास्वपालाई सरकारमा लैजान बालुवाटारमा सल्लाह

रास्वपालाई सरकारमा लैजान बालुवाटारमा सल्लाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा सहभागी गराउने प्रयत्नमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक राख्नुभएको छ । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ । 

जारी बैठक सरकारलाई पूर्णता दिने विषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । त्यस्तै, सरकारको नीति तथा कार्यक्रम र समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ । 

बैठकमा प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताको उपस्थिति छ ।  

सरकारमा जान रास्वपा पनि सकारात्मक देखिएको बताइन्छ । त्यसका लागि सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवासँग छुट्टाछुट्टै भेटघाट गरिसकेका छन् । सरकारमा सहभागी हुनुअघि रास्वपाले भ्रष्टाचारको फाइल खोल्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने र साविकको मन्त्रालय पाउनुपर्ने अडान राखेको बताइएको छ । 

रास्वपाको उक्त मागप्रति सकारात्मक रहेका प्रधानमन्त्रीले यसबारे कुराकानी गर्न गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक राखेको बुझिएको छ । उता सरकारबारे निर्णय गर्न रास्वपाले पर्सि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक डाकेको छ ।
 

टिप्पणीहरू